भर्खरै :

बोली र व्यवहार सही नभएको मान्छेको कसरी हामीले कुरा सुन्ने ?

बोली र व्यवहार सही नभएको मान्छेको कसरी हामीले कुरा सुन्ने ?

वडाध्यक्षको डायरीबाट

दिनको दोस्रो प्रहर सकिन लागिसकेको थियो । वडा कार्यालयमा खासै सेवाग्राहीहरू बाँकी थिएनन् । वडाअन्तर्गतका विकास निर्माणको कार्य हेर्न निरीक्षणमा गएको थिएँ । निरीक्षण सकाएर वडामा फर्केँ । कर्मचारीहरू खाजा खाएर वडामा मात्र आएका थिए । म पनि सेवाग्राही वडामा नभएकोले आफ्नो कक्षमा नगई कर्मचारीको कार्यालयमा प्रवेश गरेको थिएँ । त्यही समयमा एकजना परिचित वडावासी आए । उनले कुनै औपचारिकताबिना मसित कराउन थाले, “मेरो घर अगाडिको पेटी किन नबनाएको हो ? सबै ठाउँमा पेटी बनाइसकेको छ । मेरै मात्र घर अगाडि किन नबनाएको होला ? यसको जिम्मेवारी वडाध्यक्षले लिनुपर्छ । आजै मेरो घर अगाडिको पेटी बनाउनुप¥यो ।”
वास्तवमा ती भाइको घर अर्कै वडामा हो । तर, उनको यस वडामा पनि घर छ । त्यस घरअगाडिको बाटो चौडा गर्ने, ह्युम पाइप बिछ्याउने, पेटी बनाउने र पीच गर्ने योजनाअनुसार कार्य सम्पन्न भइसकेको थियो । त्यस योजनाअनुसार नै उनको घरअगाडि पनि ह्युम पाइप बिछ्याउने, सडक चौडा गर्ने र पीच गर्ने कार्य सम्पन्न भइसकेको थियो । तर, पेटी बनाउने काममा त्यस भाइले अवरोध गरेको हुँदा पेटी बनाउन नसकिएको हो । ती भाइले बाटो सीमाङ्कनमा धेरैपटक दुःख दिएका थिए । दुई दुई जना वडाध्यक्ष, प्राविधिक दुई दुई जना, दुवै वडाका जनप्रतिनिधि र नेपाल सरकारको इन्जिनियर, ठेकेदारको इन्जिनियर तथा स्थानीय मानिसहरूको रोहवरमा त्यस भाइकै सहमतिमा हामीले सडक मापदण्ड र नगरपालिकामा पास गरेको नक्सासमेतलाई आधार लिएर सडकको सीमाङ्कनसमेत भइसकेको थियो । यसरी भएको सीमाङ्कनलाई नमानेर फेरि त्यस भाइले पुनः सीमाङ्कन गर्न वडामा अनुरोध गरेका थिए । त्यस अनुरोधलाई मानेर दुवैतर्फका घर धनी, प्राविधिक, ठेकेदार र जनप्रतिनिधिको रोहवरमा फेरि सीमाङ्कन गरियो । त्यही सीमाङ्कनअनुसार पेटी बनाउन ब्लक राख्न जाँदा कामदारलाई धम्की दिएर गर्न दिएनन् । सडक पीच गर्ने क्रममा पनि ठेकेदार र कामदारसमेतलाई साबिलले पिट्ने र धम्काउने काम गरेका थिए । मैले प्रहरीलाई अनुरोध गरेपछि सुरक्षा बलको प्रयोग गरी पिच गरेका थियौँ । त्यसकारण, ती भाइको घर अगाडि पीच पनि गतिलो ढङ्गले भएको थिएन भने पेटी दुईपटक बनाउँदासमेत उनले भत्काइदिएका थिए । कामदारहरूलाई हातपात र गालीगलौज गरेका थिए किनभने जनप्रतिनिधिहरूलाई पनि तथानाम गाली गरेका थिए । त्यसकारण, स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि, वडा प्राविधिक तथा ठेकेदारका कामदारहरू त्यस भाइ देखेर निकै रूष्ट थिए । म आफू पनि वडाको त्यस बाटो चौडा गर्न, ह्युम पाइप बिछ्याउन, पीच गर्न खटिएर काम गर्दै आएको थिएँ । ममात्र होइन कि सबै जनप्रतिनिधि र प्राविधिकहरू पनि निकै खटिएर काम गर्दै आएका थिए । त्यसकारण, ती भाइको कुतर्क र असङ्गत भनाइप्रति सबैजना रिसाएका थिए ।
नेपाल सरकार र नगरपालिकाले गर्दै आएको विकास निर्माणप्रति गरेको अवरोध र असहयोगप्रति सबै रिसाइरहेका थिए । मैले भनेँ, “तपाईँको घरअगाडि हामीले तपाईँकै सहमतिमा र प्राविधिकको सहयोगमा दुई तीनपटक सीमाङ्कन ग¥यौँ । त्यही सीमाङ्कनअनुसार नै पेटी दुईपटक बनाउने कार्य भयो । अनि तपाईँले बनाइसकेको पेटी बिगार्ने हो ? सहमतिमा बनेको पेटी यसरी बिगार्न पाइन्छ ? पिच गर्दा पनि तपाईँले कामदारलाई पिट्न खोज्नुभयो ? प्रहरी आई नपुगेको भए कामदारमाथि समेत हात हालिसक्थ्यो । यस्तो व्यवहारले कसरी तपाईँको घरअगाडि फेरि पेटी बनाउने ? आयोजनाको काम समापन भइसकेको छ । अब आएर फेरि कसरी पेटी बनाउने हो ? काम गर्न आउनेलाई हात हाल्न खोज्ने, तथानाम गाली गर्ने, जनप्रतिनिधिलाई गाली गर्ने अनि तपाईँले भनेकै जस्तै पीच गर्नुपर्ने र पेटी बनाउनुपर्ने हो ? सीमाङ्कनअनुसार काम गर्दा तपाईँको पिटाइ कामदारले खानुपर्ने हो ? बोली र व्यवहार सही नभएको मान्छेको हामीले कसरी कुरा सुन्ने ? सरकारको बजेट भनेको यसरी आफूलाई मन नपरेपछि बिगार्ने हो ? सरकारी बजेट भनेको नेपाली जनताले तिरेको पैसा हो । यसरी आफूलाई मन नपरेपछि बिगार्न पाइन्छ ? कि त सीमाङ्कन गर्दा नै अहमति व्यक्त गर्नुपथ्र्याे । तपाईँको दिमाग सही ठाउँमा छ ?”
मेरो जवाफले ती भाइ कुरै नगरी वडा कार्यालयबाट बाहिर गए । फेरि एकैछिनमा आएर मसित भन्न थाले, “मेरो घरअगाडि पेटी बनाउने हो कि होइन ? नत्र मेरो घर केही दिनमै भत्कन्छ । वर्षामा सडकको पानी मेरो पुरानो घरमा छिर्छ । मेरो घर भत्कियो भने वडाध्यक्षले जिम्मा लिनुपर्छ† क्षतिपूर्ति दिनुपर्छ ।”
मैले जवाफमा भनेँ, “तपाईँको घर भत्कियो भने तपाईँ आफै जिम्मेवार हुनुहुनेछ । पेटी नबनाएपछि आफ्नो पुरानो घर चाँडै भत्किन्छ भन्ने तपाईँलाई बल्ल थाहा भयो ! आफ्नो घर अगाडि आफै पेटी बनाउने हो । वडाध्यक्षले सबैको घर अगाडि पेटी बनाउने ठेक्का लिएको छैन । तपाईँ आफै ठेकेदारलाई भन्न जानुस् या आफै बनाउनुस् ।”
त्यसपछि उनी फनक्क फर्केर गए । उनले वडा कार्यालय बाहिर बसेर तथानाम गाली गर्न थाले । म कार्यालयमा बसेर उनको गाली सुनिरहेको थिएँ । कर्मचारीहरूले पनि तथानाम गाली गरेको सुनिरहेका थिए । उनी भन्दै थिए, “जनताको भोटले जितेर गएको मान्छेको फूर्ति हो ? हेरौँला ¤ कति नै कुर्सीमा बस्छ र ? वडा कार्यालयबाट बाहिरमात्र आएर हेर ! मैले जानेको छु । ती भाइले आधा घण्टासम्म गाली गरिरहे । म र वडाका कर्मचारीहरूले उनको गाली सुनि मात्रै रह्यौँ । कसैले ती मानिसलाई जवाफ दिन आवश्यक ठानेन । उनले एकदम तल्लो स्तरमा गाली गरिरहेका थिए । त्यसैले, मलाई वडा कार्यालय बाहिर गएर जवाफ फर्काउन मन लागेन । राम्रो काम गर्दा पनि गाली खानुपर्ने हुँदो रहेछ । जनताको लागि सडक चौडा गर्दा, अनि पीच गर्दा पनि गाली खानुपर्ने रहेछ । घर घरको फोहर पानी पठाउन ह्युम पाइप बिछ्याउँदा पनि तल्लो स्तरको गाली खानुपर्ने रहेछ । वर्षाको मौसममा परेको पानीको निकासको व्यवस्था गर्दा गाली खानुपर्ने रहेछ । सार्वजनिक बाटोलाई व्यवस्थित गर्दा पनि गाली खानुपर्ने रहेछ । आफ्नो निजी स्वार्थ हेर्ने अनि आफ्नोमात्र कुरा सही हो भन्ने मानिसलाई स्वर्गमा लगेर राखे पनि नर्क नै खोज्दो रहेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *