क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
(हारारेमा सम्पन्न भएको असंलग्न राष्ट्रहरूको आठौँ शिखर सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति किम इल सङले सन् १९८६ को जून २० का दिन कोरियाली मजदुर पार्टीको केन्द्रीय समितिको पोलिटब्युरो र प्रजग कोरियाको केन्द्रीय जन–समितिको संयुक्त बैठकमा त्यसबेलाको अन्तर्राष्ट्रिय परिस्थिति र असंलग्न आन्दोलनहरूलाई अरु बढी सशक्तरूपमा अगाडि बढाउन असंलग्न राष्ट्रहरूले अपनाउनुपर्ने बाटो आदि विषयमा ज्यादै गहिरो विश्लेषण गरी एउटा सारगर्भित भाषण दिनुभयो । त्यसबेलाको परिस्थिति र हालको परिस्थितिमा केही अन्तर आए तापनि असंलग्न आन्दोलनलाई नयाँ जीवन सञ्चार गर्न उहाँले आफ्नो भाषणमा प्रस्तुत गर्नुभएका कुराहरू आज पनि अत्यन्त लाभदायक एवम् सान्दर्भिक छन् । किम इल सङको यो भाषणलाई नेपाल–कोरिया मैत्री सङ्घ काठमाडौँले सन् २००० मा ‘असंलग्न आन्दोलनको विकासको निम्ति’ शीर्षकमा पुस्तिका प्रकाशित गरिएको थियो ।)
आजको अन्तर्राष्ट्रिय परिस्थिति ज्यादै जटिल र तनावग्रस्त छ ।
हाम्रो समयको मुख्य प्रवृत्ति सदाझैँ स्वाधीनता र सार्वभौमिकता, शान्ति र प्रगतिको बाटोमा अगाडि बढ्नु हो । तर, प्रभुत्व र दमन, युद्ध र विनाशको एउटा प्रतिकूल प्रवाह पनि रहेको छ ।
विश्वका धेरै भागहरूमा मुलुकहरू एवं राष्ट्रहरूको सार्वभौमिकतामाथि कुल्चँदै तथा शान्ति र सुरक्षालाई ध्वस्त पार्दै आक्रमण र सङ्घर्षका कृत्यहरू बारम्बार घटिरहेका छन् । जनताको अस्तित्वलाई नै सङ्कटमा पार्दै सामाजिक र आर्थिक गतिहीनता, विपत्ति र अस्थिरता रहिरहेका छन् । जनता शान्ति चाहन्छन्, तर अन्तर्राष्ट्रिय तनाव दिनहुँ बढ्दै छ, युद्धको खतरा बढ्दो छ र अन्तर्राष्ट्रिय समुदायमा विभिन्न प्रचण्ड र जटिल समस्याहरू एकपछि अर्को गरी उत्पन्न भइरहेका छन् ।
विश्वभरिका प्रगतिशील जनताको सामूहिक इच्छाविपरीत यो परिस्थिति आक्रमण र लुटको लागि चर्काइएको साम्राज्यवादी कुटिल चालबाजीको कारणले विकसित भएको हो ।
आक्रमण र लुट साम्राज्यवादका अन्तर्निहित पक्षहरू हुन् र साम्राज्यवाद तिनीहरूमै मौलाउँछ ।
साम्राज्यवाद आक्रमण र लुटको उपज हो र निरन्तर आक्रमण र लुटद्वारा नै यो मोटाउँदै छ । साम्राज्यवादको आविर्भावदेखि नै मानवजातिले प्रत्यावर्ती आक्रमण र युद्धका विपत्तिहरू भोग्नुपरेको छ र असीम धन–सम्पत्तिको राशि र श्रमको फलबाट वञ्चित रहनुपरेको छ ।
जसै एकाधिकार पुँजीको वृद्धि हुन्छ आक्रमण र लुटका यसका पञ्जाहरू समुद्रपारसम्म फैलिन्छ । यो पुँजीवादको अवश्यम्भावी परिणाम र नियम हो ।
साम्राज्यवादको उन्मत्त महत्वाकाङ्क्षा र लालचको सीमा नै छैन । यो जति मोटाउँदै जान्छ र यसको पेट भरिँदै जान्छ, साम्राज्यवाद त्यत्तिकै बढी महत्वाकाङ्क्षी र लालची बन्छ र आक्रमण र लुटका यसका कृत्यहरू त्यत्तिकै दुराग्रही र हिंस्रक बन्दै जान्छन् ।
समयको गतिसँगै यसको आक्रमण र लुटको तरीका बदलेको छ । आज साम्राज्यवादीहरूले अन्य मुलुकहरूमा धावा बोल्न, आधिपत्य जमाउन र लुट्न मुख्यतया नव–उपनिवेशनवादलाई प्रयोग गरिरहेका छन् ।
दोस्रो विश्वयुद्धपश्चात् साम्राज्यवादी उपनिवेशिक व्यवस्था जीर्ण भयो र अधिकांश एशियाली, अफ्रिकी तथा ल्याटिन अमेरिकी मुलुकहरूका जनता उपनिवेशवादको गुलामीलाई फालेर स्वतन्त्र विकासको बाटोमा अग्रसर भए । यो नयाँ युगमा साम्राज्यवादी औपनिवेशिक शासनको पुरानो तरीका काम लाग्ने भएन । साम्राज्यवादीहरूका बिच सहबन्धको गठन बेगर साम्राज्यवादलाई आफ्नो स्थिति जोगाउन र अरु मुलुकहरूमा प्रभुत्व जमाउन र लुट मच्चाउन असम्भव भयो । दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्राज्यवादको नेतृत्वमा एक संयुक्त शक्तिमा पुनः आवद्ध भई आधुनिक साम्राज्यवादले कम स्पष्ट र बढी धूर्त नवउपनिवेशनवादको माध्यमद्वारा नव–स्वाधीन मुलुकहरू र विकासशील राष्ट्रहरूमा प्रभुत्व जमाउन र लुट मच्चाउन लागिरहेको छ ।
कथित ‘अनुदान’ र ‘सहयोग’ को नवउपनिवेशिक जालोमा अधिकांश विकासशील देशहरूलाई फसाई साम्राज्यवादीहरूले अहिले यी मुलुकहरूका आर्थिक जीवन रेखाहरूमा अधिकार जमाई तिनीहरूलाई कच्चा पदार्थहरूको लागि आफ्ना स्रोत र आफ्ना उत्पादित वस्तुहरूका बजार बनाई तिनीहरूवाट अथाह मुनाफा अप्ठ्याएर आफूहरू समृद्धशाली भएका छन् । साम्राज्यवादीहरूको दासीकरणको नव–उपनिवेशिक नीति र विकासशील देशहरूमाथि लादिएको पुरानो, पक्षपाती अन्तर्राष्ट्रिय आर्थिक पद्धतिको कारणले अधिकांश असंलग्न मुलुकहरू र विकासशील राष्ट्रहरूले आफूहरूले प्राप्त गरेको राजनैतिक स्वाधीनताको बाबजुद स्वाधीनतापूर्ण विकास र समुन्नति प्राप्त गर्न सकेका छैनन् र आफ्नो जनतालाई भोक र गरिबीबाट मुक्ति दिलाउन सकेका छैनन् । समय जति बित्दै जान्छ, पश्चिमी साम्राज्यवादी शक्तिहरू र विकासशील मुलुकहरूको बिच सम्पन्नताको अन्तर बढ्दै गइरहेको छ । धनी मुलुकहरू झन् धनी बन्ने र गरिब देश झन् गरिब हुने प्रवृत्ति विश्वव्यापीरूपमा अझ बढी स्पष्टसित प्रकट भएको छ ।
साम्राज्यवादीहरूले एकाधिकारहरूको अतृप्त लालच मेट्न समुद्रपारको विस्तरणमा लाग्न र विश्वमा आधिपत्य जमाउने आफ्नो अनियन्त्रित स्वप्न साकार पार्न आफ्ना अर्थतन्त्रलाई सैनिकीकरण गर्दै आक्रमण र युद्धसम्बन्धी आफ्ना कुटिल चालहरू बढाउँदै छन् ।
साम्राज्यवादीहरूले असंलग्न मुलुकहरू र अन्य नवोदित राष्ट्रहरूमाथि आफ्नो आक्रमणको निशाना तेर्साइरहेका छन् ।
अमेरिकी र अन्य साम्राज्यवादीहरू असंलग्न र विकासशील देशहरूविरुद्ध निरन्तररूपमा सशस्त्र हस्तक्षेप, तोडफोड र विध्वंसात्मक कार्यहरू सञ्चालन गर्नमा लागेका छन् । साम्राज्यवादीहरूले आफ्नो उपनिवेशिक शासनको परिणाम स्वरूप उब्जेका सीमा विवादहरू तथा विविध अन्य जटिल मुद्दाहरूबाट फाइदा उठाई यी मुलुकहरूबिच दुश्मनी र विरोधलाई प्रोत्साहित गर्दै उनीहरूलाई लडाउने प्रयत्नमा संलग्न रही उक्त परिस्थितिबाट लाभ लिन तिनीहरूका बिचमा फाटो ल्याइरहेका छन् । असंलग्न तथा विकासशील देशहरूविरुद्ध आफ्ना आक्रमणशील योजनाहरू कार्यान्वित गर्न साम्राज्यवादीहरूले आफूहरूले प्रशिक्षित र सघाएका इसराएली सियोनहरू, दक्षिण अफ्रिकी जातिवादीहरू तथा अन्य कठपुतलीहरूलाई आकस्मिक दस्ताहरूको रूपमा बारम्बार प्रयोग गर्छन् ।
साम्राज्यवादीहरूका यी क्रियाकलापहरूका कारण असंलग्न तथा विकासशील देशका जनताले भयङ्कर पीडा भोग्दै नयाँ समाज निर्माण गर्ने क्रममा धेरै अवरोध एवं बाधाहरूसित जुध्दै छन् ।
साम्राज्यवादीहरू प्रमुख आक्रमणकारी एवं लुटेराहरू, विश्व शान्ति र सुरक्षाका ध्वंसकहरू र सामाजिक प्रगतिका सबभन्दा ठुला बाधकहरू हुन् भन्ने कुरा यी तथ्यहरूले दर्शाउँछ ।
साम्राज्यवादविरुद्ध र एक स्वाधीन विश्वको लागि सङ्घर्ष गर्नु हाम्रो समयको टड्कारो आवश्यकता भएको छ ।
असंलग्न आन्दोलन वास्तवमा साम्राज्यवादविरुद्ध स्वाधीनताको लागि सञ्चालित आन्दोलन हो । साम्राज्यवादविरुद्ध र स्वाधीनताको लागि सञ्चालित सङ्घर्षद्वारा मात्र यसले आफ्नो महान् उद्देश्य प्राप्त गर्न र आफ्नो आदर्शलाई साकार पार्न सक्छ । यो सङ्घर्षलाई तीव्र पार्नु विश्व शान्ति र सुरक्षाको जगेर्ना गर्ने, जनताका स्वार्थ र तिनीहरूको स्वाधीनताको अधिकारलाई रक्षा गर्ने, राष्ट्रिय स्वतन्त्रतालाई सुदृढ पार्ने र सामाजिक प्रगति सम्पन्न गर्ने बाटो हो ।
असंलग्न मुलुकहरूका जनसमुदायहरू र विश्वभरिका सबै प्रगतिशील जनताले एक आपसमा सशक्तरूपले एकताबद्ध भई साम्राज्यवादविरुद्ध स्वाधीनताको लागि एउटा शक्तिशाली सङ्घर्ष विकास गर्नुपर्छ ।
प्रथमतः, तिनीहरूले विश्वव्यापीरूपमा साम्राज्यवादविरोधी एउटा साझा मोर्चा गठन गर्नुपर्छ र साम्राज्यवादविरुद्धको सङ्घर्षलाई चर्काउनुपर्छ ।
साम्राज्यवाद असंलग्न राष्ट्रका जनता र विश्वभरिका प्रगतिशील जनताको साझा शत्रु हो । सहबद्ध साम्राज्यवादी शक्तिले जनताको स्वाधीनता, शान्ति र सामाजिक प्रगतिको न्यायोचित चाहनालाई हाँक दिइरहेको छ । साम्राज्यवादको आक्रमण र हस्तक्षेपको धम्कीबाट दुनियाँको कुनै पनि मुलुक मुक्त छैन ।
एकताबद्ध प्रयासले मात्र जनताले सहबद्ध साम्राज्यवादी शक्तिलाई विरोध र परास्त गर्न सक्छ । अन्य कुनै कुराभन्दा साम्राज्यवादविरोधी शक्तिको रूपमा एकताबद्ध विश्वका प्रगतिशील जनता नै साम्राज्यवादीहरूको लागि भयको कारण बनेको छ । जनताको संयुक्त शक्ति अजेय छ ।
असंलग्न राष्ट्रका जनता र विश्वभरिका प्रगतिशील जनताले साम्राज्यवादविरोधी सङ्घर्षका पङ्क्तिहरूभित्र एउटा घनिष्ट साझा सङ्घ गठन गरी स्वाधीनता, शान्ति तथा सामाजिक प्रगति जस्ता उनीहरूको साझा उद्देश्य पूरा गर्न संयुक्त कारबाही सञ्चालन गर्नुपर्छ ।
दोस्रो, तिनीहरूले सार्वभौमिकताको लागि दृढतापूर्वक र राजनीति, रक्षा, अर्थतन्त्र, विचारधारा एवं संस्कृतिको प्रत्येक क्षेत्रमा पूर्णरूपले साम्राज्यवादविरुद्ध लड्नुपर्छ ।
साम्रायवादीहरू विभिन्न क्षेत्रहरूमा हर सम्भव उपायद्वारा अरु मुलुकहरूमाथि आक्रमण गर्न र अधिपत्य जमाउन लागिपरिरहेका छन् । सैनिक शक्ति एवं अन्य दुष्टतापूर्ण गुप्त तरीकाहरूको आश्रय लिई तिनीहरूले अरु मुलुकहरूमाथि आक्रमण गर्न र तिनीहरूमाथि राजनैतिक प्रभुत्व स्थापित गर्न खोजिरहेका छन् । फाल्तु मालहरू, अन्यायपूर्ण आर्थिक सम्बन्ध, पतित पश्चिमी संस्कृति एवं बुर्जुवा जीवनपद्धतिद्वारा तिनीहरूले ती मुलुकलाई आर्थिक रूपले दमन गर्ने तथा वैचारिक एवं सांस्कृतिक तवरले घुसपैठ गर्ने षड्यन्त्र गरिरहेका छन् ।
असंलग्न राष्ट्रहरू र सबै प्रगतिशील मुलुकहरूले साम्राज्यवादीहरूका देखिने आक्रमक चालहरूप्रति मात्र नभई विभिन्न रूप लिने तिनीहरूका गोप्य चालहरू एवं कपटपूर्ण दाउपेचहरूप्रति समेत सतर्कता बढाउनुपर्छ । तिनीहरूले प्रत्येक कदममा तिनीहरूलाई विफल बनाइ दिनुपर्छ ।
साम्राज्यवादविरोधी सङ्घर्षलाई सबै क्षेत्रहरूमा पूर्णरूपले सञ्चालन गर्नेमात्र नभई यसलाई दृढतापूर्वक अन्तिम बिन्दुसम्म पु¥याउनुपर्छ ।
साम्राज्यवादविरोधी सङ्घर्षलाई एक क्षणको लागि पनि स्थगित गर्नु वा कमजोर पार्नु हुँदैन । आन्दोलनलाई स्थगित गर्नुको अर्थ पछि हट्नु हो र पछि हट्नाले पराजयको परिणाम भोग्नुपर्ने हुन्छ । शत्रुलाई सास फेर्ने अवसरसमेत नदिई साम्राज्यवादविरोधी आन्दोलनलाई तीव्रता साथ निरन्तररूपमा अगाडि बढाइनुपर्छ । अन्तिम विजय हासिल नहुञ्जेलसम्म यसलाई निरन्तरता दिनुपर्छ ।
तेस्रो, सम्पूर्ण विश्वलाई स्वाधीन बनाउन हामीले सक्रियतापूर्वक लड्नुपर्छ ।
आफ्नो भाग्य आफ्नै हातमा लिएका जनता सबै प्रकारका प्रभुत्व एवं दमनको सामना गर्दै स्वाधीनताको बाटोमा अगाडि बढिरहेका छन् । यो नै हाम्रो समाजको मुख्य प्रवृत्ति हो । विश्वव्यापी स्वाधीनताको लागि गरिने आन्दोलन नै छाजुसङको वकालत गर्ने सबै मुलुकका जनताको साझा उद्देश्य हो ।
सबै प्रकारका उपनिवेशवादलाई पूर्णतया निर्मूल पारिएको र सबै मुलुक एवं राष्ट्रहरूलाई पूर्ण सार्वभौमिकता प्रदान गरिएको विश्व नै एक स्वतन्त्र विश्व हुन्छ ।
सम्पूर्ण विश्व स्वतन्त्र भएको अवस्थामा मात्र प्रभुत्व एवं दमनको गुलामीलाई फ्याँकेर स्वतन्त्र एवं सुखी जीवन बिताउन सकिने गरी पृथ्वीमा सबै जनताले एक नयाँ समृद्धशाली समाज निर्माण गर्न सक्छन् र आक्रमण एवं युद्धलाई मिटाई मानव जाति शान्तिपूर्वक बाँच्न सक्ने एउटा नयाँ संसारको सृजना तिनीहरूले गर्नसक्छन् ।
विश्वव्यापी स्वतन्त्रताको लागि सञ्चालित आन्दोलन साम्राज्यवादविरोधी शक्तिहरू र साम्राज्यवादी प्रभुत्वका शक्तिहरूबिचको एक निर्णायक बल परीक्षा हो ।
असंलग्न राष्ट्रहरू तथा छाजुसङको वकालात गर्ने अन्य सबै मुलुकहरूका जनता विश्वव्यापी स्वतन्त्रताको लागि लड्नुपर्छ ।
Leave a Reply