भर्खरै :

तःमुंज्या सफल पार्न साहित्य र सांस्कृतिक उपसमिति गठन

तःमुंज्या सफल पार्न साहित्य र सांस्कृतिक उपसमिति गठन

भक्तपुर, ४ भदौ । पैतालीसौँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिले मङ्गलबार साहित्य अनुरागी, संस्कृतिप्रेमी, कलाकार र शुभचिन्तकहरूको भेला गरी साहित्य उपसमिति र सांस्कृतिक उपसमिति गठन गरेको छ ।
समिति गठन गर्न आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले जनता रहे भाषा रहने उल्लेख गर्दै संस्कृति र रीतिरिवाज बचाउन जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नु जरूरी छ भन्नुभयो ।
पेसा र रहनसहनमा परिवर्तनसँगै सामाजिक मूल्य र मान्यता परिवर्तन हुनु स्वाभाविक हो, मातृभाषा, कला, संस्कृति जगेर्ना गर्न नयाँ पुस्तालाई सैद्धान्तिक, राजनीतिक र वर्गीयरूपमा सचेत बनाउनुपर्छ, उहाँले भन्नुभयो ।
तःमुंज्या कामदारवर्गको ‘दबु’ भएकोले त्यहाँ प्रस्तुत हुने साहित्य र सांस्कृतिक कार्यक्रममा कामदारवर्गलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्दै उहाँले क्रान्तिकारी साहित्यको रचना कामदारवर्गका जनताले रच्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशको जल्दोबल्दो विषय, भ्रष्टाचार, राष्ट्रघाती एमसीसी सम्झौता, शासक पार्टीले गरिरहेको नीतिगत भ्रष्टाचारबारे जनतालाई सचेत पार्ने जस्ता राष्ट्रिय राजनीति र प्यालेस्टिनमाथि इजरायलले गरेको बर्बर आक्रमण, अमेरिकी साम्राज्यवादको आडमा युक्रेनले रूसमाथि गरेको आक्रमण र इरानमाथिको आक्रमणको विषयमा साहित्य लेख्नुपर्ने उहाँले बताउनुभयो ।
तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जारले साहित्यमा हुनुपर्ने आधारभूत तत्वहरूबारे जानकारी दिँदै साहित्य सरल हुनुको साथै साहित्यमा भाषिक शुद्धता हुनु पनि उत्तिकै जरूरी छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका प्रकाशनहरू, पार्टीका जनवर्गीय, भ्रातृ तथा पेसागत सङ्गठनका प्रकाशनहरू नियमितरूपमा अध्ययन गर्न सकेमा साहित्य सृजना गर्न विषय उपलब्ध हुने धारणा राख्दै उहाँले साहित्यका सर्जकहरूले अध्ययनमा जोड दिनुका साथै जनताको समस्याबारे परिचित हुनु जरूरी छ भन्नुभयो ।
कार्यक्रममा पैतालीसौँ नेपालभाषा तमुंज्या आयोजक समितिका उपाध्यक्ष श्यामसुन्दर मातां र सचिव राजन जतिले पनि बोल्नुभएको थियो ।
भेलाले एलके सुन्दरको अध्यक्षतामा साहित्य उपसमिति र रत्नकाजी नातरीको अध्यक्षतामा सांस्कृतिक उपसमिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *