भर्खरै :

नेमकिपाको विरोध गरेर “लायक” नेता बन्ने प्रयास !

काठमाडौँ, १५ असार । सही सिद्धान्त र विचारको राजनीति गर्ने दल र दलका नेताहरूको विरोध गर्ने दल र दलका नेताहरूको यहाँ कमी छैन । उनीहरूको काम सत्यतथ्य नहेरी, नबुझी विरोधको निम्ति विरोध गर्ने हो । यसरी विरोधको निम्ति विरोध गर्ने नेताहरूमा एमालेका पनि परेका छन् । आफ्ना दलका नेताहरू के कस्ता काण्डमा परेका छन् ? के कस्ता गल्ती गरिरहेका छन् भन्ने कुरा विरोधको निम्ति विरोध गर्ने दलका नेताहरूलाई मतलब छैन । दुई ठुला दल मिलेर संसदीय मर्यादा उल्लङ्घन गरे पनि उनीहरूलाई मतलब छैन । उनीहरू नेमकिपाको विरोध गर्न पाएपछि आनन्द भएको महसुस गर्छन् । नेमकिपाको विरोध गरेर आफूहरू ‘लायक’ नेता बन्न खोज्छन् ।
समग्र देश विकासको निम्ति सङ्घर्षरत दल नेमकिपालाई विरोधीहरू विकासविरोधी देख्छन् । एमालेका एक नेताले दैलेखको जलजलेमा मिथेन ग्यासको भण्डार भएको पुष्टिको खबर प्रकाशन गरेन भनेर नेमकिपाका नेता र ‘मजदुर’ दैनिकको नाम लिई विरोध गरे या खोके । मिथेन ग्यासबारे असार ६ गतेको ‘मजदुर’ दैनिकमा तस्बिरसहित झन्डै आधा पेज ढाक्ने गरी समाचार छापिएको थियो । देशको निम्ति आवश्यक चिकित्सक तयार गर्न विश्वविद्यालय खोल्न स्वीकृति माग गर्दा विरोध गर्ने एक पात्र उनै हुन् जो नेमकिपाको विरोध गरिरहन्छन् । भनपाले झैँ अरु नपाले पनि विश्वविद्यालय खोल्न माग ग¥यो भने कसलाई मात्र स्वीकृति दिने भनेर ख्वप विश्वविद्यालय स्वीकृति दिन नहुने मनसाय व्यक्त गर्ने उनी विकासप्रेमी, शिक्षाप्रेमी ?
तीन चार दशकदेखि देशमै रासायनिक मल कारखाना खोल्न सरकारलाई घच्घच्याउने दल कुन ? नेमकिपा होइन ? के देशमा रासायनिक मल कारखाना खोल्ने माग राखेर सङ्घर्ष गर्नु विकासको कुरा होइन ? नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०४१ सालमै लेख्नुभएको लेखको सङ्कलन ‘आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास’ पुस्तक प्रकाशित छ । यो पुस्तक २०८१ असोजमा समेत तेस्रो संस्करणमा प्रकाशित भइसकेको छ । पुस्तकमा आफ्नो खुट्टामा उभिन अभाव, सङ्कट र कठिनाइसँग भिड्ने राष्ट्रिय साहस, साम्राज्यवाद र उपनिवेशवादको विरोधमा लड्ने सङ्कल्प र देशलाई आफ्नै खुट्टामा उभ्याउनको निम्ति मेहनत, उत्साह र त्यागको भावना आवश्यक भएको उल्लेख गरिएको छ । नेपालमै रहेको नुन खानी अध्ययन तथा अनुसन्धान गरेर उत्पादन गर्न सकिन्छ । हाम्रा पुर्खाले कपास खेती गरेको थियो । यहाँ ऊन, जुट आदिले आफ्नै देशमा कपडा तयार गर्न सकिने कुरा पुस्तकमा उल्लेख छ । जुत्ता कारखाना खोलेकै थियो । कागज कारखाना खोलेकै थियो । तर, सरकारले एकपछि अर्काे निजीकरण ग¥यो । कारखाना निजीकरण गर्ने र विदेशी कम्पनीलाई दिने काम शासकहरूले गरे । विदेशी सहायता र ऋणमा भर नपरी आफ्नै खुट्टामा उभिने हो भने राष्ट्रिय पुँजीकै खाँचो छ । आत्मनिर्भरताको निम्ति औद्योगिकीकरण जरुरी छ । आफ्नो श्रम र सीपलाई आफ्नै भूमिमा लगाउनुपर्छ भन्ने कुरा उक्त पुस्तकमा चर्चा गरिएको छ । के यो विकासको कुरा होइन ? विकास चाहने दलको सरकारले छाला जुत्ता कारखाना, कृषि औजार कारखाना, चिनी कारखाना, भृकुटी कागज कारखाना, रबर र अन्य कारखाना एक एक गरेर किन निजीकरण ग¥यो । यी कारखानालाई सरकारले नै निरन्तर चलाउनुपर्छ भन्ने माग नेमकिपाको हो । यस्तै समाचार, लेख ‘मजदुर’ दैनिकमा छापिरहेको हुन्छ । के यो विकासविरोधी कदम हो ? विकासविरोधी विचार हो ?
अध्यक्ष रोहितले ‘५० वर्षपछिको नेपाल’ चिठीसहितको ‘सय वर्षपछिको भक्तपुर’ पुस्तक प्रकाशित गर्नुभएको थियो । पुस्तक ‘सय वर्षपछिको भक्तपुर’ र ‘५० वर्षपछिको नेपाल’ को कल्पना गरेर लेखिएको लेखको सङ्ग्रह हो । पुस्तकमा भक्तपुर र सिङ्गो नेपालको अवधारणाबारे प्रस्ट पारिएको छ । ‘सय वर्षपछिको भक्तपुर’ मा लेखकले सय वर्षअघि र पछिको भक्तपुरलगायत देशका विभिन्न पर्यटकीय र दर्शनीय क्षेत्रहरूको स्थितिको वर्णन र कल्पना गर्नुभएको छ, सय वर्षअघिको स्थिति र सय वर्षपछिको चिन्तनले देशको भविष्यलाई शब्द चित्रमा निकै रोचक र प्रभावकारी ढङ्गमा उतार्नुभएको छ ।
‘पचास वर्षपछिको नेपाल’ चिट्ठीमा एक निराश व्यक्तिलाई उत्साहित गर्ने र भविष्यप्रति आशा जगाउने जमर्कोसँग लेखकले देशको एउटा शब्दचित्र कोर्नुभएको छ । साम्राज्यवादी र विस्तारवादीहरूको चलखेलबाट नेपालीलाई मात्र होइन देशमा धेरै निराशा र हीनताबोध सञ्चार भएको हुनुपर्छ । तर, स्थितिको सटीक विश्लेषण गरी मनोगत मूल्याङ्कनबाट उत्पन्न निराशालाई लेखकले तर्कपूर्ण चिन्तन र विश्लेषणबाट उत्साहमा परिणत गरिदिनुभएको छ । विश्व राजनीतिको घटनाक्रमले मानिसलाई निराश होइन सङ्घर्ष गर्न र प्रतिबद्ध हुन हौस्याएको छ ।
फोहर नभई सफाइको कुरा आउँदैन, शोषण नभई शोषणरहित समाजको कल्पना हुँदैन; अन्याय–अत्याचार नभई विद्रोह र क्रान्तिको कुरा उठ्ने गर्दैन । जे होस्, संसार प्रगति उन्मुख छ, मानव सभ्यता अनेक दोष र गल्तीबाटै नागबेली बाटो लिँदै परिमार्जित हुँदै एक परिष्कृत मानव समाजमा पदार्पण गर्दै छ । वर्तमान मानव समाज अन्ततः साम्यवादी समाजमै सङ्क्रमण हुनेछ चाहे त्यसको नाम जेसुकै देऔँ ।
जुम्लाका जस्ता व्यावसायिक स्कूलहरू जिल्ला–जिल्लामा स्थापित भइसक्नेछन् । त्यसमध्ये कति महाविद्यालय र पश्चिमाञ्चल विश्वविद्यालयको रूपमा विकास भइसक्नेछन् । सडक निर्माणले बाढी–पहिरोको सम्भावना भएको हुँदा मोटर बाटोको सट्टा रज्जुमार्गले जिल्ला र गाउँहरू जोडिने छन्, गाउँ–गाउँका स–साना खोल्सा र एक घट्टको पानी ढलले पनि स्थानीय विद्युत् उत्पादनमा योगदान पु¥याएको देख्नेछौँ ।
हवाईजहाजबाट बलौटे र खैरो देखिने नेपालको दक्षिणी नदीनालाको बगरको भाग पूरै हरियो हुनेछ, उत्तरका हाम्रा जिल्लाहरूमा रज्जुमार्ग र बिजुलीका तारहरूले मानव जीवनको सङ्केत दिनेछन् र हिमाली क्षेत्र पर्यटकहरूको गन्तव्य स्थलहरू बन्नेछन् । लुम्बिनी र जनकपुरजस्ता हाम्रा तीर्थस्थलहरू त धार्मिक र सांस्कृतिक पर्यटनको गन्तव्य क्षेत्रहरू बन्नेछन् । यी क्षेत्रहरूमा पुरातत्व, भाषा र संस्कृति तथा पर्यटनसम्बन्धी अध्ययन केन्द्रहरू बन्नेछन् । जिल्ला–जिल्लामा कृषिविद्यालय र महाविद्यालयहरूको विकास हुनेछन् । तराई क्षेत्रहरूमा आजको पूर्व–पश्चिम राजमार्ग जस्तै ट्रलीबस र विद्युत्ले चल्ने रेलहरू चल्नेछन् । पुस्तकमा यस्तै यस्ता प्रसङ्गहरू बग्रेल्ती छन् । के यो नेपालको विकासको निम्ति मार्गदर्शन होइन ?
देश जोगाउनुपर्छ र देश बनाउनुपर्छ भन्ने मान्यता नेमकिपाको हो । ‘मजदुर’ दैनिकले पनि त्यस्तै लेख र समाचार प्रकाशन गरिरहेको छ । देशभरि बिजुली बत्ती पु¥याउनुपर्छ; आवश्यक ठाउँमा रोपवे बनाउनुपर्छ† पर्याप्त विद्युत् उत्पादन गर्नुपर्छ भनी बारम्बार आवाज उठाउने नेमकिपा नै हो । शिशुशाला, शिशु स्याहार केन्द्र र आदर निकेतन खोल्नुपर्छ भन्ने माग पनि नेमकिपाको हो । के यो विकासको कुरा होइन ? एमालेका यी नेताहरूले कहिले कलेज, कहिले अस्पताल, कहिले ख्वप विश्वविद्यालय, कहिले आवास क्षेत्र त कहिले केको विरोध गरेर जनतामा भ्रम छर्ने काम गरिरहेका छन् । विकास सरकारले गर्ने कि सरकारमा नरहेको दलले ?
– अजीव दर्शनधारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *