भर्खरै :

सहकारी पीडितको बचत रकम सञ्चालकहरूकै जायजेथा लिलाम बिक्री गरी असुलउपर गर्नुपर्ने

सहकारी पीडितको बचत रकम सञ्चालकहरूकै जायजेथा लिलाम बिक्री गरी असुलउपर गर्नुपर्ने

नेपालको समस्याग्रस्त २२ वटा सहकारीमा हालसम्म ३८ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ । जसमध्ये ३ अर्ब ७१ करोड ६६ लाख रुपैयाँ बराबरको मात्रै बचत फिर्ता भयो । ४ वटा सहकारीको हिसाब राफसाफ भएको र १९ सहकारीको ३४ अर्ब ७१ करोड बचत फिर्ता गर्न बाँकी रहेको समाचार छ ।
समस्याग्रस्त घोषणा भई व्यवस्थापनको लागि आएका सहकारीबाट उठ्न बाँकी ऋण तथा सम्पत्तिको मूल्याङ्कन गर्दा ४० देखि ५७ प्रतिशतसम्म मात्र रकम फिर्ता गर्न सकिने समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनायो । यो समाचारले बचतकर्ताहरूको भोक निद्रा हराएको छ ।
समस्याग्रस्त १५ वटा सहकारी संस्थामा ५६ हजार १०६ जना बचतकर्ताको ३५ अर्ब १ करोड १२ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको हालै सार्वजनिक प्रतिवेदनमा उल्लेख छ । ओरेन्टल कोअपरेटिभमा १ अर्ब ९१ करोड ४६ लाख ८५ हजार ३५ रुपैयाँ, स्ट्याण्डर्ड सेभिङमा ८ करोड ४० लाख ३८ हजार ७ सय ९२ रुपैयाँ, प्रभु बचतमा १२ करोड ८८ लाख ३२ हजार ४ सय २७ रुपैयाँ, सोसाइटल बचतमा ४ करोड ८९ लाख २२ हजार १ सय ५२ रुपैयाँ, लुम्बिनी बहुउद्देश्यीयमा ६ करोड ६ लाख ३८ हजार ८ सय ५१ रुपैयाँ, पशुपति सेभिङमा १ अर्ब १८ करोड ३३ लाख ६४ हजार ५ सय १३ रुपैयाँ, शिवशिखर बहुउद्देश्यीयमा ८ अर्ब ७९ करोड १५ लाख ४८ हजार २ सय ११ रुपैयाँ, तुलसी बहुमुखी सहकारीमा १ अर्ब ४ करोड २० लाख ९० हजार ४ सय ८८ रुपैयाँ, हाम्रो नयाँ सहकारीमा २२ लाख ७९ हजार १ सय ११ रुपैयाँ, कृषि विकास बहुउद्देश्यीयमा २८ करोड २० लाख ३१ हजार ८ सय ९१ रुपैयाँ रकम बचत फिर्ताको लागि मागदाबी परेको छ ।
सहकारी सञ्चालकहरूले बिना धितो अर्बौँ रुपैयाँ अपचलन गरेको हुँदा बचतकर्ताको बचत रकम फिर्ता हुन नसकेको माथिको तथ्याङ्कले स्पष्ट गर्छ । उल्लिखित रकममध्येमा ३१८ जना बिरामी÷अशक्तलाई ६९ लाख ५५ हजार रुपैयाँर १६८२ जना बचतकर्ताको ७ करोड ७ लाख रुपैयाँ बराबरको रकम शतप्रतिशत नै फिर्ता भयो ।
सहकारी पीडित बचतकर्ताको बचत रकम सञ्चालकहरूकै जायजेथा लिलाम बिक्री गरी असुलउपर गर्ने कानुन नबनाएसम्म सहकारीको विकृतिमा कमी हुने छैन । यस्तो कानुन बनाउनेतर्फ सरकारको ध्यान नजानु पीडित बचतकर्ताको बचत रकम फिर्ता नगर्ने नियत नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *