भर्खरै :

“भक्तपुर नपाले मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै आएको छ”

“भक्तपुर नपाले मूर्त र अमूर्त सम्पदाको संरक्षण गर्दै आएको छ”

भक्तपुर, १७ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरको ६५ औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका लोपोन्मुख अवस्थामा रहेका मूर्त र अमूर्त सम्पदाहरूलाई भक्तपुर नपाले प्राथमिकताको आधारमा संरक्षण र संवद्र्धन गर्दै आएको बताउँदै राष्ट्रिय कला सङ्ग्रहालयले भक्तपुरको महत्वलाई अझ उँचो राख्ने काम गरेको बताउनुभयो ।
स्वदेशी र विदेशी पर्यटकको उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास भइरहेको भक्तपुरलाई रोम र संसारकै जीवित सङ्ग्रहालयको रूपमा व्याख्या गर्ने गरिएको उल्लेख गर्दै उहाँले दरबार क्षेत्रमा अवस्थित न्ह्यकं झ्या दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने विषयमा सहमति भइसकेको र केही प्राविधिक कारणले गर्दा उक्त दरबार पुनःनिर्माणमा ढिलाइ भएको बताउनुभयो ।
कृषि, जनजीवन र नेवारी संस्कृतिसम्बन्धी सङ्ग्रहालय जिल्ला जिल्लामा सञ्चालन गर्न नेपाल सरकारले जोड दिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपा दरबार क्षेत्रस्थित ९९ चोक उत्खनन् गर्ने पक्षमा रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भाषा, संस्कृति संरक्षण गरी जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले काम गरिरहेको स्पष्ट पार्दै उहाँले विद्यार्थीहरूलाई सम्पदाको महत्व अध्ययन अध्यापन गराउन स्थानीय पाठ्यक्रमको निर्माण गरी सबै विद्यालयमा लागु गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सङ्ग्रहालयको व्यवस्थापनमा पुरातत्व विभागले गरेका गतिविधिमाथि प्रस्ट पार्दै पुरातत्व विभागअन्तर्गत पर्ने सातवटा सङ्ग्रहालयमध्ये भक्तपुरको कला सङ्ग्रहालय विशेष महत्वको रहेको बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले भक्तपुर कला र संस्कृतिले भरिएको खुला सङ्ग्रहालय भएको बताउँदै यसको संरक्षण र संवद्र्धन तीन तहकै सरकारको साझा दायित्व हो भन्नुभयो । मल्लकालीन अवस्थादेखि रहेका सङ्ग्रहालयका कला कृतिहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लानु आवश्यक भएको बताउँदै उहाँले भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुर नगरपालिका र स्थानीय समुदायको ठुलो भूमिका रहेको बताउनुभयो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश श्रेष्ठले सङ्ग्रहालयले भक्तपुर नगरपालिकासँग सहकार्य गरी आगामी दिनमा अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा समीक्षा गर्नुपर्छ भन्नुभयो ।
भक्तपुरको कला सङ्ग्रहालय अन्य सङ्ग्रहालत्न्दा कलात्मक रहेको प्रकाश पार्दै बताउँदै उहाँले सङ्ग्रहालयले समाजको चित्रण गर्ने हुँदा अझ व्यवस्थित गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले सिंहध्वाका लाय्कूको दायाँ र बायाँमा अवस्थित राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरमा विश्वमै नभएका अतुल्य सम्पदाहरू रहेको बताउँदै नेपाल चिनाउने सम्पदा संरक्षणमा सबैको अग्रसरता आवश्यक भएको बताउनुभयो ।
राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरको इतिहास हेर्ने ऐना हो भन्दै उहाँले सङ्ग्रहालयले भक्तपुरको ऐतिहासिक महत्वलाई अझ उजागर गरेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरका प्रमुख जयन्ती श्रेष्ठले सङ्ग्रहालय स्थापनाको इतिहासबारे प्रस्ट पार्दै राष्ट्रिय कला सङ्ग्रहालय भक्तपुरमा हाल धातुकला, चित्रकला, प्रस्तरकला र काष्ठकलाका २१०० वटा कलात्मक वस्तु सङ्ग्रहित रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *