भर्खरै :

नाम कम्युनिष्ट राख्दैमा सच्चा कम्युनिष्ट हुँदैन

भक्तपुर, २३ चैत । ‘माक्र्सवाद, कम्युनिष्ट घोषणापत्रको अध्ययनले समाजमा आमूल परिवर्तनका लागि काम गर्ने उत्साह प्रदान गर्छ । प्रत्येक कार्यकर्ताले कम्युनिष्ट घोषणापत्र बुझ्न दर्शनशास्त्र, अर्थशास्त्र र राजनीतिशास्त्र अध्ययन गर्नुपर्दछ ।’
उक्त विचार नेक्रायुसङ्घ एघारौं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिको आयोजनामा शुक्रबार सम्पन्न जिल्लास्तरीय कार्यकर्ता भेलामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘आदिम साम्यवादी समाजमा वर्ग नभएको हँुदा वर्गसङ्घर्ष आवश्यक थिएन । समाजमा वर्ग भएपछिमात्र वर्गसङ्घर्ष अगाडि बढेको हो । वर्गसङ्घर्ष नमान्ने पार्टीको नाम कम्युनिष्ट राख्दैमा सच्चा कम्युनिष्ट हुँदैन ।’
तथाकथित वाम एकता कम्युनिष्ट एकता नभएको स्पष्ट पार्दै अध्यक्ष रोहितले विदेशी स्वार्थअनुरूप चले एकता कायम रहने नभए फेरि टुक्रिने उहाँले बताउनुभयो ।
युवाहरूले पूँजीवादी र समाजवादी दर्शन र साहित्यबीचको भिन्नता अध्ययन गरी समाज परिवर्तनको लागि सक्रिय भई लाग्न सके देश र जनताको हित हुन्छ, उहाँले भन्नुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य नारायणबहादुर दुवालले कम्युनिष्ट घोषणापत्र र माक्र्सवादबारे चर्चा गर्दै माक्र्सवाद आफैमा एक ठूलो शक्ति भएको बताउनुभयो ।
आयोजक समितिका संयोजक मीनबहादुर बाटाको सभापतित्वमा भएको कार्यक्रममा एचएस सुवाल र जगतराम धुख्वाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *