भर्खरै :

समाजवादी गणतन्त्रमा मात्र देश र जनताको हित हुने

समाजवादी गणतन्त्रमा मात्र देश र जनताको हित हुने

भक्तपुर, १५ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ तथा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा पँुजीवादी गणतन्त्र र समाजवादी गणतन्त्रबिचको भिन्नताबारे बिहीबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपाली जनताको आन्दोलनबाट २०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको पुनः स्थापना भएको उल्लेख गर्दै त्यसयता सरकारमा गएका दल र तिनका नेताहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेको हुँदा संवैधानिक राजतन्त्रले २०५९ सालमा सङ्कटकालमा संसद् विघटन गरी २०६१ सालमा कार्यकारी अधिकारसमेत हातमा लिएको चर्चा गर्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “नेपाली जनताको आन्दोलनबाट २०६३ सालमा राजसंस्थाको प्रतिगमन अन्त्य भयो र २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट गणतन्त्र घोषणा गरियो । तर, पहिलो संविधानसभाबाट संविधान बनाइएन । २०७० सालमा दोस्रो संविधानसभाको चुनाव भयो । २०७२ सालमा नेका, एमाले, माओवादी (केन्द्र) ले संविधान बनाउने सहमति गरे । तर, देश र जनताको हितमा विषय राखिएन । नेपाल मजदुर किसान पार्टीले संविधान विधेयकमा प्रस्तावनासहित ७१ धारामा संशोधन गरेको हो । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, व्यक्तित्व विकासमा समान अवसर, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण, स्वास्थ्य उपचार निःशुल्कलगायत नेमकिपाको संशोधन प्रस्ताव थियो ।”
“संविधान संशोधनपछि सरकारमा गएका नेका, एमाले, माओवादी केन्द्र, रास्वपा, मधेसी दलहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा गरेनन् । यसकारण, राज संस्था पुनः स्थापनाको माग राखेर राप्रपा (पूर्वपञ्च) हरूको पार्टीले आन्दोलन उठाएको हो । नेका विदेशी पुँजीले सेवा गर्ने सामन्त र पुँजीवादी पार्टी हो । कम्युनिस्ट दाबी गरेका एमाले, माओवादी केन्द्रसमेत नेका र राप्रपासँग सरकारमा गएर ‘भाइ काङ्ग्रेस’ भए ।” सांसद सुवालले भन्नुभयो ।
वर्तमान गणतन्त्र वा राजसंस्था पुनः स्थापनाबाट देश र जनताको सेवा नहुने उल्लेख गर्दै सांसद सुवालले उत्पादनका मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी गणतन्त्र जरुरी भएको स्पष्ट गर्नुभयो ।
सांसद सुवालले थप्नुभयो, “सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार पेस भएको आ.व. २०८२/८३ को बजेटमा संविधानको समाजवादउन्मुख प्रावधानविपरीत अर्बपतिहरूको हितमा प्रावधान राखिएको छ । यो बजेटले मजदुर किसानको हित गर्दैन । बजेटमा देशको
सन्तुलित विकास गर्ने लक्ष्य छैन । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाउने प्रावधान राखिएको छ ।”
“नेपाली जनताले धेरै वर्षदेखि उठाएको ख्वप विश्वविद्यालयको विधेयक पारित गर्ने बाचा बजेटमा छैन । सरकारी दलका विद्यार्थी सङ्ठनहरू त्रिभुवन विश्वविद्यालय पुगेर बरोबर तोडफोड र तालाबन्दी गर्छन्”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले अगाडि थप्नुभयो, “१९ खर्ब ६४ अर्ब ११ करोड बजेटमध्ये चालु खर्च ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगत खर्च ४ खर्ब ७ अर्ब ८९ करोड वित्तीय व्यवस्था (सार्वजनिक ऋणको सावाँ ब्याज फिर्ता) ३ खर्ब ७५ अर्ब २४ करोड रहेको छ । कूल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु. ४ खर्ब १७ अर्ब ८३ करोड विनियोजन गरिएको छ । खर्च व्यहोर्ने स्रोत (आय) मध्ये राजस्वबाट रु. १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदानबाट रु. ५३ अर्ब ४५ करोड, वैदेशिक ऋण २ खर्ब ३३ अर्ब ६६ करोड, आन्तरिक ऋण ३ खर्ब ६२ अर्ब हुनेछ । यसरी बजेट पूर्णरूपले परनिर्भर रहेको छ । यसको जिम्मेवार सरकारमा गएका पार्टी र तिनका नेताहरू नै हुन् ।”
सांसद सुवालले भन्नुभयो, “बजेटमा काठमाडौँ उपत्यकामा प्रदूषण फैलाउने औद्योगिक क्षेत्रहरू बाहिरका औद्योगिक क्षेत्रहरूमा स्थानान्तरण गर्ने लाई निःशुल्क जग्गा उपलब्ध गराउने प्रावधान छ । यस्तो व्यवस्था बजेटमा तेस्रो पटक गरियो । तर, सरकार तदारुक नहुँदा विगत दुई पटकको प्रतिबद्धता कार्यान्वयन गराउन काठमाडौँ उपत्यकावासी सचेत हुनु आवश्यक छ ।”
नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष एवम् वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले समाजवादी गणतन्त्रको पक्षमा वकालत नगर्ने कम्युनिस्ट पार्टी वास्तविक कम्युनिस्ट पार्टी हुन नसक्ने दाबी गर्नुभयो । उहाँले कामदारवर्गलाई शासन सत्तामा पु¥याउनु कम्युनिस्टको धर्म भएको उल्लेख गर्दै पँुजीवादी सञ्चारमाध्यमले कमिसन, तस्करी, गुण्डागिरी, भ्रष्टाचारबाहेक कुनै राम्रो विषयमा खबर सम्प्रेषण गर्न नसकेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
भारतीय एकाधिकार पँुजी नेपाली जनताको शत्रु भएको र पँुजीपतिवर्गले नाफाको लागि काम गर्ने हुँदा समाजवादी व्यवस्था मात्र जनताको वास्तविक स्वर्ग हुने उहाँले स्पष्ट गर्नुभयो ।
नेमकिपा भनसका लक्ष्मीभक्त लासिवाले राजनीतिक परिवर्तनको लागि नयाँ पुस्तालाई सैद्धान्तिक तथा वैचारिकरूपमा तयार गर्न सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।
नेक्रायुसङ्घ भनस अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रायुसङ्घ भजिसका एच.एस.सुवाल, नेक्रामसङ्घ नगर समिति अध्यक्ष रामेश्वरी कोजू, नेक्राविसङ्घ १४ औँ भक्तपुर नगर सम्मेलन तयारी समिति संयोजक मनिष गोरालगायतले समाजवादी गणतन्त्रबारे बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *