भर्खरै :

भक्तपुरलाई आकर्षक र पर्यटकीय गन्तव्यस्थल बनाउन प्रयास जारी

भक्तपुरलाई आकर्षक र पर्यटकीय गन्तव्यस्थल बनाउन प्रयास जारी

काठमाडौँ, ३ भदौ । काठमाडौँ कलङ्कीस्थित निसर्ग वाटिका विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले भक्तपुर अध्ययन भ्रमणको क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग साक्षात्कार गरेका छन् ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको भूगोल, जनसङ्ख्या, कला, संस्कृति, सम्पदा संरक्षण, शैक्षिक अवस्था, विकास मोडल, वातावरण संरक्षणमा गरिरहेको गतिविधिहरूबारे अवगत गराउँदै भक्तपुरलाई संसारकै आकर्षक र पर्यटकीय गन्तव्यस्थल बनाउन नवीनत्तम पाइलाहरू चालिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले देशको लागि आवश्यक उत्कृष्ट जनशक्ति उत्पादन गरिरहेको बताउँदै उहाँले नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण र छात्रवृत्तिबाट धेरै विद्यार्थी लाभान्वित भएका छन् भन्नुभयो ।
प्रमुख प्रजापतिले गगनचुम्बी भवन र चौडा सडक बनाउनु मात्र विकास होइन भन्दै उहाँले भक्तपुर नपाले भक्तपुरको सन्तुलित विकास गर्न यहाँको भौतिक विकास सँगसँगै जनचेतनाको पनि विकास गरिरहेको बताउनुभयो ।
भक्तपुरका सम्पदाहरू अवलोकन गर्न देश विदेशबाट पर्यटकहरू आउने क्रम बढिरहेको चर्चा गर्दै उहाँले भक्तपुर नपाले नगरका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम अध्ययन अध्यापन, यहाँका कला संस्कृति, जात्रा पर्व, विशिष्ट व्यक्तिहरूको जीवनी आदि अध्यापनमा जोड दिँदै आएको बताउनुभयो ।
निसर्ग वाटिका स्कूलको सामाजिक विषयका शिक्षिका रेगिना चित्रकारले सामाजिक विषय अध्ययनअन्तर्गत निसर्ग बाटिका स्कूलले भक्तपुरको शैक्षिक अध्ययन भ्रमण गर्न पाएकोमा खुसी व्यक्त गर्दै नगरपालिकाले सबै क्षेत्रमा उत्कृष्ट काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले भक्तपुरको विकास मोडल, नपाले प्रदान गर्दै आएको शैक्षिक ऋण तथा छात्रवृत्तिको व्यवस्था, भक्तपुरमा जलवायु परिवर्तनको असर, पोखरीको पानीको स्रोत संरक्षण आदिबारे जिज्ञासा राखेका थिए ।
नगर प्रमुख प्रजापतिले शिक्षिका रेगिना चित्रकारमार्फत विद्यालयको लागि नपाका प्रकाशनहरू प्रदान गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *