सम्पदाको संरक्षण र संवद्र्धन गर्न हामी नै सक्षम हुनुपर्छ
- बैशाख ५, २०८३
सङ्घ र प्रदेशमा सरकारी नीति तथा कार्यक्रम र अनुमानित बजेट सार्वजनिक भएसँगै स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्न थालेको छ । हरेक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरी बजेट पेस गर्नुपर्ने मान्यताअनुसार स्थानीय तहले सो कार्य गर्न थालेको हो । यस सिलसिलामा भक्तपुर नगरपालिकाले असार ६ गते नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो । निर्वाचनताका जारी भएको घोषणापत्र, जनताको सुझाव र सल्लाहको आधारमा भनपाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको हो । राजनीति देश र जनताको इमानदारीपूर्वक सेवा गर्नुपर्छ भन्ने भावनालाई आत्मसात गरी भनपाले कार्य गरिरहेको जनताको अभिमत छ ।
भक्तपुरलाई देशकै नमुना नगर बनाउने उद्देश्यअनुरूप भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण र विकासमा जोड दिइरहेको छ । सांस्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल, सम्पदा संरक्षित सहर, ज्ञान विज्ञानको केन्द्र, सफा, स्वच्छ र सभ्य नगर बनाउने भक्तपुर नगरपालिकाको अभियान चालु छ । भक्तपुर नगरलाई अध्ययन र अनुसन्धान केन्द्र बनाउने भनपाको योजना स्वदेशी विदेशीहरूको आकर्षणस्थल मात्र होइन भक्तपुर नगर अन्य नगरपालिकाको निम्ति सिक्ने र अनुकरण गर्ने थलो बनेको छ । भनपाले ‘ख्वप अनुसन्धान केन्द्र’ बनाउने नीति तय गरेको छ । आर्थिक समस्या भएका विद्यार्थीहरूलाई शैक्षिक ऋणको व्यवस्था, इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा, दर्शनशास्त्रजस्ता विषय लिएर पढ्ने नगरवासी विद्यार्थीहरूको लागि विद्यावारिधीसम्म छात्रवृत्तिको व्यवस्था गर्ने काम सकारात्मक पक्ष हो । नगरवासीहरूलाई भनपाले प्रदान गर्दै आएको निःशुल्क अक्सिजन, निःशुल्क रगतले बिरामीहरूको निम्ति ठुलो सहयोग पु¥याएको छ । आधारभूत स्वास्थ्य सेवा पु¥याउन वडावडामा स्वास्थ्य सेवा केन्द्र, वडा–वडामा शिशु स्याहार केन्द्रको विस्तार भनपाका अनुकरणीय पाइलाहरू हुन् ।
हो, भक्तपुरलाई सांस्कृतिक नगर घोषणा गराउन भनपाले पहल गर्नु जरूरी छ । वास्तवमै भक्तपुर नगर सांस्कृतिक नगर हो† सरकारले घोषणा गर्न मात्र बाँकी छ । यसमा सरकारले विलम्ब गर्नुहुँदैन । यहाँ मठ, मन्दिर, सत्तल, पाटी, पौवा, धारा, पोखरी, इनार, चोक, बिहार, बहामात्र होइन, चित्रकला, धातुकला, काष्ठकलामा पनि बेजोड नमुनाको छ । वास्तवमा भक्तपुर नगर जीवित सङ्ग्रहालय नै हो । अझ स्वदेशी विदेशी पर्यटकहरूलाई घुम्नैपर्ने थलो बनाउन एउटा छुट्टै जीवित सङ्ग्रहालय बनाएमा सुनमा सुगन्ध हुनेछ । जीवित सङ्ग्रहालयमा यहाँ उत्पादन भएका, प्रयोग भएका माटो, काठ, फलामका सामान, घरेलु सामान, माटाका सबै भाँडाकुँडा, पोशाक, पहिले चिउरा बनाउने र धान कुट्ने सामग्री, मानिसको जनजीवनमा प्रयोग हुने सामग्री, हातहतियार, वाद्यवादन आदि समेतको एउटा सङ्ग्रहालय भयो भने त्यो देशकै निम्ति एउटा अनुकरणीय कदम हुनेछ । यो आन्तरिक र बाह्य पर्यटकहरूको निम्ति हेर्नैपर्ने सङ्ग्रहालय हुनेछ । यो यहाँको एक अर्को आयस्रोतको थलो बन्ने छ । विभिन्न उत्सव या पर्वमा सन्ध्याकालीन सांस्कृतिक प्रस्तुति पनि पर्यटकहरूको निम्ति अर्को आकर्षण हुनेछ । यसले पर्यटन व्यवसायी, सांस्कृतिक टोलीलाई मात्र होइन नपालाई पनि सहयोग गर्नेछ ।
भनपाले चालु राखेको अरनिको सभा भवन पूरा भएपछि यो नगरको अर्को गतिलो काम हुनेछ र नपाको एउटा अर्को आर्थिक स्रोत हुनेछ । नाचगान, सभा, समारोह, नाटक, ख्याल मञ्चनको निम्ति अरनिको सभा भवन आवश्यक पनि छ । शीत भण्डार पनि त्यतिकै आवश्यक छ । शीत भण्डारको अभावले सबै किसानले आफूसँग रहेको आलु भण्डारण गर्न पाएका छैनन् । भएको शीत भण्डार पनि टाढा छ । अर्को वर्षसम्ममा शीत भण्डार सञ्चालन गर्न पाए किसानहरूको निम्ति राहत हुनेछ । भनपाको नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आदर निकेतन सञ्चालन गर्ने उल्लेख छ । आदर निकेतनले कष्टकर जीवन बिताइरहेका वृद्धवृद्धाहरूको निम्ति राहत हुनेमा शङ्का छैन । खानेपानीको मुहान रहेको नगरकोटलाई जलाधार क्षेत्र घोषणा गर्नुपर्छ । वरपरको जङ्गल मास्न दिनुहुँदैन । वरपर खेल मैदान, अन्य भौतिक संरचना बनाउँदा जङ्गल मासिन्छ र पानीको स्रोत सुक्छ । अतः जलाधार क्षेत्र घोषणा गरेर आवश्यक वृक्षरोपण भएमा खानेपानीको स्रोत सुक्नेछैन । यसले भक्तपुरवासीहरूको निम्ति राहत हुनेछ ।
शान्त वातावरणमा सुरक्षित र सहज जीवन बिताउने, नागरिक भावना जगाउने, सांस्कृतिकर स्तर उठाउने, हत्या हिंसा र आत्महत्याका घटनालाई दुरूत्साहित बनाउने, देशभक्त बनाउने, शिष्ट, सभ्य बन्ने र बनाउने, आपत्विपत् या सङ्कटमा एकले अर्कोलाई सहयोग गर्ने काममा हामी अघि बढ्यौँ भने पक्कै पनि भक्तपुर नगर नेपालको लागि नमुना नगरपालिका बन्ने छ र विश्वकै लागि हेर्नैपर्ने, घुम्नैपर्ने नगर बन्नेछ । स्वच्छ र सभ्य नागरिक हुन, सुनिश्चित जीवन बिताउन काममामको पनि त्यतिकै बन्दोबस्त हुनु आवश्यक छ । कसैले कसैमाथि शोषण नगर्न र नगराउन, कसैले कसैमाथि आपराधिक काम र अनियमित काम नगर्न र नगराउनेतर्फ पनि हाम्रो ध्यान जानु आवश्यक छ । ज्येष्ठ नागरिकहरूप्रति सन्तानको माया मोह बढाउने, आवश्यक हेरविचार तथा पालनपोषण गर्न गराउन कर्तव्यबोध गराउनुपर्ने हाम्रो अर्को जिम्मेवारी छ । समाज सेवा गर्ने, कुलतबाट मुक्त हुने आदि काम भयो भने भक्तपुर नगर साँच्चै आदर्श नगर हुनेछ ।
Leave a Reply