भर्खरै :

‘जेलका चिठीहरू’ पुस्तकको अध्ययनबाट के शिक्षा लिने ?

  • भाद्र ५, २०८२
  • ह्रेन्छेन दोर्जे, काभ्रे
  • विचार
‘जेलका चिठीहरू’ पुस्तकको अध्ययनबाट के शिक्षा लिने ?

जहाँ शोषण, दमन, अन्याय र अत्याचार हुन्छ, त्यहाँ आक्रोश र असन्तोषहरूको विद्रोह र विस्फोट अवश्यम्भावी हुन्छ । समाजमा भएका शोषण, दमन,अन्याय र अत्याचारको जञ्जिर चुँडाइ वर्गीय मुक्तिको निम्ति सङ्घर्ष गर्न उत्प्रेरित गर्ने पुस्तक ‘जेलका चिठीहरू’ वरिष्ठ राजनीतिज्ञ एवं जनसाहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित एक महत्वपूर्ण राजनीतिक पत्र साहित्य हो । वि.स. २०६९ साल भदौमा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घ केन्द्रीय समितिले प्रकाशित गरेको थियो ।
पुस्तकको माध्यमबाट लेखक रोहितले देश र जनताका सेवामा समर्पित आफ्नो पार्टीका कार्यकर्ताहरूले जेलभित्र भोगेको पीडा तथा जेलबाहिर हुँदा देश र जनताको सेवाको निम्ति आफूले र आफ्नो सिङ्गो सङ्गठनले गरेको काम तथा भविष्यको मुक्तिको निम्ति गर्नुपर्ने सङ्घर्षहरूबारे उल्लेख गर्दै देश र समाजभित्रको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विकृति र विसङ्गतिहरूलाई न्यायप्रेमी जनतामाझ उदाङ्ग्याउनुभएको छ । उहाँले आफ्नो पत्नी शोभालाई लेख्नुभएको सो पत्रमा स्वतन्त्रताप्रेमी जनतालाई स्वतन्त्रता र न्यायको निम्ति शोषण, दमन, अन्याय र अत्याचारको विरुद्धमा एकजुट भई उठ्न र सङ्घर्ष गर्न आह्वान गर्नुभएको छ । संसारका कागहरू जहाँका भए पनि कालै हुन्छन् भनेझैँ शोषकहरू जहाँका भए पनि शोषक नै हुन्छन्, उनीहरूको काम कमजोर वर्गमाथि शोषण गरी समाजमा आफ्नो हैकम कायम राख्ने हो । हामीले समाजमा वर्गीय रूपमा भएको शोषण र उत्पीडनको समस्यालाई कुनै जाति विशेष समुदाय र क्षेत्र विशेषको समस्याको रूपमा केन्द्रित गरी हेर्नुहुँदैन ।
यसरी वर्गीय समस्यालाई व्यापक र वर्गीय दृष्टिकोण नराखी जाति, क्षेत्र र स्थान विशेषमा सम्बद्ध गर्दै सङ्घर्षमा अगाडि बढेको खण्डमा समाजमा जातिवाद, सङ्कीर्णतावाद र फासीवादको उदय हुने गर्दछ । यसले अन्ततोगत्वा सिङ्गो देश, समुदाय र समाजलाई नै फुटको सङ्घारमा लैजान्छ । त्यसैले लेखक नारायणमान बिजुक्छेँ रोहितले आफ्नो पत्नी शोभालाई सम्झाउँदै वि.सं. २०४६ भदौ २५ गते नखु जेलबाट चिठी लेख्नुहुन्छ–स्थानीय स्तरमा केही समस्या र बाधा अडकाउहरू भएको देखिन्छ । तर, स्थानीय स्तरमा राष्ट्रिय दृष्टिकोणले हेर्न जानेन भने स्थानीय स्वार्थी तत्वहरूकै जालसाजीले समस्या अल्झिदै जानेछ । अन्ततः श्रीलङ्काको जस्तो दुर्दशा हुनेछ । भारतको विभाजन पनि केही स्वार्थी साम्प्रदायिक व्यक्तिहरूको प्रभावमा सत्तामा बसेका नेताहरू लाग्नाले नै भएको थियो । स्थानीय र सानो स्वार्थलाई हेरेर राष्ट्रिय र दीर्घकालीन परिणामलाई नहेर्नु नेताहरूको अदूरदर्शिता हुने गर्छ । सिद्धान्त छोडेर समस्यालाई शक्तिले दबाएर केही दिन र वर्षसम्म मात्रै राख्न सकिन्छ भन्ने कुरा वर्तमान रुसमा कालो सागरदेखि बाल्टी सागरसम्मका राज्य र जनताको असन्तोषले देखायो । राजनैतिक समाधान नै समुचित समाधान हुने गर्छ । हरेक दिन हरेक हप्ता भनेझैँ नारायणमान बिजुक्छेँ खाने र सुत्ने ठाउँ निश्चित थिएन भन्ने कुरा पनि लेखक बिजुक्छेँले चिठीमा उल्लेख गर्नुभएको छ । निःस्वार्थ रूपमा देश र जनताको सेवामा इमानदारीपूर्वक समर्पित हुने राजनीतिक कार्यकर्ताहरू आफ्नो व्यक्तिगत र पारिवारिक स्वार्थभन्दा माथि उठ्न सक्नुपर्छ, जस्तोसुकै कठिन परिस्थितिहरूको सामना गरेर पनि समाजको सेवामा समर्पित भइराख्नुपर्छ, व्यापक दृष्टिकोण र दूरदर्शी चिन्तन बोकेर अघि बढ्ने साहस गर्नुपर्छ । अध्यक्ष बिजुक्छेँ यस्तै निःस्वार्थी, निडर र इमानदार जनताको सेवक हुनुहुन्थ्यो भन्ने यथार्थ उहाँको ‘जेलका चिठीहरू’ पुस्तकको अध्ययनबाट थाहा पाउन सकिन्छ ।
मानिसले आफ्नो र परिवारको मात्र हित हेर्ने होइन समाज, देश र संसारकै हित हेर्नुपर्ने र यो काममा अनेक बाधा अवरोध आए पनि दृढ अडानका साथ अगाडि बढ्नुपर्ने शिक्षा यो पुस्तकले दिन्छ । अध्यक्ष बिजुक्छेँको राजनीति देश र जनताको निःस्वार्थ रूपमा सेवाको लागि भएको अडान बुझ्न सकिन्छ । व्यक्तिगत स्वार्थ हेर्नेले सामूहिक स्वार्थमा समर्पित भएकाहरू विरुद्ध अनेक प्रपञ्च रच्ने, जालझेलमा फसाउने तर ती जालझेल अन्ततः समाप्त हुने कुरा पनि यो पुस्तकको अध्ययनबाट पाउन सकिने प्रमुख शिक्षा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *