जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ३१ जेठ । संस्थागत विद्यालय सङ्घ नेपाल इसानको आयोजनामा सामाजिक र नेपाली विषय अध्यापन गर्ने इसान आबद्ध शिक्षकहरूलाई एकदिने तालिम कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले शिक्षकहरू पाठ्यपुस्तकमा मात्र सीमित हुन नहुने धारणा राख्दै पाठ्य सामग्रीलाई समाजको वास्तविक अवस्थासँग तुलना गरी अध्ययन गराउनु जरुरी रहेको बताउनुभयो ।
शिक्षा उत्पादन श्रमसँग नजोडिँदा र रोजारमूलक नहुँदा उच्च शिक्षा एवं रोजगारीको नाममा युवाहरू विदेशीरहेको उल्लेख गर्दै सांसद गोसाईले शासक पार्टीहरूको गलत नीतिकै कारण देश युवाविहीन हुँदै गएकोले यसबारे शिक्षकहरूले विद्यार्थीलाई सजग गराउनु जरूरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रेमिट्यान्सले देश कहिल्यै आत्मनिर्भर नहुने हुँदा विद्यार्थीहरूलाई स्वदेशमै बस्न उत्प्रेरित गर्नुपर्छ । विद्यार्थी देशको नयाँ पुस्ता र आशाको पुञ्ज भएकोले विद्यार्थीलाई विद्यालय तहदेखि नै देशभक्तिको शिक्षा दिनु जरूरी छ ।”
अमेरिकी साम्राज्यवादको कुकृत्य र समाजवादी क्रान्तिबारे विद्यार्थीलाई सचेत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष पे्रमजन थापाले तालिमको औचित्यताबारे प्रकाश पार्दै शिक्षकहरू कक्षाकोठामा मात्र सीमित नहुने बताउनुभयो ।
कार्यक्रममा इसानका केन्द्रीय सचिव पुरूषोत्तम ग्वाछा र तालिम संयोजक कर्णबहादुर प्रजापतिले पनि बोल्नुभएको थियो ।
ग्रीन पब्लिकेशन र रिडमोर पब्लिकेशनको सहयोगमा भएको उक्त कार्यक्रममा समाजिक विषयविज्ञ मातृकाप्रसाद लम्साल र नेपाली विषयविज्ञ अर्जुन अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
Leave a Reply