“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, २७ फागुन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक–सत्र २०७४÷७५ मा स्नातकोत्तर तहमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत एवं अभिमुखीकरण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले बहुदल आएपछि सरकारमा गएका दलहरूले जनतालाई सेवा दिनुको सट्टा सरकारी स्वामित्वका संस्थानहरू निजीकरण गरी जनविरोधी काम गरेको बताउनुभयो ।
प्रमुख प्रजापतिले सभ्य, सुसंस्कृत एवं देश र जनतामा समर्पित शैक्षिक जनशक्ति तयार गर्न भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरू सञ्चालन गरेको बताउनुभयो ।
उहाँले कलेजको मर्यादालाई ध्यानमा राखी अध्ययन गर्न, आवश्यक शैक्षिक सामग्री तयार गर्न रचनात्मक सुझाव दिन र जनताको भावनामा चोट पुग्ने काम नगर्न सुझाव दिनुभयो । पढाइलाई मात्र बढी महत्व दिने विद्यार्थी राम्रो हुन नसक्ने बताउँदै उहाँले विदेशमा गएर आफ्नो मातृभूमि नेपाल र परिवार बिर्सने प्रवृत्ति राम्रो होइन भन्नुभयो ।
प्रमुख प्रजापतिले भियतनाम र उत्तर कोरियामा युद्ध हुँदा त्यहाँका जनताले शिक्षालाई अगाडि बढाएको प्रसङ्ग उल्लेख गरी भक्तपुर नगरपालिकाले पनि जनतालाई असल नागरिक बनाउन शिक्षा क्षेत्रमा लगानी गरेको बताउनुभयो । भक्तपुर नगरपालिकाले नगरभित्रका ९२ वटा माध्यमिक विद्यालयको परीक्षा आउँदो चैतबाट सञ्चालन गर्ने जिम्मेवारी लिएको र भूगोल, इतिहास, कला र संस्कृतिका बारेमा विद्यार्थीलाई सुसूचित पार्न पाठ्यक्रम बनाउन लागिपरेको बताउनुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले कला र संस्कृति, मौलिकता तथा पर्वबीच आपसी सम्बन्ध रहने भएकोले त्यसबारेमा अनुसन्धान गरी विज्ञ हुन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक प्रेमनाथ मास्केले समयानुकूलको प्रविधि र ज्ञानलाई अनुशरण गरी विद्यार्थीहरू अगाडि बढ्नुपर्ने र अनुसन्धानमा जोड दिई अध्ययन गर्न आग्रह गर्नुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ.सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ.सुनिल दुवालले कर्तव्यनिष्ठ तथा देशभक्त नागरिक बनाउन कलेजहरू सञ्चालन भएको बताउनुभयो ।
अर्थक्वेक इन्जिनियरिङ विभागका प्रमुख डा.मन्जीप शाक्यले भूकम्पीय क्षति न्यूनीकरण हुने गरी संरचनाहरू निर्माण गर्नुपर्ने सम्बन्धमा प्रस्तुतीकरण र प्राध्यापक डा.मोहन मूर्ति पन्तले सभ्य र सुसंस्कृत सहर बनाउने सम्बन्धमा प्रस्तुतीकरण गर्दै विज्ञ बन्ने गरी अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा अर्वान डिजाइन एण्ड कन्जरभेसन विभागका प्रमुख लिवास फैजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply