भर्खरै :

कानुनका विद्यार्थीहरू समाजलाई सुव्यवस्थित बनाउन राजनीतिमा सक्रिय हुन आवश्यक

कानुनका विद्यार्थीहरू समाजलाई सुव्यवस्थित बनाउन राजनीतिमा सक्रिय हुन आवश्यक

मानव समाजको विकास सँगसँगै समाजमा देखा पर्न थालेको समस्या स्रोत साधनको वितरण सुरक्षा व्यवस्था, निर्णय प्रक्रिया र मानव जीवनमा देखा परेको अन्य समस्याहरू समाधान खोज्ने क्रममा राजनीति जन्मिएको हो । प्राचीन ग्रिसमा प्लेटो र अरस्तुले राजनीति र शासनको गहिरो अध्ययन गरेपछि राजनीति औपचारिक शैक्षिक छलफलको विषय बनेको हो । नेपालको सन्दर्भमा राजनीति राज्य सञ्चालनको लागि मल्ल लिच्छवी शाह र राणा शासनदेखि हालसम्म फरक किसिमको राजनीतिक अभ्यास भएको देखिन्छ ।
राजनीति राज्य सञ्चालन प्रक्रिया शक्तिको प्रयोग गर्ने कला तथा जनताको हितको लागि नीतिगत निर्णय गर्ने कार्य मात्र नभई बहुमत जनताको निःस्वार्थ रूपमा सेवा गर्ने भावना एक सच्चा राजनीति हो । राजनीति हरेक जनतासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । यसले जनतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । विभिन्न नीति निर्माणको विषय शिक्षा, स्वास्थ्य, रोजगारी, कानुन, मानव अधिकारलगायत अन्य विषयमा पनि राजनीति जोडिएको हुन्छ ।
राजनीति ‘गुलाफको फूल’ होइन । सत्ताको होडबाजी गर्नु, चुनावमा भाग लिनु, मन्त्री, प्रधानमन्त्री, सांसद बन्नु मात्र पनि राजनीति होइन । यो त हरेक नागरिकको जीवनसँग जोडिएको विषय हो । जीवनलाई अर्थपूर्ण सुगन्धित रङ्गीचङ्गी फूलहरूको फूलबारी बनाउने माध्यम हो । राजनीतिमा सचेत र सजग नागरिकले मात्र आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन सक्छ ।
राजनीतिमा कानुनको विद्यार्थी सक्रिय हुनु भनेको फलामको चिउरा टोक्नु सरह नै हो । नेपालको राजनीति बहुमत जनताको सेवाभन्दा पनि भ्रष्टाचार र अनियमिततामा केन्द्रित छ । यो हिसाबमा राजनीतिमा कानुनका विद्यार्थीको लागि तरवारको धारमा हिँड्नु सरह हुनेछ । समाजको व्यापक बेथितिको विरुद्धमा लड्दा, सङ्घर्ष गर्दा कानुनको विद्यार्थीको जीवनमा असहाय दुःख पीडा आउन सक्छ ।
बुद्धिमान कानुनका विद्यार्थी सधैँ बहुमत जनताको पक्षमा सङ्घर्षरत हुन्छ । पुँजीवादी समाजमा देखा परेको व्यापक समस्या, भ्रष्टाचार, अनियमितता, शोषण, अत्याचार, दमन र कालोबजारी आदिबाट उत्पन्न व्यापक समस्यालाई समाधान गर्न बहुमत जनताको पक्षमा दरो एउटा खम्बाको रूपमा अटल भएर उभिनुपर्छ । समाजका बेथितिहरूलाई जनताबाट छुटकारा दिलाउन सुव्यवस्थित राज्यको लागि कानुनका विद्यार्थीहरू लागिपर्नुपर्छ ।
पद र प्रतिष्ठाका लागि कानुनका विद्यार्थीहरूले आफ्नो जिम्मेवारबाट जनताको पीडालाई भुल्नु हुँदैन । पद प्रतिष्ठाको लागि पतञ्जली जग्गा प्रकरण, सहकारीको विषय, भिजिट भिसा प्रकरण गिरीबन्धुको जग्गा प्रकरण, क्यान्टोनमेन घोटालाको विषय, वाइडबडी जहाज खरिद बिक्रीको विषय, भुटानी शरणार्थी काण्डलगायतको बेथितिहरूको ढाकछोपको लागि यसको पक्षमा वकालत गर्नु गलत हुन्छ । यस्ता विषयको पक्षमा वकालत गर्नु कानुनका विद्यार्थीहरूको नैतिकता र अनुशासनको विरुद्धमा हुन्छ । कानुनका विद्यार्थीहरू सधैँ वास्तविक बहुमत पीडित जनताको पक्षमा हुनुपर्छ ।
कानुनका विद्यार्थीहरू सधैँ समाजको बेथिति, कालोबजारी, भ्रष्टाचार र समाजको दुर्गन्धलाई जरैबाट उखेलेर फाल्न क्रियाशील हुनुपर्छ । राज्यले ल्याउने जनविरोधी नीति, कानुन र निर्णयको वैज्ञानिक ढङ्गले आलोचना गर्न बहुमत जनताको हितको सवाल र जनताको समस्या समाधान हुने नीति निर्माणमा प्रभावकारी भूमिकामा सक्रिय हुनुपर्छ । अन्धविश्वास, अधिनायकवाद सामन्तवादजस्ता समस्यालाई रोक्न र वैज्ञानिक समाजवाद, लोकतन्त्र, मानवअधिकारलगायतको विषयमा नेतृत्व र वैचारिक बहस गर्नु कानुनका विद्यार्थीको कर्तव्य हो । कानुनका विद्यार्थीहरूले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला तथा निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारी र आवासलगायतका अन्य जनताको समस्या र अन्य आधारभूत आवश्यकताहरूको वकालत गर्नुपर्छ ।
राजनीतिमा निष्क्रिय हुनु अवसर गुमाउनु मात्र होइन, न्याय र सम्भावनालाई पनि कमजोर पार्नु हो । कानुनका विद्यार्थीहरूको मौनता नै अपराध र समाजको बेथितिहरूलाई थप सक्रिय हुन प्रेरित गर्नु अथवा त्यसलाई वैधता दिनु हो । कानुनका विद्यार्थीहरू समाजका चेतनशील वर्ग हुन् । उनीहरू कानुनी ज्ञान, न्यायको अवधारणा र संवैधानिक मूल्यको गहिरो ज्ञान हुन आवश्यक छ । यस्तो वर्ग राजनीतिमा सक्रिय हुनुले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छ । कानुनको विद्यार्थीले सत्ताको होडबाजीमा होइन, न्यायको स्थापना गर्ने लक्ष्य लिएर राजनीतिमा पाइला चाल्नुपर्छ । सत्ताको दुरूपयोग अधिकारको उल्लङ्घनलगायत बेथितिहरूमा कानुनका विद्यार्थी, नागरिक समाज, बुद्धिजीवीलगायत अन्य कल्याणकारी संस्थाहरू बहुमत जनताको पक्षमा सक्रिय भएर लागिपर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *