भक्तपुरको शैक्षिक गुणस्तर माथि उठ्नुमा प्राध्यापकहरूको महत्वपूर्ण योगदान
- बैशाख १०, २०८३
भक्तपुर, ३ भदौ । वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागको आयोजनामा गरेर सिक्न र सिकाउन अन्तर्राष्ट्रिय पत्रकारितासम्बन्धी दुईहप्ते गोष्ठी मङ्गलबारबाट सुरु भएको छ ।
पत्रकारितासम्बन्धी अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका अभ्यास, नयाँ पद्धति, पत्रकारिता कानुन, पत्रकारिता इतिहास तथा आचारसंहितासम्बन्धी कार्यपत्रहरू दुईहप्तासम्म जारी रहने आयोजकले जनाएको छ ।
गोष्ठीमा विभिन्न अध्येता विद्यार्थीहरूले कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।
गोष्ठीअन्तर्गत प्रत्येक दिन फरक फरक देशको पत्रकारिताको विषयमा कार्यपत्र प्रस्तुत गरिने कलेजले जनाएको छ । गोष्ठीको पहिलो दिन जर्मनीको पत्रकारिताका इतिहास, कानुन र आचारसंहिताको कार्यपत्र प्रस्तुत गरिएको थियो ।
गोष्ठीको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईंले कार्यपत्र प्रस्तुत गर्दा थोरै समय लाग्ने भए पनि यसको अध्ययनमा धेरै समय लाग्ने भएकोले यसको महत्व हुने बताउनुभयो । प्रेस स्वतन्त्रताको विषयमा युरोपियन देशहरूले वकालत गर्दै आए पनि गरिब निमुखा, मजदुर तथा किसानहरूको विषयमा लेख्न पश्चिमा मिडिया उति स्वतन्त्र नभएको उल्लेख गर्दै उहाँले मिडियालाई पुँजीपति र व्यापारीहरूले प्रभावित पार्ने गरेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष रामकृष्ण अधिकारीले युरोपियन देशहरूमा पत्रकारसम्बन्धी अन्तर्राष्ट्रिय मुख्यालय रहेको र युरोपको पत्रकारिताबाट धेरै कुरा सिक्न सकिने बताउनुभयो । नेपालमा प्रेस स्वतन्त्रतालाई कडाइ गर्न मिडिया काउन्सिलसम्बन्धी नयाँ व्यवस्था गर्न लागेकोमा उहाँले आपत्ति जनाउनुभयो ।
मिडियालाई नियन्त्रण गर्ने नभई नियमन गर्नुपर्ने तर्क राख्दै अधिकारीले वागीश्वरी कलेजले पत्रकारिताका विषयमा गोष्ठी गरेर पत्रकारिताको सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिएकोमा खुसी प्रकट गर्नुभयो ।
जर्मनीसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पत्रकारिताका विद्यार्थी श्रेया श्रेष्ठले जर्मनीबाटै प्रेसको आविष्कार भएको र पत्रकारिताको उर्वर भूमिको रूपमा जर्मनी रहेको उल्लेख गर्दै कार्ल माक्र्सको पालामा मिडियामा गरीबहरूको पक्षमा लेख्न छुट नभएको स्पष्ट पार्नुभयो ।
वागीश्वरी कलेज मानविकी सङ्कायका प्रमुख राजन फेलुले वागीश्वरी कलेजले विद्यार्थीकेन्द्रित अनि समयसापेक्ष विभिन्न गतिविधि सञ्चालन गरी विद्यार्थीहरूको चौतर्फी र सर्वाङ्गीण विकास गर्ने गरेको कारण विश्वविद्यालय अनुदान आयोगले गुणस्तरसम्बन्धी प्रमाणपत्र क्यूएए प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकारिताका विद्यार्थीहरू लक्मी तामाङ, जेनिस बाडेलगायतले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।
Leave a Reply