भर्खरै :

चोभार गल्छीबारे सार्वजनिक सुनुवाइ सांसद र मेयर कार्यक्रम छोडेर जान बाध्य

चोभार गल्छीबारे सार्वजनिक सुनुवाइ सांसद र मेयर कार्यक्रम छोडेर जान बाध्य

कीर्तिपुर, १७ असार । कीर्तिपुर नगरपालिकाको आयोजनामा चोभार गल्छीको अवरोध हटाउन नेपाल सरकार गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्णयको विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम कीर्तिपुर नगरपालिका वडा नं. ६ परिसरमा भयो । आयोजक कीर्तिपुर नपाको तर्फबाट वडा नं. ६ का वडाध्यक्ष खिरमान सिं बस्नेतले वडामा वाग्मती सभ्यता एकीकृत विकास समितिको मागअनुसार पहिरो र खोला व्यवस्थापन गर्न सिफारिस गरेको स्वीकार्दै विषयवस्तुमाथि प्रकाश पार्नुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा समय नभएको भन्दै काठमाडौँ क्षेत्र १० का सांसद राजेन्द्रकुमार केसीले गल्छीको एक मुठी माटो पनि निकाल्न नदिने बताउनुभयो ।
कार्यक्रममा स्थानीय पञ्चलाल महर्जन, पत्रकार नजरराम महर्जनले गल्छीको अवरोध हटाउने नाममा प्राकृतिक सम्पदा म्हास्न पाइँदैन भनी जोड दिनुभयो ।
वाग्मती सभ्यता एकीकृत विकास समितिका ई. टोपबहादुर बानियाँले गल्छी क्षेत्रको प्राविधिक अध्ययनबारे बोल्नुभयो ।
१५ मिनेट नाराबाजीबिच कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले गल्छी संरक्षण गर्न हामी सबै लाग्नुपर्दछ भन्दै नपाको तर्फबाट गल्छी भत्काउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहभागीले विश्वास नभएको प्रतिबद्धता भनेर नाराबाजी गर्दा कार्यक्रम समाप्त भएको घोषणा भएको थियो ।
सार्वजनिक सुनुवाइमा सहभागीहरू कार्यक्रम सकाएको घोषणाविरुद्ध पनि नाराबाजी भइरहेपछि नगरपालिकाको सार्वजनिक सुनुवाइमा पुगेका सांसद केसी, मेयर, उपमेयर, वडाध्यक्षहरू कार्यक्रम स्थलबाट बाहिरिएका थिए ।
नेमकिपाका नारायण महर्जनले सार्वजनिक सुनुवाइमा जनगुनासो नसुन्ने आयोजक भन्दै जनताको जनसुनुवाइ कार्यक्रम त्यही सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा महर्जनले नेमकिपाद्वारा प्रकाशित विज्ञप्ति वाचन गरी प्राचीनतासहितको प्राकृतिक र सांस्कृतिक सम्पदा चोभार क्वेयना गणेशको न्हसिकाप संरक्षण गर्नुपर्नेमा जोड दिँदै न्हसिकापको अवरोध पन्छाउने नाउँमा प्राकृतिक सम्पदा नष्ट गर्न खोजेकोले विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले वाग्मती, कीर्तिपुर, ललितपुर र काठमाडौँ उपत्यकाको मात्र सभ्यता नभई देशकै प्राकृतिक र सांस्कृतिक सम्पदा जोगाउन सबै नेपाली जनता सचेत भई आन्दोलित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक अभियन्ता राजाराम तण्डुकार, रामभोला महर्जन, कृष्णबहादुर मग्राती, ज्ञानेन्द्र महर्जनले पनि गल्छी संरक्षण गर्नुपर्ने आवाज उठाउनुभयो ।
नेवा देय् दबु कीर्तिपुर, नेकपा एमाले कीर्तिपुर, जलविनायक सामुदायिक वन उपभोक्ता समितिको तर्फबाट बेल्लाबेग्लै प्रेस विज्ञप्तिमार्फत सरकारको निर्णयको विरोध गरिएको थियो ।
नेमकिपाका नारायण महर्जनले जनसुनुवाइमा सहभागी सबैलाई धन्यवाद दिँदै कार्यक्रम टुङ्ग्याउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *