भर्खरै :

शारदामा बधाई एवम् मार्गनिर्देशन सम्पन्न

शारदामा बधाई एवम् मार्गनिर्देशन सम्पन्न

भक्तपुर, २० असार । शारदा माध्यमिक विद्यालय भक्तपुरको आयोजनामा एसईई २०८१ मा सफल विद्यार्थीहरूको सम्मानमा बधाई एवम् मार्गनिर्देशन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका विद्यालय अनुगमन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले सफलता पाउन हरेकले मेहनत गर्नुपर्ने र सोही मेहनतबाट पाएको सफलताले मानिसलाई खुसी बनाउने बताउँदै आज विद्यार्थीले प्राप्त गरेको सफलतालाई अन्तिम सफलताको रूपमा बुझ्न नहुने बरु आगामी दिनको तयारीको रूपमा बुभ्mनुपर्ने बताउनुभयो ।
उहाँले जीवनको यात्रा लामो रहेको र हरेक यात्राको सफलता एवम् उपलब्धिको लागि मेहनत गर्दै जानुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीको सफलताको सूचकले जिम्मेवारी बढेको अर्थमा लिनुपर्ने बताउनुभयो । हिजोआज विद्यार्थीले के पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा त्यति चिन्तित हुन नपर्ने बरु सूचनाका स्रोतहरू धेरै भएकाले समयको सदुपयोग गर्दै त्यसको खोजी गर्नुपर्ने बताउँदै उहाँले कसैको लहलहैमा लाग्दा त्यसले भविष्य अन्धकार हुनसक्नेतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालय लामो समयदेखि नमुना विद्यालयको रूपमा स्थापित भएको र त्यसलाई जीवन्तता दिन विद्यालय परिवार लागिरहेकोमा खुसी व्यक्त गर्दै समग्र भक्तपुर नगरको शैक्षिकस्तर माथि उठाउन भक्तपुर नगरपालिका प्रयत्नरत रहेको बताउँदै हरेकले सिकेको ज्ञान र सीपलाई नयाँ पुस्ताको लागि प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले आजका विद्यार्थीहरू जुनसुुकै ठाउँमा पुग्दा पनि इमानदारीपूर्वक देश र समाजको सेवा गर्छु भन्ने भावना विकास गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले हिजोको कडा मेहनत र परिश्रमका कारण आज विद्यार्थीको मुहारमा चमक र मुस्कान आएको बताउँदै कसैले पनि दुःखमा आत्तिने र सुखमा मात्तिने गर्न नहुने बताउँदै हरेकपल विद्यार्थीहरू संवेदनशील भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । भिडको पछाडि लाग्दा लड्ने र खस्ने सम्भावना बलियो भएको हुनाले सोचविचारका साथ अगाडि पाइला राख्नुपर्ने बताउँदै उहाँले सीप भएको मानिस भविष्यसँग नडराउने हुनाले आप्mनो रुचिअनुसार सीप सिक्न पनि सुझाव दिनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् शिक्षाप्रेमी हिमालयश्वरलाल मूलले भक्तपुर नगरपालिका शैक्षिक उन्नतिको लागि दत्तचित्त भएर लागिरहेको सन्दर्भमा एसईई २०८१ को परिणामले उत्साह थपेको बताउनुभयो । परिश्रमी वा मेहनती व्यक्ति कहिल्यै भोको नहुने बताउँदै अतिथि मूलले भविष्यको चिन्ता गर्नेले शिक्षामा लगानी बढाउँछ भन्नुभयो । उहाँले जुन सरकारले शिक्षामा कम लगानी गर्छ त्यहाँ विकास पछि पर्ने धारणा राख्नुभयो ।
सभापतिको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईले मेहनतको फल मिठो हुने मात्र होइन बरु सफलताको साँचो पनि भएको बताउँदै विद्यार्थीहरूले आगामी दिनमा थप मेहनत गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षकहरू मञ्जु लागे, चनादेवी श्रेष्ठ, सोविता दाहाल, जानकी थापा र रूपा जोशीलगायतले विद्यार्थीहरूलाई बधाई एवम् मार्गनिर्देशन गर्नुभएको थियो भने विद्यार्थी प्रतिनिधि गंगा बस्नेतले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको तर्फबाट विद्यार्थीहरूलाई मायाको चिनो वितरण गरी विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *