भर्खरै :

शिक्षा क्षेत्रको विकासबिना समाजको विकास सम्भव नहुने

शिक्षा क्षेत्रको विकासबिना समाजको विकास सम्भव नहुने

भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिकाइको जग प्रारम्भिक शिक्षादेखि नै बलियो बनाउनुपर्ने बताउँदै शिक्षाबिना समाजको विकास सम्भव नहुने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिसँग सोमबार भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बाल विकास इङ्गलिश स्कूलमा कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीको साक्षात्कार कार्यक्रममा उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरूसँगै भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिक स्तरमा विगतको तुलनामा निकै सुधार भएको बताउनुभयो ।
२०३६।३७ सालतिर भक्तपुरको शिक्षा निकै कमजोर अवस्थामा रहेको र त्यसबेला चिट चोरेर पास गर्नुलाई सामान्यरूपमा लिइने बताउँदै २०३६ सालमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) १० वर्षको भारत प्रवासबाट नेपाल फर्केपश्चात् लामो प्रयासपछि भक्तपुरका विद्यालयहरूमा चोरी गर्ने काम समाप्त भएको र गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धा चलेकै कारण आजको गुणस्तरीय शिक्षा सम्भव भएको बताउनुभयो ।
२०५६ सालमा अध्यक्ष रोहितले भक्तपुरलाई १५ वर्षभित्र भक्तपुरमा ‘एक घर एक स्नातक’ बनाउने घोषणा आज सार्थक बनिसकेको बताउँदै नेतृत्व गर्नेहरूले सुधार गर्न चाहे देश र समाजमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने एउटा दरिलो उदाहरण भक्तपुरले प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
भक्तपुरको शैक्षिक स्थिति आजको अवस्थासम्म ल्याइपु¥याउन यहाँका अगुवाहरूको महत्वपूर्ण योगदान रहेको
बताउँदै उच्च शिक्षा प्रदान गर्ने कलेज र विश्वविद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि नगरेसम्म देश छोडेर विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई रोक्न नसकिने प्रमुख प्रजापतिले प्रस्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा सँगसँगै यहाँको स्वास्थ्य, खेलकुद, विकास निर्माण, सरसफाइलगायत समग्र नगरको सन्तुलित विकासमा जोड दिँदै आएको बताउँदै भक्तपुरको शिक्षालाई मोडलको रूपमा लिएर विभिन्न नगरपालिकाका जनप्रतिनिधिले आ–आफ्नो पालिकामा यस्तै प्रकारका कलेजहरू सञ्चालन गरिसकेको र गर्ने प्रतिक्रिया पाएको र यो भक्तपुरवासीहरूको लागि गौरवको विषय हो भन्नुभयो ।
कार्यक्रममा बाल विकास स्कूलका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक, नपाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय, नगर प्रमुखको राजनीतिक जीवन र भोगाइ, भक्तपुर नपालाई भ्रष्टाचारमुक्त नगर बनाउन सक्नुका आधार, विद्यालय शिक्षा सुधारमा भक्तपुर नपाका नयाँ कामहरू, सडक सुरक्षा, विद्यालयमा छिकोङ खेल व्यवस्था, सांस्कृतिक गुरुहरूलाई बाजा सिकाउन विद्यालयमा पठाउन नपाको योजना, ख्वप अस्पतालमार्फत नगरका विद्यालयमा स्वास्थ्य परीक्षण कार्यक्रमलगायतका विषयमा आ–आफ्नो जिज्ञासा राखेका थिए ।
तत्पश्चात् प्रमुख प्रजापति र शिक्षक–विद्यार्थीहरूबिच मायाको चिनो र नपाका प्रकाशनहरू आदानप्रदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *