भर्खरै :

नेपालबिच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरूको ल्हासामा बैठक

नेपालबिच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरूको ल्हासामा बैठक

ल्हासा, १२ असार । नेपाल र जनवादी गणतन्त्र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबिच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरूको बैठक असार १० (जून २४, २०२५) गते तिब्बतको ल्हासा सहरमा सम्पन्न भयो । विदेशी सहरसँग भगिनी सम्बन्धका लागि सिचाङ जनमैत्री सङ्घ र तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासको संयुक्त आयोजनामा Share.Build.Create Together भन्ने मूल नारासहित उक्त बैठक भएको थियो ।
बैठकको औपचारिक समारोहमा सिचाङ स्वशासित क्षेत्र जनसरकार उपाध्यक्ष झाओ फेङले परम्परादेखि चल्दै आएको दुई देशबिचको सरकारी र जनस्तरको सम्बन्ध दुवै देशले इमानदारीपूर्वक निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । उहाँले तिब्बती भूमि चीनको अविभाज्य अङ्गको रूपमा रहँदै आएको तथ्यलाई नेपालले इतिहासदेखि नै स्वीकार्दै आएको र एक चीन नीतिको दृढतापूर्वक सम्मान गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालसँग मैत्री सम्बन्ध स्थापित भएको चीनको पहिलो प्रान्त तिब्बत हो । आपसी भगिनी सम्बन्ध स्थापना भएका चीनका नगरपालिकहरूमध्ये तिब्बतका मात्र सात वटा नगरसँग नेपालका आठवटा विभिन्न नगरपालिकाको भगिनी सम्बन्ध स्थापना भएका छन् । दुई देशबिच सरकारी र जनस्तरमा नै आर्थिक, सांस्कृतिक र व्यापारिक आदानप्रदान भइरहेको छ ।”
उपाध्यक्ष झाओ फेङले तिब्बतमा मानव सभ्यतालाई प्रकृतिसँग सामञ्जस्यता कायम गर्दै आधुनिक विकासको गतिलाई तिव्रता दिइएको उल्लेख गर्दै तिब्बतको कुल क्षेत्रफलको एकतिहाइ प्राकृतिक संरक्षण क्षेत्र घोषणा गरिएकोमा ४७ वटा संरक्षण क्षेत्रहरू रहेको चर्चा गर्नुभयो । उहाँले तिब्बतको आधुनिक विकासमा चिनियाँ विशेषतासहितको समाजवादमा राष्ट्रपति सी चीनफिङ विचारधाराको योगदान रहेको प्रस्ट पार्नुभयो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलका नेता तथा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुवै देशको हिमाली सभ्यतालाई अगाडि बढाउन बैठक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्दै चीन सरकारले सन् २०१३ बाट सुरु गरेको विश्वव्यापी आर्थिक विकास तथा सहयोग कार्यक्रमअन्तर्गत एक मार्ग एक क्षेत्र अगुवाइ (Belt and Road Initiative – BRI) को नेपाल पनि अङ्ग बन्न पाएकोेमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपालको कानुनी व्यवस्थाअनुसार सबै पालिका आ–आफ्नो बजेटसभामा व्यस्त भइरहेको समयमा भगिनी नगरहरूबिचको बैठकलाई प्राथमिकता दिनुले दुई देशबिचको जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन संवेदनशील बनेको स्पष्ट भएको बताउनुभयो ।
वाग्मती प्रदेशका मुख्य सचिव भुपाल बरालले सिचाङ प्रान्तका नगरहरूबिच भगिनी सम्बन्ध कायम गरेका वाग्मती प्रदेशका ७ वटा पालिका र गण्डकी प्रदेशको १ वटा पालिका रहेको जानकारी दिँदै दुई देशका पालिकाहरूबिच सांस्कृतिक आदानप्रदानले हाम्रो दृष्टिकोणलाई फराकिलो पार्ने विश्वास व्यक्त गर्नुभयो ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले तिब्बती राजा स्रङचङ गम्पोसँग नेपाली चेली भृकुटीको विवाहसँगै नेपाली कलाकृति, संस्कृति र व्यापारिक सम्बन्ध तिब्बतमा वृद्धि भएको उल्लेख गर्दै तिब्बतको आधुनिक विकासले तिब्बतसँग सिमाना जोडिएका नेपालका जिल्लाहरूमा सकारात्मक प्रभाव परेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको तर्फबाट बैठकमा सहभागी भएका वडाध्यक्ष रवीन्द्र ज्याख्वले दुई देशबिचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत पार्न चिनियाँ सरकारले नेपालमा विकासका पूर्वाधार निर्माणसँगै नेपाली विद्यार्थीहरूलाई चिनियाँ विश्वविद्यालयहरूमा अध्ययन गर्ने सुविधा प्रदान गरेकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले नेपालमा २०७२ सालको विनाशकारी भूकम्प र कोभिड महामारीको समयमा नेपाली जनतालाई चिनियाँ सरकारको तर्फबाट प्राप्त भौतिक तथा स्वास्थ्य सामग्री सहयोगप्रति कृतज्ञता जनाउनुभयो ।
भक्तपुर नगरपालिका र शान नान नगरपालिकाबिच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको उल्लेख गर्दै वडाध्यक्ष ज्याख्वले शान नान नगरका तत्कालीन उपप्रमुख मु योङवनको नेतृत्वमा आएको टोलीले सन् २०२४ जुलाई २२ देखि २५ सम्म भक्तपुरको भ्रमण गरी दुई पालिकाबिचको आत्मीय सम्बन्धलाई प्रगाढ बनाएको स्मरण गर्नुभयो ।
वडाध्यक्ष ज्याख्वले दुई देशका पालिकाहरूबिच आपसी सम्मान, विश्वास र सहकार्यका आधारमा सांस्कृतिक, आर्थिक, शैक्षिक, पर्यटनलगायतका विषयमा सहयोग आदानप्रदान भइरहेको चर्चा गर्दै भन्नुभयो, “दुवै देशमा भाषा शिक्षण, साहित्य अनुवाद र हाम्रा ऐतिहासिक सम्बन्ध तथा आदानप्रदानबारे प्राज्ञिक अनुसन्धानजस्ता पहलहरूले दुई देशका पालिका तथा जनताबिचको समझदारीलाई अझ गहिरो बनाउने विश्वास छ ।”
शान नान नगरपालिकाका उपप्रमुख हान लियाङले स्रङचङ गम्पोको मूल निवास शान नानमा हुनु र नेपाली राजकुमारी भृकुटीलाई विवाह गरी शान नानमा उनकै लागि दरबार निर्माण गरिनु ऐतिहासिक उपलब्धि भएको चर्चा गर्दै भक्तपुर नगरपालिका र शान नान नगरपालिकाबिचको भगिनी सम्बन्धले गौरवानुभूति भएको बताउनुभयो ।
बैठकमा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यान्जु श्रेष्ठ, जिरी नगरपालिकाका प्रमुख मित्रबहादुर जिरेल, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, भरतपुर महानगरपालिकाका वडाध्यक्ष विकास थापा र काठमाडौँ महानगरपालिकाका प्रतिनिधि नुरनिधि न्यौपानेले पनि बोल्नुभयो ।
त्यसैगरी, सिचाङ स्वायत्त प्रदेशका तर्फबाट ल्हासाका उपप्रमुख पासाङ तुओजी, रिगात्जे नगरका प्रमुख वाङ फाङहोङ, लिन्झी नगरका उपप्रमुख लिउ चुङसियाङ, छङ्तु नगर पार्टी समितिका तेङ वेङछाङ, नाचु नगरका मेयर चाङ्सी तुओजी र आली प्रिफेक्चरका कमिसनर शि युहुइले दुई देशका पालिकाबिचको भगिनी सम्बन्धका विभिन्न आयामहरूबारे जानकारी दिनुभयो ।
औपचारिक समारोहकै क्रममा नेपालको धुलिखेल नगरपालिका र सिचाङ स्वायत्त क्षेत्रअन्तर्गत आली प्रिफेक्चरको बिचमा भगिनी सम्बन्धको औपचारिक सहमति पत्रमा हस्ताक्षर गरिएको थियो ।
यसअघि बनेपा नगर र रिकात्जे नगरबिच सन् १९९९ अक्टोबर ६ मा, पोखरा महानगर र लिन्झी नगरबिच सन् २००८ अक्टोबर २१ मा, काठमाडौँ महानगर र ल्हासाबिच सन् २०११ अगस्ट २७ मा तथा भक्तपुर नगर र शान नान नगरबिच सन् २०१६ अगस्ट १४ मा भगिनी सम्बन्ध स्थापित भएको थियो । त्यस्तै, जिरी नगर र छङ्तु नगरबिच सन् २०२१ मार्च २२ मा, टोखा नगर र नाचु नगरबिच सन् २०२२ जून १६ मा तथा भरतपुर महानगर र रिकात्जे नगरबिच सन् २०२३ नोभेम्बर ९ मा भगिनी सम्बन्ध स्थापित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *