भर्खरै :

विदेशी सम्बन्धनमा चलेका विद्यालय र कलेजहरू बन्द गर्नुपर्ने

विदेशी सम्बन्धनमा चलेका विद्यालय र कलेजहरू बन्द गर्नुपर्ने

काठमाडौँ, २१ असार । नेपालमा अमेरिका, बेलायत, भारत, फ्रान्सलगायत विभिन्न विदेशी सरकारको सम्बन्धनमा थुप्रै विद्यालयहरू खोलिएका छन् । काठमाडौँलगायत देशका महत्वपूर्ण सहरहरूमा खोलिएका ती विद्यालयहरूमा हाल ५० हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेको शिक्षा मन्त्रालयका पदाधिकारीहरू बताउँछन् । विदेशी कूटनीतिक नियोगका पदाधिकारी र अन्य विदेशीका सन्तानहरूलाई पढाउने उद्देश्यले स्थापना गरिएका त्यस्ता २१ वटा विद्यालयले नेपाली विद्यार्थीलाई पनि पढाउँदै आएका छन् । त्यस्ता विद्यालयमा केही समय अघिसम्म शिक्षा मन्त्रालयका पदाधिकारीहरूलाई समेत प्रवेश गर्न रोक लगाएको स्वयम् मन्त्रालयका पदाधिकारीहरूको भनाइ छ ।
विदेशी सम्बन्धन प्राप्त विद्यालयमा अत्यन्त महँगो शुल्क मात्रै होइन विदेशीकै कोर्स पढाइ हुन्छ । ती विद्यालयमा नेपालको इतिहास, सामाजिक र राजनीतिक विषय होइन, जुन देशको सम्बन्धनमा विद्यालय चलेको छ, त्यही देशले निर्धारण गरेका पाठ्यपुस्तक पढाउने गरिन्छ । त्यहाँ पढ्ने विद्यार्थीहरूले विदेश बुझ्छन् तर नेपाल बुझ्दैनन् । नेपालको निम्ति त्यहाँ उत्पादित जनशक्ति काम लाग्दैन ।
नेपाली भूमिमा विदेशी पाठ्यक्रम पढाउने विद्यालय राख्नुहुन्न भन्ने आवाज धेरै अगाडिदेखि उठ्दै आएको हो । विदेशी पाठ्यक्रम पढेका विद्यार्थीहरू नेपालमा बस्नै चाहँदैनन् । उनीहरू नेपालमा बसेर पनि काम गर्न सक्दैनन् । विदेश नै उनीहरूको गन्तव्य मुलुक बन्छ । ती विद्यार्थीहरूको तर्फबाट मात्रै देशको अरबौँ रुपैयाँ बिदेसिने गरेको छ ।
नेपाल सरकारले शिक्षा विधेयकमाथि छलफलको क्रममा यही वर्षदेखि विदेशी सम्बन्धनमा चलेका विद्यालयहरूमा नेपाली विद्यार्थीहरूको भर्नामा रोक लगाउने शिक्षामन्त्री रघुजी पन्तले मन्त्रालयको लिखित धारणा राखेको समाचार सार्वजनिक भएको छ (१२ असार नागरिक) । यदि यो विषयलाई शिक्षा ऐनले समेट्न सक्यो भने शिक्षा क्षेत्रमा एउटा महत्वपूर्ण कदम हुनेछ । के विदेशीको इसारामा चल्ने सरकारले यो विषयलाई सजिलै पारित गर्नसक्ला ? यो प्रश्नको जवाफ पाउन भने केही समय धैर्य गर्नैपर्नेछ ।
शिक्षा विधेयक अझै पारित भएको छैन । नेपालमा संसद्बाट पारित भएर राजपत्रमा प्रकाशित नभएसम्म यकिन भन्न सकिँदैन । नेपालको भूमिमा विदेशी पाठ्यक्रम पढाउन स्वीकृति दिनु नै गलत थियो । त्यसलाई कुनै पनि हालतमा रोक्नुपथ्र्यो । यस्तो विषय रोक्न सकिएन भने शिक्षाको जिम्मेवारी लिएर बसेका मन्त्री, सचिव र अन्य पदाधिकारीहरूको योग्यता, क्षमता र नैतिकतामाथि गम्भीर प्रश्न उठ्नेछ ।
विदेशी सम्बन्धन प्राप्त कलेजहरू किन बन्द नगर्ने ?
विद्यालयसँगै विदेशी सम्बधनमा चलेका सबै कलेजहरू पनि बन्द गरिनुपर्छ । अहिले सरकारी मापदण्ड नै पूरा नगरी विदेशी विश्वविद्यालयबाट सम्बधन लिएर धेरै कलेजहरू सञ्चालनमा छन् । पूर्वशिक्षामन्त्री विद्या भट्टराईका अनुसार नेपालमा ५९ वटा कलेजहरूमध्ये मापदण्ड पूरा गरेका जम्मा १४ वटा मात्र छन् । विद्यालयसँगै अब विदेशी सम्बन्धन प्राप्त कलेजहरू पनि बन्द गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ ।
नेपालमा कक्षा १२ उत्तीर्ण भएपछि अधिकांश विद्यार्थीहरूले उच्च शिक्षाको लागि विदेश रोज्ने गर्छन् अथवा नेपालमै रहेका विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना भएर पढ्ने गर्छन् ।
नेपाली विद्यार्थीहरू विदेश पढ्न गएर मात्र होइन अब विदेशीहरू नेपालमै कलेजहरू खोलेर वार्षिक नेपालको अरबौँ रुपैयाँ शिक्षाको नाउँमा विदेश लग्दै छन् । शिक्षालाई विभिन्न देशले नेपालमा ठुलो व्यापार गरिरहेका छन् । यसबारे हाम्रा नेता मन्त्रीहरूले ध्यान दिनुपर्ने होइन र ?
नेपाली विद्यार्थी बिदेसिएका कारण मात्र होइन विदेशी सम्बन्धन प्राप्त कलेजहरूमा हजारौँको सङ्ख्यामा भर्ना हुने गरेको कारण पनि त्रिवि र अन्य विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालन भइरहेका कलेजहरूमा विद्यार्थीहरू न्यून हुँदै छन् । ५०० वटा भन्दा बढी कलेजहरू १०० भन्दा कम विद्यार्थी भएको कारण बन्द हुने अवस्थामा पुगेका छन् ।
त्यहाँ अध्ययन गरेका विद्यार्थीहरू नेपालमा बस्दैनन् । नेपालमै विदेशीहरू आफ्नो देशका लागि आवश्यक शिक्षित जनशक्ति तयार गर्ने गर्छन् र ती कलेजहरूले नेपाली युवाहरू विदेश पठाउने अघोषित म्यान पावर कम्पनीहरूको रूपमा काम गर्दै छन् ।
शिक्षा मन्त्रालयले नेपालमा पढाइ हुने विषयहरू उच्च शिक्षा पढ्न कुनै पनि देशमा जान अनुमति बन्द गर्नुपर्छ । यसले नेपाली विद्यार्थीहरू नेपालमै पढ्ने वातावरण बन्नेछ र कलेजहरूले विद्यार्थी भर्ना पाउनेछन् । विद्यार्थी भर्ना भएसँगै कलेजहरूमा हजारौँ शिक्षित युवाहरूले रोजगारी पाउनेछन् । विदेश पढ्न जाने विद्यार्थीहरूका कारण वर्षको खरबौँ रुपैयाँ बिदेसिने गरेको तथ्याङ्क छ । आ.व. २०८१÷८२ को साउनदेखि फागुनसम्म ८ महिनामा विदेशमा उच्च शिक्षा अध्ययनको लागि अनुमति लिएको र उनीहरूबाट मात्र १ खर्ब ३ अर्ब ६४ करोड बिदेसिएको थियो भने गत वर्ष २०८०।८१ मा १ लाख १३ हजार विदेश पढ्न जाने विद्यार्थीबाट १ खर्ब २५ अर्ब बढी पैसा बिदेसिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
विद्यालय होस् या कलेज विदेशी सम्बधनमा चलेका शैक्षिक संस्थाहरूमा रोक लगाउनु आवश्यक छ । यसबाट नेपालको वर्षको अर्बौँ रुपैयाँ बिदेसिनबाट जोगिनेमात्र होइन नेपालको युवा जनशक्ति विदेश पलायन हुनबाट पनि जोगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *