भर्खरै :

भक्तपुर नगरपालिकाद्वारा १४० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

भक्तपुर नगरपालिकाद्वारा १४० जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान

भक्तपुर, २३ साउन । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०८२/८३ को लागि भक्तपुर नगरपालिकाअन्तर्गत विद्यालयहरूमा कक्षा ११/१२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूको छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी सिफारिस पत्र वितरण गर्यो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले छात्रवृत्ति छनोट परीक्षामा उत्तीर्ण १४० जना विद्यार्थीलाई रु. २ करोड १५ लाख ९० हजार बराबरको छात्रवृत्ति सिफारिस पत्र प्रदान गर्नुभयो ।
उहाँले भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलको रूपमा विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको बताउँदै भक्तपुरको सामुदायिक र संस्थागत विद्यालयको नतिजा उत्कृष्ट बनाउन विद्यालयहरूले मेहनत गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेका शैक्षिक संस्थामा अध्ययन गर्न देशैभरिका विद्यार्थीको आकर्षण बढिरहेको उल्लेख गर्दै उहाँले आ.व. २०८२/८३ मा ख्वप कलेजमा कक्षा ११ मा १८०० भन्दा बढी विद्यार्थी भर्ना हुन आएको बताउनुभयो ।
प्रतिस्पर्धामा टिक्न नसक्ने विद्यालयहरूको अस्तित्व विस्तारै हराउँदै जानेतर्फ सचेत पार्दै उहाँले भक्तपुर नपाले शिक्षाको गुणस्तरमा कुनै किसिमको सम्झौता गर्दैन भन्नुभयो ।
सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले नपाले कलेजहरू सञ्चालन गरिरहेको स्पष्ट पार्दै उहाँले अनुशासित र इमानदार बनाउने प्रयास विद्यालयबाट हुन जरुरी रहेको बताउनुभयो ।
उच्च शिक्षाको जग माध्यमिक शिक्षा भएकोले आफ्नो क्षमता र रुचिअनुसारको विषय छनोट गरी विद्यार्थीहरूले अध्ययनमा जोड दिँदै उहाँले भक्तपुर नपाले वार्षिक ४ करोडभन्दा बढी छात्रवृत्तिहरू प्रदान गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले शिक्षामा प्राथमिकता दिएको उल्लेख गर्दै शिक्षित समाज निर्माणले नगरलाई सभ्य र सुसज्जित बनाउन टेवा पु¥याउने बताउनुभयो ।
उहाँले छात्रवृत्तिमा अध्ययन गर्न पाउनु नै विद्यार्थीहरूको लागि ठुलो अवसर भएको स्पष्ट पार्दै देश निर्माणमा विद्यार्थीहरूले मेहनतका साथ अध्ययन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीलाई दिइने छात्रवृत्ति भनेको उच्च शिक्षा अध्ययनको लागि एउटा अवसर हो भन्दै विद्यार्थीहरूलाई अझ मेहनतका साथ अगाडि बढ्न प्रेरित गर्नुभयो ।
ख्वप माविका प्रधानाध्यापक लक्ष्मीप्रसाद कर्माचार्य र नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयालले विद्यार्थीहरूलाई देश र समाजप्रति उत्तरदायी भएर अध्ययन गर्न मार्गनिर्देश गर्नुभयो । भक्तपुर, २३ साउन । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका स्थानीय समस्याको सम्बोधनको माग गर्दै नेपाल मजदुर किसान पार्टी ताथलीले चाँगुनारायण नगरपालिकाका नगर प्रमुखलाई शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
विगत लामो समयदेखि सडकको अवस्था जीर्ण रहेको र मर्मत तथा स्तरोन्नतिको काम पूर्ण रूपमा अवरुद्ध हुँदा सर्वसाधारण दैनिक सास्ती खेप्न बाध्य भएको जनाउँदै ज्ञापनपत्रमार्फत नगर प्रमुखको ध्यानाकर्षण गरिएको थियो ।
ज्ञापनपत्रमा उक्त सडक अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा दैनिक हजारौं सवारी साधन सञ्चालन हुने व्यस्त सडक हुँदा पनि सडकको मर्मतप्रति नगरपालिकाको उदासीनता गम्भीर चिन्ताको विषय भएको उल्लेख छ ।
ज्ञापनपत्रमा रामसीता मन्दिर क्षेत्रको सडकको तत्काल मर्मत तथा स्तरोन्नति गर्न, आर्थिक वर्ष २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम तत्काल सार्वजनिक गर्न, ताथलीका अन्य सडक सुधारका लागि विनियोजित बजेटको विवरण सार्वजनिकरूपमा प्रस्ट पार्न, सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकायहरूसँग समन्वय गरेर काम थाल्न अनुरोध गरिएको छ ।
स्थानीय बासिन्दा, उपभोक्ता समूह तथा सेवाग्राही, युवा, महिलालगायतको उपस्थितिमा ताथली–नाला सडकको रामसीता मन्दिर क्षेत्रको तत्काल स्तरोन्नति तथा मर्मत गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाउन गएको टोलीको नेतृत्व गर्दै नेमकिपा ताथलीका अध्यक्ष राजाराम छुकांले ताथलीको मुख्य सडकको रूपमा रहेका ताथली–नाला सडकका साथै अन्य सडकको अवस्थासमेत दयनीय भएको र स्थानीय तथा वडाका जनप्रतिनिधिले पटक–पटक जानकारी गराउँदा पनि नगरपालिकाले कुनै चासो नदेखाएको बताउनुभयो ।
अध्यक्ष छुकांले आर्थिक वर्ष २०८२/०८३ का लागि नगरपालिका बजेट, नीति तथा कार्यक्रम पुस्तिका अहिलेसम्म सार्वजनिक नगरिनु, बजेट संशोधन कार्यहरू गोप्य ढङ्गले भइरहेकोले जनगुनासो थपिएको बताउनुभयो ।
उहाँले स्थानीयवासीले राखेको मागको सुनुवाइ नभएमा आन्दोलनात्मक कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
पार्टीले बुझाएको सो ध्यानाकर्षण पत्र नगर प्रमुख जीवन खत्रीले ग्रहण गर्नुभएको थियो । उहाँले पार्टीका तर्फबाट प्रस्तुत मागप्रति नगरपालिकाको ध्यानाकर्षण भएको उल्लेख गर्दै आवश्यक बजेट विनियोजन गर्ने बताउनुभयो ।
सो क्रममा चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष गणेश त्यात, कार्यपालिका सदस्य कमला गिरी, वडा सदस्यद्वय विद्यापति थापा र रविन बासुकलालगायतले वडाले विनियोजन गरेको सिलिङ बजेटअनुसारको योजना सम्पन्न गर्न नगरपालिकाले विभिन्न बहाना गरी काम गर्न नदिएको उल्लेख गर्नुभयो ।
उहाँहरूले बजेट विनियोजन भएका योजना सम्पन्न गर्ने कामको क्रममा आएका समस्या समाधान गर्न नगरपालिकाले समयमै ध्यान नदिएको र नगरपालिकाले आर्थिक वर्षको साउन १५ भित्र प्रकाशन गर्नुपर्ने बजेट पुस्तिका सार्वजनिक नगरेको विषयबारे समेत ध्यानाकर्षण गराउनुभयो ।
ज्ञापनपत्र बुझाउन गएका उक्त टोलीमा सहभागीमध्ये स्थानीय केशरबहादुर खड्काले शिक्षा र सडक, राजेन्द्र थापाले सम्पदा र पर्यटन, रमेश न्हेम्हाफुकीले उपभोक्ता समितिले ब्यहोरेका झन्झट, हरिसुन्दर छुकांले नगरपालिकाको सुशासन र योजना कार्यान्वयनको स्थिति, बाबुकाजी माकजुलगायतले ताथलीवासीले भोग्दै आएका विभिन्न समस्याबारे नगर प्रमुखको ध्यानाकर्षण गराउनुभएको थियो ।
पूर्वशिक्षक हरिकृष्ण राउतले नगरपालिकाको नगर शिक्षा ऐनमा देखिएको त्रुटि र ताथलीको गणेश माविमा गठन भएको विव्यसबारे लिखित रूपमा ज्ञापनपत्र बुझाउनुभएको थियो ।
नगर प्रमुख खत्रीले जनताको साथ र सहयोगले नै नगरपालिकाका वडाहरूमा विकास निर्माण कार्य अघि बढाइरहेको उल्लेख गर्दै जनताको माग सम्बोधनका लागि नगरपालिका लाग्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *