भर्खरै :

विद्यालय मर्ज गर्ने सरकारी नीति गलत

विद्यालय मर्ज गर्ने सरकारी नीति गलत

भक्तपुर, १७ जेठ । वागीश्वरी कलेजमा क्षमता अभिवृद्धिबारे भइरहेको तीनदिने तालिम शनिबार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त तालिम समापन कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सबैको क्षमता उत्तिकै नहुने चर्चा गर्दै व्यक्ति व्यक्तिको क्षमता फरक फरक हुन्छ; तर म जतिको जान्ने कोही छैन भनी घमण्ड गर्न नहुने सुझाव दिनुभयो ।
आफ्नो कमजोरी प्रायः आफूलाई थाहा नहुनसक्छ; त्यस्तो अवस्थामा अरूले गर्ने आलोचनालाई आत्मालोचना गरेर आफूलाई सुधार्नुपर्ने हुन्छ भन्दै उहाँले यसरी नै अनेक आलोचनाहरूबाट सिक्दै आजको सुशासनयुक्त भक्तपुर बनेको हो भन्नुभयो ।
चालीस वर्ष पहिले भक्तपुर र हालको भक्तपुरबारे पूर्वन्यायाधीश प्रकाश वस्तीले तुलना गर्दै हालको स्वच्छ भक्तपुरको मूल कारण सुशासन भनी लेखेको पनि उहाँले स्मरण गर्नुभयो । सोही सन्दर्भमा हालैमात्र ‘नागरिक’ दैनिकले ‘सुशासन हेर्न भक्तपुर जाऔँ’ भनी सम्पादकीय नै लेखेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सिक्ने र सिकाउने कहिल्यै नटुङ्गिने प्रक्रिया हो ।”
सरकारले शिक्षामा बर्सेनि बजेट घटाउँदै लगेकोमा विमति जनाउँदै विद्यालय मर्ज गर्ने सरकारी नीति गलत छ भन्नुभयो ।
पूर्वाधार हुँदाहुँदै पनि सरकारले ख्वप विश्वविद्यालय विधेयकलाई बेवास्ता गरेको आक्रोश व्यक्त गर्दै उहाँले सरकारको बजेटबाट निजी क्षेत्र खुसी भएको हुँदा यो आम गरिब जनताको सरकार हैन भन्ने पुष्टि हुन्छ भन्नुभयो ।
घरदैलो नर्सिङ सेवाबाट प्राप्त तथ्याङ्ककै आधारमा शैक्षिक ऋण र ठाउँठाउँमा शारीरिक व्यायामशालाहरू बनाएको चर्चा गर्दै उहाँले अनुसन्धान पैसा कमाउनु हेतुले भन्दा पनि देश र जनताको सेवा गर्ने हेतुले गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले उच्च दक्ष क्षमता नै मानिसको व्यक्तित्वको आधार हो भन्दै तालिममा सहभागी मित्रहरूमा अब विभिन्न विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्मेलन गर्ने क्षमता वर्तमान कलेजको आवश्यकता हो भन्नुभयो ।
तालिममा सिकेका सीप व्यवहारमा नउतारे तालिम लिनु निरर्थक हुने पनि उहाँले बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका इन्चार्ज प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्य, तालिमका सहभागीद्वय रविन मानन्धर (काभ्रे बहुमुखी क्याम्पस) र सुशीला घजु (वागीश्वर कलेज) ले तालिमको अनुभव सुनाउँदै सिकेको सीप व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलेजका प्राचार्य धनकुमार श्रेष्ठले आगामी दिनमा हुने हरेक कार्यक्रममा यस्तै उत्साहजनक सहभागिताको अपेक्षा गर्दै सहयोगी विश्वविद्यालय अनुदान आयोगप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूलाई अतिथि प्रजापतिले प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *