भर्खरै :

तुमचो–दुगुरे–चोखा आवास क्षेत्र खानेपानी समितिको उपभोक्ता भेला

तुमचो–दुगुरे–चोखा आवास क्षेत्र खानेपानी समितिको उपभोक्ता भेला

भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाली जनताले राजतन्त्र र पुँजीवादी गणतन्त्रलाई परीक्षण गरिसकेको चर्चा गर्दै अबको विकल्प समाजवादी गणतन्त्र नै हो भन्नुभयो । उहाँले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने प्रस्ट पार्नुभयो ।
तुमचो दुगुरे चोखा आवास क्षेत्र खानेपानी उपभोक्ता समितिको आयोजनामा बिहीबार सम्पन्न तेस्रो बृहत् उपभोक्ता भेलाको उद्घाटन गर्दै सभासद् गोसाईले शासक दलहरू विदेशी शक्तिको इसारामा चल्दा र भ्रष्टाचारमा डुब्दा देश बर्बादीतर्फ उन्मुख भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनतालाई भ्रममा राख्ने,
विदेशीको इसारामा नाच्ने र भ्रष्टाचारमा डुबेको कारण जनतामा निराशा छाएको छ । पुँजीवादी व्यवस्थाप्रति जनतामा घृणा जागेको हुँदा समाजवादी व्यवस्थाको पक्षमा जनतालई एकजुट पार्नु हाम्रो दायित्व हो ।”
जनताका आधारभूत आवश्यकताको रूपमा रहेको खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गर्ने प्रयास गरेकोमा खुसी व्यक्त गर्दै सभासद् गोसाईले पानीको पुनर्भरण प्रणालीमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले वरपरको वातावरण सरसफाइ र हरियाली व्यवस्थापनमा पनि स्थानीय जनताको अग्रसरताको अपेक्षा गर्नुभयो ।
समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष रवीन्द्र ज्याख्वले तुमचो दुगुरे चोखा आवास क्षेत्रमा बस्ती विकाससँगै जनताको भावनाबमोजिम जनताकै साथ र सहयोगमा विकास निर्माणका कार्यहरू गर्दै आएको बताउनुभयो । उहाँले खानेपानी वितरण प्रणाली व्यवस्थापनका लागि नगरपालिका र वाग्मती प्रदेश सरकारको आर्थिक लगानीमा डिप बोरिङ गरी आधुनिक प्रविधिबाट प्रशोधनसहित खानेपानी वितरण गरिरहेको र हालसम्म ४६५ घर परिवारलाई नियमित पानी वितरण भइरहेको बताउनुभयो । अध्यक्ष ज्याख्वले पछिल्लो समयमा एउटा डिप बोरिङमा प्राविधिक समस्या आएको प्रस्ट पार्दै समाधानको लागि लागिपरेको बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नगरपालिकाले किसान सूचीकरण गर्दै कृषकहरूलाई सहुलियत दरमा कम्पोस्ट मल र कृषि चुन वितरण गरिरहेको बताउनुभयो । त्यस्तै भनपा वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद कोजुले नयाँ बस्तीका चौबाटो तथा पेटीहरूमा जथाभावी फोहर नगर्न तथा सांस्कृतिक गतिविधिको क्रममा फालिएका सामग्रीहरू सम्बन्धितले नै नगरपालिकाको सफाइ गाडीमा राख्न अनुरोध गर्नुभयो ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड भक्तपुर वितरण शाखाका प्रमुख अनिलकुमार तिखत्रीले भक्तपुरमा नगरपालिकासँगको सहकार्यमा सबै बस्तीहरूमा मेलम्चीको खानेपानी वितरणको पूर्वाधार बनाउने कार्य भइरहेको उल्लेख गर्दै तुमचो दुगुरे आवास क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको बताउनुभयो ।
नेमकिपा भनपा ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजू, सूर्यमढी एकाइ समितिका अध्यक्ष दिलभक्त कोजू, दत्तात्रय एकाइ समितिका अध्यक्ष नातिभाइ हेम्बा र तुमचो दुगुरे एकाइ समितिका अध्यक्ष जेएन प्रजापतिले खानेपानी वितरण प्रणालीलाई दीगो समाधानको उपाय निकाल्न तथा आत्मनिर्भरतातर्फ अग्रसर हुन सुझाव दिनुभयो ।
समितिका कोषाध्यक्ष तथा भनपा कार्यपालिका सदस्य छोरीमैया सुजखूले उपभोक्ता समितिको वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको उक्त भेलामा समितिका सहसचिव विष्णुराम दुमरु र सदस्य मैयालक्ष्मी त्यातले पनि बोल्नुभयो ।
भेलामा वागीश्वरी माविको तर्फबाट बाँसुरी बाजाको धुन प्रस्तुत गरिएको थियो भने अतिथिहरूलाई समितिको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *