भर्खरै :

ब्रह्मायणी स्कूलमा स्वागत कार्यक्रम

ब्रह्मायणी स्कूलमा स्वागत कार्यक्रम

भक्तपुर, १४ जेठ । ब्रह्मायणी आधारभूत विद्यालय लिबालीमा शैक्षिक सत्र २०८२ को लागि भर्ना हुन आएका नवागन्तुक विद्यार्थीको लागि स्वागत कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षणमा विशेष प्राथमिकता दिँदै आएको चर्चा गर्दै आफ्नो सन्तानको शैक्षिक प्रगतिको लागि अभिभावकले पनि घरमा अनुकूल वातावरण दिनुपर्ने सुझाव दिनुभयो ।
छोराछोरीलाई आफ्नो घरमा पाकेकै खानेकुरा विद्यालय खाजा पठाउन आग्रह गर्दै उहाँले पत्रु खाजालाई सबैतिरबाट निरुत्साहित गर्नुपर्ने उहाँले बताउनुभयो ।
विद्यालयका संस्थापक अध्यक्ष ज्ञानसागर प्रजापतिले धेरै पैसा खर्च गर्दैमा गुणस्तरीय शिक्षा प्राप्त हुने र सस्तो हुँदैमा शिक्षा गुणस्तरहीन हुने होइन भन्दै शिक्षक, अभिभावकको संयुक्त प्रयासबाट विद्यार्थीलाई उत्साहित गर्न सके सामुदायिक स्कूलको शिक्षा पनि उत्कृष्ट हुने दृष्टान्त दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण दुवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नगरसभा सदस्यद्वय रामसुन्दर वासी र सुमित्रा बोहजुले पनि बोल्नुभएको थियो ।
प्रधानाध्यापक तीर्थलक्ष्मी धन्छाले यस वर्ष हालसम्म ४४ जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिँदै विद्यालयको प्रगतिको लागि आफूहरूले सक्दो प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षकद्वय इन्दिरा लाछिमस्यु र इन्दिरा कोइरालाले पनि बोल्नुभएको थियो । कार्यक्रममा नवनियुक्त शिक्षिक राधिका महर्जनलाई स्वागत र शिक्षिका सुशीला प्रजापतिलाई कदरपत्रसहित बिदाइ गरिएको थियो ।
कार्यक्रममा बाल नृत्यहरू पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *