भर्खरै :

हिमालयन ग्लोरीमा गणतन्त्र दिवस

भक्तपुर, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा हिमालयन ग्लोरी इङ्लिस स्कूलको आयोजनामा बुधबार एक प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले गणतन्त्र स्थापना भएको १७ वर्ष बितिसक्दा पनि ठुला राजनीतिक पार्टीहरूले जनताका इच्छा आकाङ्क्षाहरू पूरा गर्न नसकेको बताउनुभयो । उहाँले देशको ऋण २७ खर्ब पुगेको, व्यापारघाटा चुलिएको, बर्सेनि लाखौँ युवा घरबार छोडी बिदेसिएको, भुटानी शरणार्थी काण्ड, सुनकाण्ड, गिरीबन्धु टी स्टेट काण्ड, भिसा प्रकरणजस्ता भ्रष्टाचार बढिरहेको चिन्ता व्यक्त गर्दै उहाँले निरङ्कुश पञ्चायती व्यवस्थाले रचेको भक्तपुर काण्डकै कारण पञ्चायती व्यवस्था अन्त्य भएको स्पष्ट पार्नुभयो ।
प्रजातन्त्र पुनः स्थापनापछि पनि जनताले परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उहाँले पुँजीवादी व्यवस्थाले जनताको आधारभूत आवश्यकता पूरा नगर्ने हुँदा समाजवादी व्यवस्थाको लागि सङ्घर्ष अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
श्यामसुन्दर मातांले समाजवादी व्यवस्थामा व्यक्तिगत विकासमा समान अवसर हुने, योग्यताअनुसार काम, कामअनुसार माम, उत्पादनका मुख्य मुख्य साधनहरू राष्ट्रियकरण हुने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, धनी र गरिबबिचको खाडल पुर्ने, वर्गीय शोषण अन्त्य हुने र रोजगारीको बन्दोबस्त हुने विचार व्यक्त गर्नुभयो ।
विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासुले निजी सम्पत्तिको उदयसँगै समाजमा मालिक र दास वर्गबिच वर्गसङ्घर्ष भएको प्रस्ट पार्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक रामप्रसाद ग्वाछाले पनि समाजवादी गणतन्त्रको आवश्यकताबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *