भर्खरै :

नाराबाजीबिच संसद् बैठक चालु !

नाराबाजीबिच संसद् बैठक चालु !

काठमाडौँ, १ असार । प्रतिनिधिसभाको आइतबारको बैठक रास्वपाको नाराबाजीबिच सुरू भयो । रास्वपाका सांसदहरू ‘गृहमन्त्री राजीनामा दे !’, ‘मानव तस्करलाई कारबाही गर !’, ‘छानबिन समिति गठन गर !’ आदि नारा लगाउँदै सभामुख देवराज घिमिरेको अगाडि गएर धर्ना बसे । जेठ १३ गतेको बैठकमा माओवादी, रास्वपा, राप्रपा, एसका सांसदहरूले भिजिट भिसामा गृहमन्त्री रमेश लेखक भ्रष्टाचारमा संलग्न भएको आरोप लगाई राजीनामा मागेका थिए । सुरूमा माओवादीले संसद्मा प्रधानमन्त्री केपी शर्मा ओली आएर जवाफ दिनुपर्ने अडान राखेको थियो । पछि माओवादी, राप्रपा, एस पछाडि हटे । अहिले रास्वपा एक्लै गृहमन्त्री लेखकको राजीनामा मागेर बैठक अवरोध गर्दै छ ।
रास्वपाको नाराबाजीबिच सभामुख घिमिरेले नेकाका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न दिनुभयो । सांसद घिमिरेले रास्वपाका सभापति रवि लामिछाने पाँचओटा सहकारी ठगीमा सर्वोच्च अदालतको फैसलाअनुसार थुनामा परेको उल्लेख गर्दै त्यस्तो पार्टीले संसद्मा नैतिकताको पाठ सिकाउने ? भनी प्रश्न उठाउनुभयो ।
नेका सांसद नागिना यादवले पनि रास्वपा सभापति लामिछाने नागरिकता र पासपोर्ट काण्डमा परेको उल्लेख गर्नुभयो ।
एमालेका योगेश भट्टराई, माओवादीका देवेन्द्र पौडेल, लोसपाका रामप्रकाश चौधरीले जिल्लाको समस्याबारे चर्चा गर्नुभयो ।
एसका कृष्णकुमार श्रेष्ठ, स्वतन्त्र सांसद अमरेशकुमार सिंह र राप्रपाका सांसदले रास्वपाको नाराबाजीबिच आफ्नो विचार नराख्ने बताउनुभयो ।
अर्थमन्त्री विष्णु पौडेलले आ.व. २०८२/८३ को बजेटमाथि सैद्धान्तिक छलफल गर्ने प्रस्ताव पेस गर्नुभयो ।
सभामुख घिमिरे बजेटको सैद्धान्तिक छलफल असार १ र २ गते हुने सूचित गर्नुभयो ।
नेकाका सांसद प्रकाशशरण महत, एमालेका सांसद भीमप्रसाद आचार्य, माओवादीका वर्षमान पुन, एसका राजेन्द्रप्रसाद पाण्डे, जसपाका वीरेन्द्र महतो, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरीले बजेटबारे मन्तव्य राख्नुभयो ।
आम जनता पार्टीका प्रभु साहले माओवादीका सांसदहरू संसद् अवरोधमा आउँदा बैठक स्थगित हुने, रास्वपाका सांसदहरू सभामुख घिमिरेको अगाडिसम्म आएर नाराबाजी गर्दा समेत किन स्थगित गरिएन भनी प्रश्न गर्नुभयो ।
बैठक असार २ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *