भर्खरै :

अझै व्यवस्थित गर्ने हो कि ?

‘सुन्नेलाई सुनको माला भन्ने बेला टुप्लुक्क आइजाला’ दन्त्यकथाको सङ्गालो पढिसकेपछि अन्त्यमा आँखा लाग्ने शब्द । सुनेको भक्तपुर आउने अवलोकन गर्ने जिज्ञासुहरूको आदर्श नगर भक्तपुर । हेर्दा सफा सुग्घर, पाइलैपिच्छे आँखा लाग्ने मूर्ति र कला तथा सिंँगारिएका मन्दिरहरू । बिहानपख भक्तजनहरूको घुइँचो भइरहने । चौकै चोकहरूमा दबुमा जीवनको अनुभव साटासाट गरिरहनेका पाका पुर्खाहरूको जमघट हेर्दै आनन्द लाग्ने भावुक दृश्य । मुख्य सडकमा ढुङ्गाले चिटिक्क सिङ्गारिएको मुहारले यात्रीको छायाँ पछ्याइरहने ।
ठाउँठाउँमा पोखरी र रैथाने र गैररैथानेहरूको चहलपहल भइरहने । माछालाई चारो दिएर मत्स्यदर्शन गर्ने दाताहरूको जमात पोखरीको चारैतिर पेटीमा रमाइरहने जोडीहरू । हाँसको प्रतीकमा जडित डुङ्गाहरूमा सयर गरिरहेका मग्न मान्छेहरू । लेखेर कागतले नभ्याउने भक्तपुर ज्ञानको भण्डार र इतिहासको प्रत्यक्ष रूप देखाइरहन्छ ।
राम्रो भन्ने बित्तिकै त्यसको पछिपछि नराम्रो आउने । भक्तपुर नगरको पूर्वछेउ कमलविनायक पूर्व वा पूर्वोत्तरबाट नगर प्रवेश गर्ने ढोका हो । चोकको पूर्व र चोकैमा दिनभर आउने, जाने, व्यापार, बन्दोबस्त गर्नेहरूको चहलपहल भइरहने ठाउँ हो । भक्तपुर नगरको सानको अवलोकन गर्ने मान्छे त्यहाँ पुग्यो भने के यो भक्तपुर हो र भन्ने भ्रम हुन्छ । बिजुलीका पोल, पोलमा टाँसिएका पसल, फुटपाथमै ल्याएर ठिङ्ग उभ्याएका गाडीहरू, साँझ–बिहान फुटपाथमै राखेर बिक्री गरिने तरकारी र पसलेहरूले राख्ने सामानहरूले असरल्ल भएका पेटीले यात्रुहरूलाई खिन्न बनाउँछन् । सडकबाट हिँडौँ, मरिने डर । पेटीबाट हिँडौँ खुट्टो राख्ने ठाउँको अभाव ।
के त्यो क्षेत्र नगरभित्र पर्दैन र ? नगरपालिका, नगर पुलिस, ट्राफिक पुलिसलाई त्यहाँ हेर्ने फुर्सद छैन कि जस्तो लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *