भर्खरै :

अन्तर्राष्ट्रवादी महिला नेतृ क्लारा जेटकिन

अन्तर्राष्ट्रवादी महिला नेतृ क्लारा जेटकिन

सन्दर्भ : क्लारा जेटकिन जन्म दिवस
क्लारा जेटकिन (Clara Zetkin) जर्मनीका एक कम्युनिस्ट राजनीतिज्ञ, अत्यन्त चर्चित मजदुर महिला अधिकारवादी र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनका एक महत्वपूर्ण नेतृ हुन् ।
क्लारा ५ जुलाई १८५७ मा साक्सेन (Sachsen) को विडेराउ (Widerau) भन्ने ठाउँमा जन्मेकी थिइन् । उनका बुबा गोटफ्रीड इस्नेर (Gottfried Eissner) गाउँको विद्यालयका एक शिक्षक थिए र आमा जोसेफिन (Josephin) एर्जगोफिर्गे (Erzgefirge) को एउटा गाउँमा हुर्केकी थिइन् ।
सन् १८७४ मा १७ वर्षको उमेरदेखि नै क्लारा जेटकिनले महिला अधिकारवादी नेतृ अगष्टी स्मिदि (Auguste Schmidit) सँगसँगै लीपजिग (Lipzig) मा शिक्षिकाहरूको गोष्ठीमा भाग लिइन् । सन् १८७४ देखि १८७८ को बिचमा अर्थात् १५ देखि २१ वर्षको उमेरमा जर्मनीका महिला सङ्घको छलफल, अन्तरक्रिया र अन्य कार्यक्रमहरूमा भाग लिन थालिन् र पहिलो पटक तिनी सामाजिक–प्रजातन्त्रवादीहरू (Social Democrats) को सम्पर्कमा पुगिन् । त्यसैबेला उनको परिचय रुसी क्रान्तिकारी व्यक्ति ओसिप जेटकिन (Oscip Zetkin) सँग भएको थियो ।
सन् १८७८ मै सामाजिक मजदुर पार्टी (SAP) सँगको संलग्नताको कारण परिवारसहित उनी ब्रुच (Bruch) जान बाध्य भइन् ।
सन् १८७८ देखि १८८२ सम्म तिनले ४ वर्षसम्म अर्थात् २१ वर्षको उमेरदेखि २५ वर्षको उमेरसम्म साचसेन (Sachsen) र अष्ट्रिया (Austria) मा शिक्षिका (Zourness) को रूपमा काम गरिन् ।
सन् १८८२ मै क्लाराले स्वीट्जरल्यान्डको जुरिच (Zurich) मा सामाजिक प्रजातान्त्रिक (Social Democrat) पार्टीमा सामेल भएर काम गरिन् । त्यही वर्ष उनी नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा ओसिप जेटकिनसँग बस्न थालिन् । औपचारिकरूपले विवाहको निम्ति आवश्यक कागजपत्रको अभाव हुँदा आफ्नो नामको पछाडि ओसिप जेटकिन (Ossip Zetkin) को पारिवारिक नाम वा थर ‘जेटकिन’ राख्न थालिन् जेटकिन परिवारको दुईजना छोरा भए ।
सन् १८८९ मा शारीरिक अस्वस्थताका कारण ओसिप जेटकिनको मुत्यु भयो । पेरिसमै क्लारा आफैले दोस्रो अन्तर्राष्ट्रिय बैठकको आयोजना गरिन् । त्यस बैठकमा उनले महिला मजदुर आन्दोलनबारे एक प्रवचन दिइन् ।
त्यसपछि उनी पेसागत र सामाजिक क्षेत्रका महिलाहरूको समान हकको माग गर्दै वर्गसङ्घर्षसम्बन्धी विभिन्न गतिविधिमा लागिन् । त्यसबेला उनी भर्खर ३२ वर्षकी थिइन् ।
सन् १८९१ मा जर्मनीमा समाजवादी कानुन बन्यो र क्लारा जर्मनी फर्मेर स्टुटगार्ट (Stuttgart) मा बसाइँ सरिन् । एक वर्षपछि क्लाराले अर्थात् सन् १८९२ मा सामाजिक प्रजातान्त्रिक (Social Democratic) पार्टीको तर्फबाट समानता (Dil Gleichheit) भन्ने एक पत्रिका प्रकाशित गरिन् । सन् १८९५ मा उनी जर्मनी सामाजिक प्रजातान्त्रिक पार्टी (SPD) को वामपन्थी पक्षको केन्द्रीय समितिको सदस्य भइन् र स्टुटगार्टको किताब सिउनेहरूको सङ्घको सदस्य बन्न बन्देज थियो । तर, सन् १८९५ मा उनी त्यस युनियनको अस्थाई अन्तर्राष्ट्रिय सचिव बनिन् सन् १८९७ मा तिनले मोलर जोर्ज फ्रेडरिच जुन्ड (Moler Zeorg Frildrich Zundd) सँग दोस्रो विवाह गरिन् ।
सन् १९०७ मा स्टुटगार्टमा समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यस सम्मेलनले क्लारा जेटकिनलाई महिला सचिवालय वा हेडक्वार्टरको अध्यक्ष छान्यो । त्यसबेला उनी ५० वर्षकी थिइन् ।
सन् १९१० मा डेनमार्कको कोपनहेगन (Copenhegon Denmark) मा दोस्रो अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन भयो । त्यसमा क्लाराले अन्तर्राष्ट्रिय समाजवादी महिला दिवस मनाउने प्रस्ताव राखिन् ।
सन् १९१४ देखि १५ मा पहिलो विश्व युद्ध सुरु भयो । सामाजिक प्रजातान्त्रिक पार्टी (SPD) विस्तारै सामाजिक अन्धराष्ट्रवादमा फस्दै थियो । यसकारण, क्लारा जेटकिनले पार्टीको वामपन्थी धारको प्रतिनिधित्व गर्न अस्वीकार गरिन् । अन्तर्राष्ट्रिय समाजवादी महिला सङ्घको सचिवको हैसियतले उनले सन् १९१५ को मार्चमा समाजवादी महिला सम्मेलन (Socialist Womens Conference) को आयोजना गरिन् । त्यसकारण, क्लाराले ४ महिना जेल सजाय भोगिन् ।
अलेक्जेन्डर कोलोन्ताई (Alexandre Kollontai) सँग मिलेर क्लारा जेटकिनले मत दिन पाउँदैनथे । निश्चित सम्पत्ति र आम्दानी हुनेहरूले मात्र मतदानमा भाग लिन पाउँथे । उनी त्यस पक्षपाति मताधिकारको विरोधमा कसेर लागिन् ‘पुँजीवादी महिलावादी’ हकको विरोध गरिन् ।
सन् १९१६ तिर कार्ल काउत्स्की (Kautsky) ले अन्धराष्ट्रवाद र संशोधनवादको बाटो लिएको हुनाले क्लारा जेटकिन रोजा लक्जेम्वर्ग (Roza Luxemburg) सँग मिलेर वामपन्थी धारलाई नेतृत्व गरी संशोधनवादको विरोधमा सशक्त सङ्घर्ष गरिन् । लेनिनले ‘गद्दार काउत्स्की’ भन्ने एक रचनामार्फत उनलाई उदाङ्ग्याइदिनुभएको थियो ।
संशोधनवादीहरूसँग सङ्घर्ष गर्न सन् १९१६ तिर लक्जेम्वर्ग र लिब्ख्नेत (Liebknecht) ले स्पार्टाकसवादी (Spartacists) भन्ने रोमका एक दास विद्रोहका नेताको नाममा वामपन्थी सङ्गठन निर्माण गरे । क्लारा जेटकिन पनि त्यही सङ्गठनमा सामेल भइन् ।
पहिलो क्लारा ‘स्वतन्त्र सामाजिक प्रजातान्त्रिक पार्टी जर्मनी’ (Independent Social Democratic Party, Germany) को सह–संस्थापिका थिइन् र उनले ‘समानता’ (Dil Gleichheit) पत्रिका प्रकाशित गरिन् । राजनैतिक र सैद्धान्तिक मतभेदको कारण क्लाराले ‘समानता’ छोडिन् ।
सन् १९१८ मा कार्ल लिब्ख्नेत र रोजा लक्जेम्वर्गसँग सामेल भएर क्लारा जेटकिन जर्मनीको कम्युनिस्ट पार्टी (Kommunist Paric Daeutschlands – KPD) को संस्थापक भइन् ।
सन् १९२० मा उनी जर्मनी कम्युनिस्ट पार्टीको तर्फबाट माथिल्लो सदन राइख्स्टाग (Reichetag) को सदस्य भइन् । २ जुलाई १९२० मा जर्मनी कम्युनिस्ट पार्टीको प्रथम सांसदको नाताले उनले सोभियत सङ्घसँग ऐक्यबद्धताको माग गर्दै वक्तव्य दिइन् । त्यसैबेला तिनले सोभियत सङ्घको पहिलो यात्रा गरिन् । सोभियत सङ्घमा तिनले रुसी जनताका महान् नेता लेनिनसँग मित्रता गाँसिन् ।
उनी विभिन्न रोगबाट पीडित भएकी हुनाले उपचारको निम्ति कहिले सोभियत सङ्घ र कहिले जर्मनी जान थालिन् ।
सन् १९२१ देखि उनी ‘अन्तर्राष्ट्रिय महिला कम्युनिस्ट’ (Die Kommunistische Frauen International) भन्ने पत्रिकाको सञ्चालिका र अन्तर्राष्ट्रिय महिला सचिव भई कार्यरत रहिन् । उनी सन् १९२१ देखि कम्युनिस्ट अन्तर्राष्ट्रियको कार्यकारिणी समितिको सदस्य (Member of the Executive Committee of the Communist International)  थिइन् । तर, सन् १९२४ देखि नै उनी सोभियत सङ्घमा बस्न थालिन् सन् १९२५ मा उनले ‘अन्तर्राष्ट्रिय लाल सहयोग’ (Internationalen Rotein Helfe) संस्था स्थापना गरिन् र उनी त्यसको अध्यक्ष भइन् । सन् १९२७ मा उनी ७० वर्ष पुगिन् । उनको ७० औँ जन्म उत्सवको सुअवसरमा उनी विभिन्न साहित्यिक र अन्तर्राष्ट्रिय सम्मानले विभूषित भइन् ।
३० अगष्ट सन् १९३२ को दिन पूर्वअध्यक्षको नाताले नयाँ निर्वाचित माथिल्लो सदन (Reichetag) को उद्घाटन मन्तव्यमा क्लारा जेटकिनले पुँजीवादी समाज व्यवस्थाको सामूहिक प्रतिकारको लागि आह्वान र डरलाग्दो फासीवादी प्रवृत्तिविरुद्ध एक हुन वकालत गरेकी थिइन् ।
लामो समयसम्मको अस्वस्थतापछि २० जून १९३३ को दिन मस्कोको नजिक आर्चाबसकोज (Archangelskoje) भन्ने ठाउँमा उनको देहावसान भयो । उनको शवलाई मस्कोको क्रेमल्नौर (Kremlnaure) मा राखिएको छ ।
क्लारा जेटकिन अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र अन्तर्राष्ट्रिय महिला मजदुर आन्दोलनका एक उल्लेखनीय नेतृ हुन् । साँचो अर्थमा ‘एक मजदुर महिला आन्दोलनकी एक अग्रदूत र पुँजीवादी महिलावादी’ दृष्टिकोणको प्रखर आलोचक र विरोधी थिइन् ।
क्लारा जेटकिन (१८५७–१९३३) नव साम्राज्यवादको समयमा श्रमिकवर्गको एउटा नेतृ, समाजवादी महिला आन्दोलनको संस्थापक, सिद्धान्तकार र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्वको रूपमा स्थापित भइसक्नुभएको थियो । उहाँ १९ औँ शताब्दीको अन्ततिर आन्दोलनको नेतृत्वसँग विशेषगरी फ्रेडरिक एङ्गेल्स, यम लिब्टेस्ट, अगस्ट बेबेलसँग ज्यादै नजिक हुनुहुन्थ्यो । पछि रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेस्टसँग पनि नजिक हुनुभयो । जर्मनीमा कम्युनिस्ट पार्टीको स्थापना गर्न सहयोग गर्नुभयो । साथै क्लारा बोल्शेभिक पार्टीको दृढ समर्थक हुनुहुन्थ्यो र लेनिनसँग उहाँको मजबुत ऐक्यबद्धता थियो जसले उहाँलाई उच्चस्तरमा पु¥याउनुभयो ।
उहाँ सन् १८५७ मा सेक्सोनीको सानो बहेभर गाउँको क्यालेश इजिनेरमा जन्मनुभएको थियो । उहाँले माध्यमिक शिक्षामा कक्षामा सर्वाेत्कृष्ट गर्नुभए तापनि महिला भएको कारणबाट जर्मन विश्वविद्यालयमा भर्ना हुन पाउनुभएन न त उहाँको परिवारले उहाँलाई स्वीजरल्यान्ड पठाउन सक्नुहुन्थ्यो, जहाँ महिलाहरूलाई अध्ययन गर्नको लागि राम्रो वातावरण थियो । त्यसैले क्लाराले बच्चा हेर्ने काममा लाग्नुभयो ।
कानुनी दमन :
उहाँमा माक्र्सवादप्रति लगाव पहिले नै विकास भइसकेको थियो । महिलाहरूलाई कानुनीरूपमा राजनैतिक पार्टीहरूमा सहभागी हुन प्रतिबन्ध भए तापनि उहाँ सन् १८७८ मा जर्मन सामाजिक जनवादी पार्टीमा सामेल हुनुभयो । तर, कानुनीरूपमा सन् १९०८ मा मात्र जर्मनीको राजनैतिक पार्टीहरूमा महिलाहरूलाई राख्ने अनुमति भएको थियो । महिलाहरूलाई विवाह नहुँदासम्म अर्थात् जन्मघरमा रहँदा मतदानको अधिकारबाट समेत वञ्चित गरिन्थ्यो । महिलाहरूलाई दोस्रो दर्जाको नागरिकको रूपमा व्यवहार गरिने गरिन्थ्यो । महिलाहरूको सम्पूर्ण अधिकार पुरुषको हातमा हुन्थ्यो । घरभन्दा बाहिर काममा जानुपरेमा पुरुषसँग अनुमति लिनुपर्दथ्यो । सम्पत्तिको हर्ताकर्ता पुरुष नै हुन्थ्यो र विवाहबाट ल्याइएको सबै सम्पत्ति पुरुषले नै प्रयोग गर्दथे ।
सबैभन्दा बढी दमन श्रमिक महिलावर्गमाथि थियो । उसले दोहोरो दमनको सामना गर्नुपर्दथ्यो । एउटा वर्गीय र अर्काे लैङ्गिक तर श्रमिकवर्गको आन्दोलन चर्किँदै गइरहेको र यसले सफलता पनि हासिल गरिरहेको थियो । जसलाई विस्मार्कले समाजवादविरोधी कानुनद्वारा निर्मूल पार्न खोज्यो । जुन सन् १८७८ देखि १८९० सम्म लागु रह्यो । यो कानुनको सुरुवातसँगै सामाजिक जनवादी पार्टीमाथि बन्देज लगाइयो । त्यसपछि क्लारा निर्वासित भई पेरिस जानुभयो । त्यहाँ अर्का निर्वासित ओसिप जेटकिनसँग उहाँ अनौपचारिक सम्पर्कमा रहनुभयो ।
निर्वासनका कठिन दिनहरू :
जर्मन नागरिकता कायमै राख्न उहाँ अविवाहितरूपमा रहने निर्णय गर्नुभयो । ओसिप जेटकिनसँग दुईवटा बच्चा जन्माइसक्नुभएको भए तापनि उहाँले त्यस समयको पुरूषहरूको नियन्त्रणमा रहने विवाहको कानुनी मान्यतालाई त्याग्नुभयो । ओसिपको मृत्यु नहुँदासम्म उहाँहरूसँगै बस्नुभयो । तर, १० वर्ष पछाडि टी.वी. रोगबाट ओसिपको मृत्यु भयो । कठिनाइ र गरिबीबाट निर्वासनका वर्षहरू बिते । काम पाउन ज्यादै कठिन थियो । ओसिप बिरामी भएपछि र उनको मृत्युपश्चात् जीवन निर्वाहको लागि क्लारा आफैले कमाउनुपर्दथ्यो । उहाँको यस अनुभवले पुँजीवादलाई समाजवादले विस्थापन गर्नुपर्छ भन्ने उहाँको मान्यतालाई अझ मजबुत बनायो ।
पहिले नै क्लाराले महिलाहरूको बारेमा महिला सिद्धान्तकार र पार्टी नेतृको हैसियतले सम्मान पाइसक्नुभएको थियो । त्यसैले, सन् १८८९ मा पेरिसमा भएको दोस्रो अन्तर्राष्ट्रियको पहिलो भेलामा युरोपीय श्रमिक महिलाहरूको नीतिसम्बन्धी पहिलो कार्यपत्र प्रस्तुत गर्न चुनिनुभयो ।
उहाँले (पुँजीवादमा) श्रमिकहरूलाई पुँजी मानिएजस्तै महिलाहरूले आर्थिक स्वतन्त्रता प्राप्त नगर्दासम्म उनीहरू पुरूषहरूको दास हुन्छन् भन्ने पक्षमा वकालत गर्नुभयो । सर्वहारा महिलाहरूले पुरूषबाट स्वतन्त्रता पाए तापनि उनीहरूले मालिकमात्र परिवर्तन गर्दछन् । पहिले पुरुषको दास हुन्थे भनेपछि रोजगार प्रबन्धकको दास हुन्छन् । क्लाराले पुँजीवादको ध्वंस र समाजवादको उदयबिना नारीजातिको मुक्ति सम्भव छैन भनी घोषणा गर्नुभयो । पछिल्लो वर्ष विस्मार्कको समाजवादविरोधी कानुनलाई नवीकरण गर्न त्यहाँको संसद् रेइखस्टाग (Reichstag) ले अस्वीकार गरेको कारण क्लारा र अन्य कम्युनिस्टहरू जर्मनी फर्कन सफल भए ।
श्रमिक महिला आन्दोलन :
उहाँले सन् १८९२ देखि १९९६ सम्म ग्लेथिट (समानता) नामक महिलासम्बन्धी पाक्षिक पार्टी प्रकाशनको सम्पादन गर्नुभयो जसले महिलाहरूलाई कम्युनिस्ट आन्दोलनमा ल्याउने साधनको रूपमा काम गरेको थियो । उहाँले जर्मनीका श्रमिक महिलाहरूबिच उल्लेख्य साङ्गठनिक कामहरू गर्नुभयो । यो अन्तर्राष्ट्रिय स्तरमा नै उल्लेखनीय प्राप्ति थियो । जर्मन पार्टीमा २ र २ वर्षमा महिलाहरूको सम्मेलन गर्न, अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलन गर्न ती कार्यक्रमहरूले सहयोग गरे । जसले सम्मेलनहरूबिचमा महिलाहरूको कार्यक्रम गर्न महिला विभागको आन्तरिम केन्द्रको विकासमा सहयोग ग¥यो । उहाँले सन् १८१० मा अन्तर्राष्ट्रिय नारी दिवसको स्थापना गर्न महत्वपूर्ण भूमिका निभाउनुभयो । समग्रमा, महिला आन्दोलनको लागि उहाँले गर्नुभएका कार्यहरूले समाजवादी क्रान्तिको आवश्यकता र सो आन्दोलनको श्रमिक वर्गीय स्वरूपलाई अग्रपङ्क्तिमा राख्यो ।
उहाँ सन् १९१५ मा गठन भएको विद्रोही पार्टीको सदस्य हुनुहुन्थ्यो । जुन पार्टी जर्मन समाजवादी पार्टीले पहिलो विश्वयुद्धमा जर्मन साम्राज्यवादी सत्तासीन वर्गको पक्षमा उभिएर समाजवादी सिद्धान्तप्रति गरेको विश्वासघातको विरूद्धमा गठन भएको थियो । विद्रोहीहरूले नयाँ रूप दिन लागिपरेर सन् १८१८ डिसेम्बर ३० मा जर्मन कम्युनिस्ट पार्टीको स्थापना गरे स्थापनाको लगत्तै २ हप्तापछि यसका नेताहरू रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेच्टलाई पार्टीका अध्यक्ष तथा सामाजिक प्रजातान्त्रिक सरकार प्रमुख फ्रेडरिक अल्वर्टको आदेशमा हत्या गरिएकोले ठुलो धक्का सहनुप¥यो । पहिलो विश्व युद्धपछि प्रजातान्त्रिक समाजवादी श्रमिकवर्गको विश्वासघात र गद्दारीको पर्याय बन्यो ।
लेनिनसँगको कुराकानी :
सन् १९२० मा क्लाराले लेनिनसँग महिलाहरूबारे प्रसिद्ध कुराकानी गर्नुभयो, जहाँ लेनिन उहाँसँग एसिया र युरोपका महिलाहरूको अवस्था र महिलाहरूको समानताका लागि सर्वहारावादी सङ्घर्ष र आन्दोलनलाई अगाडि बढाउनुपर्ने आवश्यकताको बारेमा छलफल गर्नुभएको थियो । क्लाराले उक्त रङ्गिन र रोमाञ्चकारी कुराकानी लेनिनको संस्मरण नामक पुस्तकको रूपमा प्रकाशित गर्नुभयो । नयाँ जर्मन कम्युनिस्ट पार्टी तेस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियमा सहभागी भयो । उनीहरू शक्तिशाली भएर सांसदमा पनि निर्वाचित भए । क्लारा त्यहाँको संसद् रेइखस्टग (Reichstag) को कम्युनिस्ट सदस्यहरूमध्येको सु–प्रसिद्ध सदस्य हुनुहुन्थ्यो । उहाँ त्यसमा सन् १९२० देखि सन् १९३२ सम्म रहनुभयो ।
एउटा युगको अन्त :
क्लाराको मृत्यु सन् १९३३ मा नाजी सत्तासीन हुँदा भएको थियो । त्यस समयमा नाजीको मुख्य उद्देश्य कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने र कम्युनिस्ट पार्टीलाई निर्मूल पार्नु थियो । यसमा नाजी सफल भयो र दोस्रो विश्वयुद्ध नहुँदासम्म जर्मन कम्युनिस्ट पार्टीको पुनर्निर्माण हुन सकेन ।
मानव मुक्तिको लागि समर्पित क्लाराको जीवनको अन्त त्यसबेला भयो जुन समय जर्मन इतिहासले अँध्यारोमा प्रवेश गरेको थियो । महान् क्रान्तिकारी आन्दोलनमा उहाँ महान् व्यक्तित्व हुनुहुन्थ्यो । व्यक्तिगतरूपमा उहाँले कठिनाइ र खतराको मुकाबिला गर्नु परे तापनि अन्तर्राट्रिय साम्यवादी विचारबाट विचलित हुनुभएन । अङ्गे्रजी विश्व इतिहासकार र जीवनीकारहरूले बेवास्ता गरे तापनि उहाँ निसङ्कोचरूपमा विराङ्गना हुनुहुन्थ्यो जसको विश्व दृष्टिकोण र जीवनको अध्ययन गर्नु जरुरी छ ।
साभार : विश्वका क्रान्तिकारी महिलाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *