नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
इजरायलमा हालै विशाल जनप्रदर्शन भयो । गाजा कब्जा गर्ने नेतन्याहु सरकारको जघन्य योजनाविरुद्ध भएको त्यो प्रदर्शनले समाज एकोहोरो हुँदैन र एउटै समाजभित्र पनि आपसमा बाझिने शक्तिहरू हुन्छन् भन्ने बोध गरायो ।
द्वन्द्ववादका आधारभूत नियमबारे जानकार सबैलाई आधुनिक पुँजीवादी समाजहरूमा ठुलाठुला अन्तर्विरोधहरू छन् भन्ने थाहा छ । इजरायलभित्र पनि यी अन्तर्विरोध छन् ।
कार्ल माक्र्सले भन्नुभएको थियो, “आजसम्म विद्यमान सबै समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।”(कम्युनिस्ट घोषणापत्र, सन् १८४८) कुनै पनि समाज सग्लो हुन्न र कहीँ पनि एकै स्वर पाइन्न । समाजमा विरोधी स्वार्थ, दृष्टिकोण र वर्ग हुन्छन् । एउटै राष्ट्रभित्र पनि श्रमिक र पुँजीपतिहरूबिच मौलिक रूपमा विपरीत स्वार्थ हुन्छन् । इजरायलमा पनि यस्तै विपरीत वर्ग छन् । एउटा इजरायलले सत्ता र सहुलियतको पक्ष लिन्छ । अर्को इजरायल न्याय र समानताको माग गर्छ ।
धेरैले नेतन्याहु, बेन गभिर र स्मोत्रिचले नेतृत्व गरिरहेको इजरायल देख्छन् । त्यो इजरायल जो यदायदा कब्जाकारी छ, गाजामाथि बमबारी गरिरहन्छ र प्यालेस्टिनी भूमि हडप्दै लगातार बस्ती विस्तार गर्छ । यो इजरायलले सैन्य शक्तिमाथि विश्वास गर्छ र शान्ति सम्झौतालाई कमजोरी ठान्छ । यो इजरायलले लाखौँ प्यालेस्टिनीहरूलाई आधारभूत अधिकारबाट वञ्चित गर्छ र ‘सुरक्षा’ चाहन्छ ।
यो दक्षिणपन्थी सोच राख्ने यहुदीवादीहरूको इजरायल हो । संसारका सबै पुँजीवादी व्यवस्थाले जस्तै इजरायलको पुँजीवादी सत्ता पनि झूटो प्रचारबाजीमा टिकेको छ । अन्य पुँजीवादी समाजले जस्तै इजरायलले पनि जनतामाथि शासन गर्न लगातार तिनलाई डरत्रास देखाउँछ, जनताबिच गलत सूचना र जातिवादी भावना फैलाइरहन्छ । शासकहरूलाई बल प्रयोग गरेर मात्र जनतामाथि आफ्नो सत्ता थोपर्न सकिन्न भन्ने थाहा छ । जनतालाई नियन्त्रणमा राख्न जनमतमाथि नियन्त्रण गर्नुपर्छ । ग्राम्स्कीले यसलाई प्रभुत्व (हिजेमनी) भने । शासक वर्गको विचारलाई सामान्य चेत (कमन सेन्स) बनाउने प्रक्रियालाई प्रभुत्व भनिन्छ । नेतन्याहुले नेतृत्व गरेको इजरायल सरकार यो कलामा सिपालु छ । उसले जनतालाई फुटाएर शासन गरिरहेको छ । साथमा उसले लगातार गलत सूचनाले जनताको बुद्धि भाँडिरहेको हुन्छ ।
इजरायली राज्यको नीतिको मुख्य पक्ष नै प्यालेस्टिनीहरूलाई राजनीतिक, भौगोलिक र सामाजिक रूपले टुक्राटुक्रा पार्नु हो । गाजालाई पश्चिम किनारबाट अलग छ† पूर्वी जेरूसेलम एक्लो टापु जस्तो छ† इजरायलको प्यालेस्टिनी नागरिकहरू सैन्य कब्जाबिच बाँचिरहेका प्यालेस्टिनीहरूबाट अलग छन् । इजरायलभित्र पनि यही तर्कले काम गरिरहेको छ । यहुदी नागरिकहरूलाई जाति (आश्केनाजी, मिजराही र इथियोपेली यहुदी), धर्म (धर्मनिरपेक्ष र उग्र अर्थोडक्स) र राजनीतिक विचार अनुसार अलग राखिन्छ । तर, सङ्कटको बेला यी विभेदका पर्खाल हटाएर ‘बाह्य शत्रु’ विरुद्ध सबैलाई एकजुट पारिन्छ । त्यो ‘शत्रु’ जहिल्यै प्यालेस्टिनी हुन्छ ।
भ्लादिमिर लेनिनले यो चतु¥याइँबारे ‘राष्ट्रिय प्रश्नबारे’ लेखिएका रचनाहरूमा सचेत पार्नुभएको थियो । दमनकारी राष्ट्रका पुँजीपतिले आफूले दमन गर्ने राष्ट्रविरुद्ध घृणाको बिउ रोप्न र दुई राष्ट्रका श्रमजीवीहरूलाई एक हुन नदिन जहिल्यै भरमग्दुर प्रयास गर्छ । (पुँजीपतिहरूले सतर्कताका साथ ‘शत्रु’ विरुद्ध घृणा फैलाउँछन् । लेनिन, साम्राज्यवादी युद्धमा आफ्नै सरकारको पराजय, सन् १९१५) इजरायल सरकारले जहिल्यै त्यहाँका यहुदीहरू र प्यालेस्टिनीहरूबिच ‘राष्ट्रिय भेद’ रहेको बारम्बार दोहो¥याइरहन्छ । ‘यो भेद एकदम घातक छ है’ भनी चित्रण गरेर इजरायली शासक वर्गले तिनीहरूबिच ऐकता कायम हुन दिन्न ।
माक्र्स र एङ्गेल्सले ‘शासक विचारहरू’ मा शासनका भौतिक स्वार्थहरू अभिव्यक्त हुने व्याख्या गर्नुभयो । यहाँनिर ती भौतिक स्वार्थ हुन् पुँजीवादी सेना–उद्योग साँठगाँठ र बसोबासी बन्दोवस्त । इजरायली सरकार र खासगरी नेतन्याहुको चरम दक्षिणपन्थी सरकारले यो नियन्त्रणकारी भाष्यमा ठूलो लगानी गर्दै आएको छ । ‘शान्तिको लागि तयार कुनै पक्ष छैन’ र प्यालेस्टिनीहरू खालि इजरायलको विनाश चाहन्छन् – आधिकारिक भाष्य यही हो । सुन्नेलाई यो सही तथ्य हो भन्ने नलाग्दासम्म यसलाई भट्याएको भट्यायै गरिन्छ । इतिहासको पुनर्लेखन गरिन्छ । नक्बालाई पाठ्यपुस्तकबाट हटाइएको छ । जमिन कब्जा गर्दा हुने दैनिक हिंसालाई लुकाइन्छ । कुनै प्यालेस्टिनीले हमला गर्न आए त्यसलाई बढाइचढाइ गरेर सबै प्रतिरोधी घटना आतङ्कवाद हुन् भनी साबित गर्न खोजिन्छ । लेनिन पुनः रेखा कोर्नुहुन्छ – दमनकारी राष्ट्रको राष्ट्रवाद सारमा जहिल्यै विशेषाधिकारहरूको बचाउ हो† दमन गर्ने अधिकारको बचाउ हो । (लेनिन, राष्ट्रहरूको आत्मनिर्णयको अधिकार, सन् १९१४) इजरायलको हकमा राष्ट्रवादी प्रचारबाजी विशेषाधिकारको बचाउ मात्र होइन, बरु यसलाई अस्तित्वको मुद्दाको रूपमा प्रस्तुत गरिएको छ ।
जोसेफ स्तालिनले राष्ट्रियताको विषयमा गहिराइमा गएर लेख्नुभएको छ । उहाँले मनमोडाइ (मेनिपुलेसन) का खतराबारे यसरी लेख्नुभयो, “राष्ट्रमाथिको दमन बलप्रयोगबाट मात्र कायम राखिन्न बरु अविश्वास पैदा गरेर र विभिन्न राष्ट्रलाई आपसमा जुधाएर पनि कायम राखिन्छ ।” (दण्डको यो नीति यही टुङ्गिन । यो बेलाबेला दमनको ‘व्यवस्था’ बाट राष्ट्रहरूलाई भिडाउने ‘व्यवस्था’’ मा र हत्याकाण्ड र नरसंहार गर्ने ‘व्यवस्था’ मा फेरिइरहन्छ । स्तालिन, माक्र्सवाद र राष्ट्रको प्रश्न, सन् १९१३) इजरायली राजनीतिले यो अविश्वासलाई शिक्षा, मिडिया र कानुनको प्रयोग गरी संस्थागत गरिसकेको छ । यो अविश्वासका जरा निकै गहिरो गाडिएका छन् । त्यसैले इजरायलीहरू सरकारी विचारमाथि हत्तपत्त प्रश्न गर्दैनन् ।
इजरायल सरकारले नियोजित रूपमै युद्धपछाडि इजरायल एकजुट भएको चित्र प्रस्तुत गरिरहेको छ । तर, यसैबिच सरकारले लुकाउने अर्को इजरायल पनि छ । यो इजरायलमा कब्जालाई अस्वीकार गर्ने, गाजामा भइरहेको जातिसंहारको विरोध गर्ने र प्यालेस्टिनीहरूलाई शत्रुको रूपमा हेर्न नमान्नेहरू छन् । यो जमातमा यहुदी र अरबी दुवैथरी नागरिक छन् । उनीहरू काँधमा काँध मिलाएर सडकमा ओर्लँदै छन् । यिनीहरू प्रायः हदाश (यहुदी वामपन्थी) जस्ता आन्दोलनको झन्डा बोकेर आउँछन् । शान्ति तथा समानताका निम्ति अरब प्रजातान्त्रिक मोर्चाको छोटो रूप हो हदाश । समानता, कब्जाको अन्त्य र सन् १९६७ को सीमाका आधारमा ‘दुई राज्य समाधान’ को पक्षमा छ हदाश । आयमान ओदेह, ओफर कासिफ र आइमा सलिमा तुमान इजरायलको कम्युनिस्ट पार्टी तथा हदाशका चर्चित अगुवा हुन् । इजरायली संसद्मा जातिसंहारका घटनालाई पर्दाफास गरेको र त्यसको निन्दा गरेको हुनाले यी अगुवाले अनेकपल्ट सजाय भागेका छन् ।
इजरायलमा युद्धविरोधी आन्दोलन व्यापक छ । तर, यसलाई ठूलो शक्ति लगाएर दबाइएको छ । राजधानी तेल अभिव, हाइफा र ससाना नगरहरूमा पक्राउ पर्ने जोखिम मोलेरै पनि आन्दोलनकारीहरू‘युद्धविराम गरिहाल’ वा ‘गाजामा नरहत्या बन्द गर’ जस्ता नारा लगाउँदै सडकमा उत्रे । जाफा र आक्रीजस्ता मिश्रित जनता बस्ने सहरमा भुइँ तहमा काम गर्ने समूहहरूले यहुदी तथा प्यालेस्टिनी बासिन्दालाई एकसाथ ल्याए । जातिवादी आक्रमण र प्रहरी प्रताडनाबाट एकअर्कालाई जोगाउन ती बासिन्दाहरूले हातेमालो गरे । ‘सँगै उभिऔँ’, ‘शान्तिका योद्धाहरू’ र ‘मौनता तोडौँ’ लगायत सङ्घ–सङ्गठनले राज्यले गर्ने दुष्प्रचारलाई चुनौती दिइरहेका छन् । उनीहरू कब्जाकारी हमलाको नृशंसता र सम्झौताको आवश्यकताबारे खुलेर बोल्दै छन् ।
यो ‘दोस्रोथरी इजरायल’ इजरायली समाज एकनासे छैन भन्ने कुराको प्रमाण हो । किन छैन ? माक्र्सवादले यसको उत्तर पत्ता लगाउन सघाउँछ । हो, सैन्यकृत राज्यमा समेत वर्गीय र राजनीतिक विभाजन हुन्छ र त्यसले ऐक्यबद्धता फल्न–फुल्न सक्ने मैदान बनाउन सक्छ । लेनिनले जोड दिएर भन्नुभएको थियो – दमनकारी राष्ट्रमा साँचो अन्तर्राष्ट्रवादले आफ्नै शासक वर्गको अहङ्कारवादको सक्रिय विरोध गर्छ । युद्धविरोधी खेमाका धेरै इजरायलीहरूले यो कुरा मनमा राखेका छन् । यो कुरा बाहिर बोले आफूलाई कलङ्कित गरिनेछ भन्ने डर छ । हदाशको राजनीति लाइन अरब–यहुदी मैत्रीमा आधारित छ । यसमा यसको सिद्धान्त झल्किन्छ । यो दलले राष्ट्रवादी अहङ्कार र उदार उदासिनता दुवैको विरोध गर्छ । साथै, यसले न्याय, समानता र परस्पर स्वीकारमा आधारित साझा समाजको निर्माणमा जोड दिन्छ । यसका नेताहरू भन्ने गर्छन्, “शान्तिबिना प्रजातन्त्र हुन्न र भूमिकब्जा अन्त्य नगरी शान्ति हुन्न ।”
यी आवाज ठूलो सङ्ख्यामा रहेका दक्षिणपन्थी सङ्घ सङ्गठनको तुलनामा सानै छन् । तैपनि महत्वपूर्ण आवाज हुन् यी । यिनले सारा विश्वलाई इजरायलभित्रै पनि प्रतिरोध भइरहेको छ भनी देखाउँछन् । विविधताभित्रै पनि ऐक्यबद्धता हुन सक्छ र भविष्य खालि इजरायलको वर्तमान सरकारले मात्र निर्धारण गर्न सक्दैन – यही सन्देश छ ‘दोस्रो इजरायल’ को । यो सन्देशमा ग्राम्स्कीको ‘अडानको युद्ध’ (वार अफ पोजिसन) को अवधारणा झल्किन्छ । आक्रामक राज्यभित्रै ‘प्रभुत्वविरोधी’ शक्ति निर्माण गर्ने सुस्त र जटिल कार्यलाई ग्राम्स्की ‘अडानको युद्ध’ भन्छन् । (एन्टोनियो ग्राम्स्की, छानिएका जेलका रचना)
के हामी यो ‘दोस्रो इजरायल’ लाई भाग्त्रोसे छोडेर इजरायलभित्र चलिरहेको आन्तरिक सङ्घर्षप्रति उदासिन रहनमिल्ला ? हाम्रो उदासिनता नेतन्याहु र उसको गिरोहका लागि वरदान हुनेछ । त्यसकारण, इजरायलको आन्तरिक सङ्घर्षप्रति आँखा चिम्लिन मिल्दैन । इजरायली राज्य पुँजीपति–राष्ट्रवादी कुलिनहरूको हातमा छ । संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ तथा तत्कालीन सोभियत सङ्घ अनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको समर्थनमा सन् १९४८ मा इजरायलको स्थापना भएको थियो ।(सन् १९४७ मे १४ मा राष्ट्रसङ्घको महासभामा सोभियत प्रतिनिधि आन्द्रेइ ग्रोमिकोले प्यालेस्टिनबारे विशेष समिति स्थापना गर्ने सम्बन्धमा राखेको मन्तव्य पढौँ ।) तर, जून सैद्धान्तिक धरालतमा यसको स्थापना भएको थियो ती आदर्शलाई अहिले लत्याइएको र मिचिएको छ । चालु जातिसंहार, ऐतिहासिक प्रमाण, मानवअधिकारका दस्तावेज तथा माक्र्सवादी सिद्धान्तले अहिले एकै ठाउँ आएर इजरायल स्थापनाको नैतिक आधारलाई ध्वस्त पारिएको पुष्टि गर्छन् । बदलामा प्यालेस्टिनी जनताविरुद्ध निरन्तर कब्जा तथा संरचनात्मक हिंसा गरिएको पुष्टि हुन्छ ।
यो विश्वासघातलाई मान्यता दिनाले इजरायलभित्र हुने कब्जा र युद्धविरोधी आन्दोलनको पक्षमा उभिनुको महत्व जाहेर हुन्छ । यो आन्दोलन यहुदी–अरबी र प्यालेस्टिनी–इजरायलीहरूमिलेर शान्तिपूर्वक बस्नुपर्ने एकताको मूल सिद्धान्तमा आधारित छ । यसकारण, प्यालेस्टिनी जनताको पीडाप्रति ऐक्यबद्धता जाहेर गर्दै गर्दा इजरायलभित्र जातिसंहार, कब्जा र युद्धको विरोधमा सङ्घर्ष गरिरहेका जनताप्रति पनि ऐक्यबद्धता व्यक्त गर्नु महत्वपूर्ण छ ।
अहिले सन् १९६७ को सीमारेखा कायम गर्दै एक सार्वभौम र स्वाधीन प्यालेस्टिनी राज्यको माग निकै महत्वपूर्ण हुन आएको छ । त्यो राज्यको राजधानी पूर्वी जेरूसेलम हुनुपर्छ र शरणार्थीहरूलाई तिनको पुख्र्यौली थातथलोमा फर्किन दिनुपर्छ । यी मागलाई सशक्त पार्दै जुनसुकै मूल्य चुकाएर पनि साकार पार्नुपर्छ । यसो गर्न सकेन इजरायलको पुँजीवादी सत्ता र उसका साम्राज्यवादी मालिकहरूलाई ठूलो झापड हुने थियो । अनि, प्यालेस्टिनी जनताको उद्देश्यको पक्षमा त्यो एउटा बलियो कोशेढुङ्गा साबित हुने थियो ।
(निकोस मोटास ‘इन डिफेन्स अफ कम्युनिज्म’ का प्रधान सम्पादक थिए ।
स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply