भर्खरै :

कार्यकर्ताहरूको सांस्कृतिक स्तर वृद्धि गर्न पार्टी प्रकाशनलाई जोड

कार्यकर्ताहरूको सांस्कृतिक स्तर वृद्धि गर्न पार्टी प्रकाशनलाई जोड

भक्तपुर, २० असार । नेपाल मजदुर किसान पार्टी भनपा २ वडा एकाइ समितिको आयोजनामा विसं २०२६ असार १९ गते र २०२५ साउन २ गतेको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा बिहीबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार हुने भएकोले सरकार परिवर्तन भए पनि जनताको जीवनस्तरमा परिवर्तन नहुने स्पष्ट पार्नुभयो ।
कम्युनिस्ट भनेको देशभक्त हुन्छ; शोषणको विरोध गर्छ† व्यक्तिगत स्वार्थभन्दा देश र जनताको हितमा काम गर्छ । नेपाली युवाहरूलाई विदेशमा नपठाई आफ्नै देशको विकास गर्न केन्द्रित गराउनुपर्छ, उहाँले भन्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष एवं विश्व सर्वहारावर्गका नेता माओ त्सेतुङले ८० हजार किताब अध्ययन गरेको जानकारी दिँदै सचिव सुवालले किसान–युवा–पार्टी कार्यकर्ता सबैले अध्ययनमा जोड दिनुपर्छ भन्नुभयो ।
पार्टीले पार्टी कार्यकर्ताहरूको सांस्कृतिकस्तर वृद्धि गर्न पार्टी प्रकाशनलाई निरन्तरता दिइरहेको सचिव सुवालले बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाले इमानदारीपूर्वक बहुमत जनताको सेवा गर्दै आएको उल्लेख गर्दै भ्रष्टाचारविरोधी आन्दोलनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
गणेशप्रसाद सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विश्वमोहन जोशी, सिद्धिराम र अजेन्द्रले पनि बोल्नुभएको थियो ।
त्यस्तै भ्रष्टाचारविरोधी दिवसको स्मरण नेमकिपा सानोव्यासी एकाइ समितिको आयोजनामा बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले बहुदल र गणतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री र मन्त्रीहरू पनि विभिन्न भ्रष्टाचार काण्डमा मुछिरहेको हुँदा भ्रष्टाचारविरोधी आन्दोलनको आवश्यकता अझै बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आ.व. २०८२/८३ को बजेट वक्तव्यमा वैदेशिक ऋण लिएर विकास निर्माण कार्यमा लगानी गर्ने सरकारी योजना छ । यस्ता योजनामा शासक पार्टीका नेताहरूको कमिसनको खेल लुकेको हुन्छ ।”
चोभारको गल्छीको ढुङ्गा फुटाउन सरकारले नेपाली सेनालाई बारुद पड्काउन दिने निर्णय गलत भएको स्पष्ट पार्दै सांसद सुवालले नेपालको सम्पदा र संस्कृति मास्ने तथा प्राकृतिक स्वरूप बिगार्ने कुचेस्ता सरकारले गरिरहेको हुँदा त्यसको विरोध गर्नुपर्ने बताउनुभयो ।
देशको सन्तुलित विकासको लागि बसाइँसराइँ नियन्त्रण गर्नुपर्छ । शिक्षा, स्वास्थ्य, खानेपानी तथा व्यवस्थित सहरी विकास सबै जिल्लामा गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
जनतामा सङ्घर्षशील भावना नभएसम्म जनताको जीवनस्तर नउठ्ने धारणा राख्दै उहाँले जनतालाई सचेत पार्ने काममा कार्यकर्ता लाग्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका कृष्णगोविन्द लाखाजूले भ्रष्टाचारविरूद्धको आन्दोलन दिवसको स्मरण गर्नु भनेको अनियमित काम गर्नेहरूलाई सतर्क गराउन र सोबारे वास्तविकता जनतालाई बताउनु हो भन्नुभयो ।
नेमकिपा २ नं. वडा समितिका अध्यक्ष रत्नकाजी नातरीले २०२६ असार १९ गते भ्रष्टाचारी मङ्गले चगुठीलाई उल्टो टोपी लगाएर जनताले सजायस्वरूप नगर घुमाएको घटनाबारे प्रस्ट पार्नुभयो ।
सरोज दथेपुथेको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णप्रसाद सुवाल र कृष्णगोविन्द सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *