भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजका २६ जना विद्यार्थीलाई रु. १४ लाख २१ हजार बराबरको छात्रवृत्ति रकम वितरण

ख्वप इन्जिनियरिङ कलेजका २६ जना विद्यार्थीलाई रु. १४ लाख २१ हजार बराबरको छात्रवृत्ति रकम वितरण

भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजमा २०८१ सालमा स्नातक तहमा भर्ना भई अध्ययनरत विद्यार्थीहरूलाई बिहीबार एक कार्यक्रमबिच कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले कलेजले नियमित रूपमा विद्यार्थीहरूलाई प्रदान गर्दैै आएको छात्रवृत्तिले धेरै विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन गर्न अवसर पाएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप वार्षिक ४ करोड २५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको बताउँदै उहाँले छात्रवृत्तिसँगै नगरपालिकाले सहुलियत दरमा शैक्षिक ऋणसमेतको व्यवस्था गर्दै आएको बताउनुभयो ।
देशको लागि योग्य र सक्षम नागरिक तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विभिन्न विषयका ७ वटा कलेजहरू सञ्चालनमा ल्याएको बताउँदै देशको चिन्तन गर्ने नयाँ पुस्ता अहिलेको आवश्यकता हो भन्नुभयो ।
देशको भविष्य युवामा निहित हुने भए पनि नेपालका दक्ष नागरिकहरू बिदेसिने क्रम बढेसँगै देश विकासको सम्भावना पनि पछाडि धकेल्दै गइरहेको छ भन्दै उहाँले युवाहरू विदेश पलायन हुनुमा सरकारको नीति तथा कार्यक्रमले धेरै प्रभाव पारेको बताउनुभयो ।
इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूमा कानुनी ज्ञानको पनि उत्तिकै महत्व हुने बताउँदै प्रमुख प्रजापतिले विद्यार्थीहरू सबै विषयको जानकार भएर एउटा विषयमा विशेषज्ञता हासिल गर्ने उद्देश्यले उच्च शिक्षा अध्ययन गर्न प्रेरित गर्नुभयो ।
मन्त्रिपरिषद्को निर्णयलाई नीतिगत निर्णयको परिभाषा गर्दै त्यसउपर छानबिन र मुद्दा दर्ता हुँदैन भन्ने भाष्य खडा गर्दै आएका प्रधानमन्त्री, मन्त्रीहरूलाई माधव नेपालमाथिको मुद्दा दर्ताले सबैलाई झस्काइदिएको छ भन्दै उहाँले नेपालको कानुन ‘ठुलालाई चैन सानालाई ऐन’ जस्तै भइरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले छात्रवृत्ति रकम प्राप्त गर्ने विद्यार्थीहरूलाई बधाई दिँदै ख्वप ई. कलेज स्थानीय सरकार र नगरवासी जनताको करबाट सञ्चालित गैरनाफामूलक सरकारी कलेज भएको बताउनुभयो । ख्वप सर्कलअन्तर्गतका कलेज र अन्य कलेजहरूबिचको भिन्नताबारे प्रस्ट पार्दै उहाँले यी कलेजहरू विद्यार्थी र अभिभावकहरूको विश्वसनीय कलेजको रूपमा सञ्चालनमा रहेको बताउनुभयो ।
ख्वप ई. कलेजका प्राचार्य ई. सुजन माकले आर्थिक कारणले विद्यार्थीको अध्ययनमा समस्या नहोस् भनी भक्तपुर नपाद्वारा सञ्चालित कलेजहरूले गरिब र जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्दै आएको बताउनुभयो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका कलेजहरूमा समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन हुँदा विद्यार्थीहरूको आकर्षण यसतर्फ बढिरहेको बताउँदै ख्वप ई. कलेजलाई शिक्षण संस्थाको रूपमा मात्र नभई अध्ययन अनुसन्धानतर्फ पनि अगाडि बढाइरहेको बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजले २०८१ मा भर्ना भई अध्ययनरत २६ जना विद्यार्थीहरूलाई रु. १४ लाख २१ हजार बराबरको छात्रवृत्ति रकम वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *