भर्खरै :

हनुमानघाट (खो¥ह) को वातावरण सुधार र संरक्षणको जिम्मा कसको हो ?

हनुमानघाट (खो¥ह) स्थित पाँचाख्योमा शनिबार वृक्षरोपण गरेको समाचार ‘मजदुर’ दैनिक मार्फत थाहा पाएँ । यो खुसीको खबर हो । निश्चय पनि वृक्षरोपणले वातावरण स्वच्छ र सुन्दर बनाउँछ । तर, सोही स्थानमा बरोबर टेलेफोन टार, टायर, प्लास्टिक बाल्ने कार्य केही दुव्र्यसनीमा लागेकाहरूले गरिरहेको चर्चा छ ।
वृक्षरोपणको अघिल्लो दिन शुक्रबार बिहानको स्वच्छ वातावरण, कञ्चन आकाशलाई धमिलो पार्ने कार्य केही व्यक्तिले त्यही गरे । हनुमानघाट (खो¥ह) स्थित हनुमन्तेपुलको उत्तरी बगरबाटो –(कोरिडोर) भई भेलुखेल पुल जाने बाटोको मुखैमा टायर बालेर प्रदूषण गरियो । स्थानीय केही सचेत व्यक्तिहरूले खोजी गर्दा टायर बाल्ने दुई केटालाई सम्झाए । उनीहरूले टायरमाथि टेलिफोन टार जलाएर त्यसभित्रको तामाको तार निकाली बेच्न लग्न खोजेको थाहा भयो । ती केटाहरूबाट तामाको तार खोस्न खोज्दा भाग्यो ।
स्थानीयहरूसँग बुझ्दा त्यही वरपरको घरमा कोठा लिएर बसेका दुव्र्यसनी केटाहरूले टायर बाली प्रदूषण गरेको रहेछ । यस्तो कार्य बरोबर हुने गरेको पनि स्थानीयबाट बुझियो । भक्तपुर नगरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक केन्द्रको रूपमा रहेको हनुमानघाट क्षेत्र र वरिपरि बरोबर प्रदूषित हुने गरेको छ ।
नेवार समुदाय र अन्य जातिको मसान (द्वीप) पनि त्यही छ । भक्तपुर नगरको एक महत्वपूर्ण तीर्थस्थलसमेत रहेको उक्त क्षेत्रमा मर्दापर्दा जाने–लग्नेहरू प्रदूषित हावामा रहनुपर्ने अवस्था छ । खो¥हमा हरेक पूर्णी, औँशी, च¥हे, एकादशी आदि महत्वपूर्ण दिनमा बिहानदेखि धर्मालम्बीहरूको घुइँचो लाग्ने गर्दछ । तर, त्यस्तो स्थानमा बरोबर हुने प्रदूषण, आपराधिक क्रियाकलाप, असभ्य, अशिष्ट, अनैतिक कार्य हुँदा त्यसको नियन्त्रण गर्ने, कारबाही गर्ने निकाय, संस्था वा व्यक्ति को ? के त्यसले भक्तपुर नगरको वातावरणलाई नोक्सान गर्दैन ? यसतर्फ सम्बन्धित तह र स्थानीय सचेत जनताको ध्यान जानु आवश्यक छ । यस्तै भक्तपुर नगरको विभिन्न स्थानमा हुने गलत घटना वा कार्यको नियन्त्रण गर्ने कार्य समयमै सम्बन्धित निकायबाट होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *