भर्खरै :

भष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम

भष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम

भक्तपुर, ६ साउन । नेपाल मजदुर किसान पार्टी भनपा ७ गोल्मढी एकाइ समितिको आयोजनामा २०२५ साउन २ र २०२६ असार १९ को स्मरणमा प्रवचन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले निरङ्कुश पञ्चायती व्यवस्थामा लुकीछिपी हुने भष्टाचार बहुदल आएपछि सरकारमा गएका दलहरूबाट खुलेआम भइरहेको बताउनुभयो । उहाँले वाइडबडी काण्ड जहाज खरीदमा करोडौँको भष्टाचार, ललिता निवासमा काण्डमा भष्टाचार, पतञ्जली जग्गा खरीद बिक्री प्रकरण, भुटानी शरणार्थी, भिजिट भिसा काण्ड, सरकारी कलकारखानाहरू निजीकरण गरी भ्रष्टाचार गरेको विषयमा स्पष्ट पार्नुभयो ।
सरकारमा गएका हरेक दलहरूले जनताका बारेमा नसोचेकाले आज हरेक दिन हजारौँ नेपाली आफ्नो भविष्यको चिन्ता व्यक्त गर्दै बिदेसिरहेको र सरकारले स्वदेशमै काम, कामअनुसारको ज्यालाको राम्रो बन्दोबस्त गर्न नसकेको विचार पनि उहाँले राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले विगतको किसान आन्दोलन, सहकारी आन्दोलनबाट नयाँ पुस्ताले अनुशासित भएर लोभलालचमा नफसेर देश र जनताप्रति समर्पित भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले असार १९ र साउन २ गतेको भ्रष्टाचारविरोधी आन्दोलनबारे चर्चा गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नपाबाट भइरहेको गतिविधिहरूबारे स्पष्ट पार्नुपयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका प्रतिनिधि नारायणप्रसाद त्वायनाबासुले अग्रज कार्यकर्ताहरूले पहिलेदेखि नै भष्टाचारविरुद्ध सङ्घर्ष गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी भनपा ७ गोल्मढी एकाइ समितिका संयोजक लक्ष्मीभक्त कवांको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्रीकृष्ण किसीलगायतले ऐतिहासिक भष्टाचारविरोधी आन्दोलनको महत्वबारे स्पष्ट पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *