छयालीसौँ नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक ब्वज्या सुरु साहित्य, संस्कृति र स्वास्थ्य क्षेत्रका विशिष्ट तीन व्यक्तित्वको सम्मान
- कार्तिक ७, २०८३
भक्तपुर, ३२ असार । नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिको आयोजनामा मङ्गलबार मध्यपुर कुमालाछीमा ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले हुनान किसान आन्दोलनबाट प्रेरित नेपाल मजदुर किसान पार्टीका अग्रज कार्यकर्ताहरूले २०२६ असार १९ गते नवदुर्गा बहुमुखी सहकारी संस्थाको बचत आफ्नो व्यक्तिगत स्वार्थको निम्ति खर्च गरेर हिनामिना गर्ने भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गराएको चर्चा गर्दै भ्रष्टाचारविरुद्ध नेपाल मजदुर किसान पार्टी अहिले पनि सङ्घर्षरत रहेको बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छायासरि हुने भएकोले नेपाल मजदुर किसान पार्टी समाजवादी व्यवस्थाको निम्ति सङ्घर्षरत रहेको चर्चा गर्दै अध्यक्ष बाटाले भन्नुभयो, “मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य २४ लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ परेको प्रसङ्गले सरकारी कार्यालयहरूमा भ्रष्टाचार बढ्दै गरेको पुष्टि गर्छ । नेपाल क्रान्तिकारी युवा सङ्घका कार्यकर्ताहरू सतर्क हुनु जरुरी छ ।”
“शासक दलका नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई सभ्य र सुसंस्कृत बनाउनेतर्फ सोचेनन् । उनीहरूले चुनाव जित्नको निम्ति जेजस्तो गर्न पनि सिकाए । नेपाल क्रान्तिकारी युवा सङ्घले युवालाई समाजवादी आचरणअनुसार राजनैतिक संस्कार दिएर देशभक्त हुन सिकाउनुपर्छ,” उहाँले उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यले समाजमा बढ्दै गरेको बेथितिलाई युवाहरूले हेरेर बस्ने हो भने अराजकता बढ्नेतर्फ सचेत पार्दै युवाहरू आत्मविश्वासका साथ समाज परिवर्तनको निम्ति लाग्नु जरुरी रहेको बताउनुभयो ।
उहाँले इजरायली फासीवादद्वारा प्यालेस्टिनमा भइरहेको नरसंहारको भत्र्सना गर्दै युवाहरूले साम्राज्यवादी र फासीवादीहरूको डटेर विरोध गर्नु आवश्यक रहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य सुरेन्द्र थाश्रेष्ठले शासक दलका नेताहरू नै सहकारीको बचत हिनामिनामा लागिरहेको चर्चा गर्दै युवाहरूले जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ मध्यपुर नगर समितिका अध्यक्ष रुकेश कर्माचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एस. प्रजापति र सुरेश श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply