म भैल खः हुँ
- बैशाख ४, २०८३
ओहो ! कति नडराएको त्यो सांसद । बैठकमा समितिका सभापतिलाई त उनले आछु–आछु पारेछन् । देश र जनताको निःस्वार्थ सेवा गर्छु भनेर चुनावमा कसम खाएर आएका हामी जनप्रतिनिधि सांसदले बैठकमा देशको समस्या र विसङ्गतिबारे प्रश्न नउठाए कसले उठाउने, कहाँ उठाउने ? देश र जनताको पक्षमा प्रश्न उठाएपछि विचार राख्ने अवसर दिनु पर्दैन ? उहाँलाई त मान्नैपर्छ । आस्था र विश्वासको राजनीति भनेको यहीँ हो । त्यो पार्टीको त्यस्तै १०/२० जना मात्र सांसद संसद्मा भइदिएको भए देशघाती, भ्रष्टाचारी सरकारलाई ठाउँमा ल्याउँथ्यो र देश र जनताको सेवामा जुटाउँथ्यो । देश बनाउन सही बाटोमा हिड्न बाध्य पाथ्र्यो । तर, जनता राजनैतिकरूपले सचेत र सङ्गठित नभएसम्म देश यस्तैे शासकहरूको हातमा रहनेछ । शनिबार साँझ रत्नपार्कमा आराम गरी भलाकुसारी गर्दै गरेका अमर भट्टले साथी निसान राईलाई त्यो देशभक्त निडर सांसदबारे बताए । उनीहरू दुबै दार्चुला र ताप्लेजुङबाट ५०/६० लाख खर्चेर काठमाडौँमा डाक्टर पढ्न आएका विद्यार्थी थिए ।
भक्तपुरको राजनीति र संस्कृतिबारे अलिअलि जानकारी राख्ने साथी निसानले पनि गर्व गर्दै भने, ‘हेर अमर, निःस्वार्थी निडर हुन्छ । त्यसमाथि कुरा, भाषणले होइन व्यवहार र परिणामले नै देशलाई माया गर्ने, जनताको सेवा गर्ने देशभक्त निडर सांसद भएपछि कसैसँग डराउने र झुक्ने कुरै आउँदैन । त्यो गुण, त्यो तागत म उहाँमा देख्छु । ठुला भनिएका शासक दलका नेता, सांसदहरूमा त म यसको ठीक उल्टो देख्छु । सांसदको सभाहलमा कुर्सी जहिले रित्तो हुन्छ । तर एनजीओ, आईएनजीओको तारे होटलको बैठक, सभाहलमा भने ती दलका सांसदहरू खचाखच हुन्थे । हेर्नुस् त देशघाती एमसीसी पास गर्दा, प्यालेस्टिनी जनताको जातीय नरसंहार गर्दा, भारतले नेपाली भूमि मिच्दा, जन्मको आधारमा लाखौँ भारतीय नागरिकलाई नेपाली नागरिकता सिनेमाको टिकटजस्तो बाँड्दा उहाँ एक्लैले संसद्मा सशक्त विरोध गर्नुभएको हामीले सञ्चारमाध्यममा हे¥र्यौँ ।
फेरि उनले थपे, “साथी अमर, भक्तपुर नगरपालिकाले सर्वसाधारण जनताका छोरा छोरीलाई रु. १५ लाखमा डाक्टर पढाउन ख्वप विश्वविद्यालय खोल्न संसद्मा १० वर्ष अगाडि नै दर्ता भएको विधेयक निर्णयार्थ छलफलको लागि संसद्मा टेबुल गरौँ भन्दा शासक दलहरू मौन भए । नत्र हामीले पनि रु. १५ लाखमा डाक्टर पढन पाउँथ्यौँ । भक्तपुर नगरपालिका ख्वप अस्पताल चलाउने र जनताको घरघरमै सेवा गर्न नर्स पठाउने देशमै पहिलो नगरपालिका भएको छ । क्युवामा जस्तो यहाँ पनि बिरामी डाक्टरको घरमा होइन, डाक्टरै बिरामीको घरमा सेवा गर्न जाने कम्युनिस्ट सरकारको व्यवस्था आउला, देशमा कम्युनिस्टको प्रभाव बढ्ला भन्ने डर उनीहरूका मालिकलाई भयो होला ! लौ अमर, साँझ पर्यो जाऔँ । अर्को शनिबार पशुपतिको बाटिकामा भेटौँला भन्दै दुबै त्यहाँबाट हिँडे ।
Leave a Reply