भर्खरै :

विद्यार्थी विदेशमा, सरकार सिंहदरबारको कुर्सीमा, निर्लज्जताको हद !

इलाम जिल्लाको उत्तर–पूर्वमा अवस्थित माइजोगमाई गाउँपालिका, सन्दकपुर गाउँपालिका, सूर्योदय नगरपालिकाका विद्यालयहरूमा गुणस्तरीय शिक्षा उपलब्ध नहुँदा बन्द भएको सार्वजनिक भयो । ती गाउँका विद्यार्थीहरू महँगो शुल्क तिरेर भारतीय विद्यालयमा अध्ययनमा जान बाध्य छन् । त्यहाँका विद्यालयहरू २०७२ सालयता गुणस्तरीय शिक्षा नहुँदा बन्द भइरहेका छन् ।
यतिखेर जौबारी, तुम्लिङ, मेघमा, कालापोखरी, आलेभञ्ज्याङ, नुनथला, इङला, गैरीबास, मजुवा, सन्दकपुर क्षेत्रका विद्यालय भवनहरू जीर्ण हुँदै छन् । पर्यटन क्षेत्रको सम्भावना भएका ती ठाउँका स्थानीय जनता आफ्ना छोरा–छोरी पढाउन घरमा ताला लगाएर भारतको मानेभञ्ज्याङ, सिलगुडी, दार्जिलिङ, कोलकत्ता पुगिरहेका छन् । आफ्ना बालबालिकालाई भारतमा पढाउन अभिभावकले महिनाको भारु २० हजारसम्म खर्च गरिरहेका छन् । नेकाको समर्थनमा बनेको ओली सरकार हेरेको हे¥यै छ ।
सन्दकपुरका एक स्थानीयले भने, “इलाममा विद्यार्थीलाई विद्यालय पुग्न तीनदेखि चार घण्टासम्म हिँड्नुपर्छ । भारतमा नपढाएर के गर्ने ? अर्काको देशमा बच्चा पढाउनु पर्दा हाम्रो भाषा, संस्कृति र देशको स्वाभिमानजस्ता विषय उनीहरूले बिर्सँदै छन् । हाम्रा बालबालिकाहरूलाई नेपालको राष्ट्रिय गान गाउन आउँदैन । भारतीय राष्ट्रिय गान गाउँदा हाम्रो मन दुख्छ ।”
भारतमा छोराछोरी पढाइरहेका अधिकांश अभिभावक होटल व्यवसाय गरिरहेका छन् । होटल चलाउन नसक्नेहरू अरूको घरमा मजदुरी गरेर पनि छोराछोरीलाई भारतका महँगा विद्यालयमा पढाउँदै छन् । भारतमा पढेका विद्यार्थीले त्यहीँको इतिहास र भूगोल पढ्छन् । नेपालको नक्सा कस्तो छ भन्नेसम्म उनीहरूलाई थाहा छैन । हाम्रो देशमा ‘शिक्षक आन्दोलन र शिक्षा ऐन’ को कुरा गर्नेले इलामका बालबालिका आफ्नै ठाउँमा पढन नपाएको बुझेका छन् कि छैनन् ?
सरकारको बेवास्ता र नेपाल–भारत खुला सीमाको कारण धेरै नेपाली विद्यार्थी भारतीय विद्यालयमा पढ्न बाध्य छन् । तराई–मधेसका अधिकांश स्थानीय तहमा शिक्षाको बन्दोबस्त छैन । अध्ययनकै लागि मात्र नेपालीको वार्षिक अर्बौँ अर्ब रुपैयाँ भारत गइरहेको छ ।
नेपालको संविधानमा कक्षा ८ सम्मको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा कक्षा १२ सम्मको माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था छ । संविधानको व्यवस्थाअनुसार अनिवार्य र निःशुल्क तथा गुणस्तरीय शिक्षा नदिने सरकारहरू सिंहदरबारको कुर्सी कब्जा गरेर किन बस्छन् ? निर्लज्जताको हद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *