म भैल खः हुँ
- बैशाख ४, २०८३
प्रकृतिको छ आफ्नै रीति र नीति
प्रकृतिमै निहित छन् सारा पात्र र प्रवृत्ति
संस्कृति पनि प्रकृतिकै हो सन्तति
जीव र जीवन प्रकृतिकै हो सृष्टि
छैन कुनै सीमा प्रकृतिको शक्तिको
पराकाष्ठा हो प्रकृति उदारताको
सम्भावनाको भावना बुझ्छ प्रकृतिले
संयमताको महत्ता मान्छ प्रकृतिले
प्रकृति र प्रगति हुन् है परिपूरक
प्रकृतिसँगको प्रतिद्वन्द्व हुन्छ घातक
प्रकृतिप्रति कृतज्ञता नै हो द्योतक युगचेतनको
प्रकृतिप्रति कृतघ्नता नै हो कारक सर्वपतनको
ओजोन हो सारा जगत्को साझा अभिभावक
कार्बन हो काल र सङ्कटको प्रस्ट परिचायक
सन्तुलन र संवद्र्धन नै दीगोपन र स्थायित्वको आधार
जलवायु परिवर्तन चैँ अस्थिरता र असुरक्षाको मझ्धार
स्रोत र सम्पदाको दोहन अन्धाधुन्ध बेलगाम
अस्तित्वमै पूर्णविराम लगाउने भयङ्कर बिराम
हरितगृह ग्यास उत्सर्जन र विश्व उष्णीकरण
धरातल नै धराशायी पार्ने आत्मघाती क्षयीकरण
विकास र सुविधाको नाममा प्रकृतिमाथि प्रहार
क्षणिक प्राप्तिको निम्ति सृष्टिचक्रको संहार
आफ्नो कर्तुत छोप्न प्रकृतिको खेदो गरेर नथाक्ने
साँघुरो दृष्टिले प्रकृति प्रदत्त संरचनामा खोट देख्ने
विवेक र विचार लाचार भएर हो कि ?
स्वार्थ र शोषणको पोषण बढेर हो कि ?
विलासिताको नसाले मात लागेर हो कि ?
व्यक्तिवादको महामारीले थला परेर हो कि ?
पर्यावरणसँग प्रगाढ प्रीति साँचौँ
वातावरणसँग अटुट मित्रता गाँसौँ
रुख बिरुवा रोपेर फैलाऔँ हरियाली
प्राणवायु÷आयु थपेर मनाऔँ खुसीयाली
जागृत वर्तमान भविष्य भव्य
सुरक्षित पृथ्वी विश्व सभ्य
पर्यावरणमैत्री सिद्धान्त र व्यवहार नै हो समाधान
आफै र आजैबाट सुरु गर्नु नै सही मार्ग पहिचान ।
Leave a Reply