नबिर्सौँ, अर्को पक्ष !
- असार ४, २०८३
आज कुशे औँसीको दिनमा बाबु गुमाएका छोराछोरीहरू दान लिन बसिरहेका ब्राह्मणको अगाडि लामो लाइनमा उभिन्छन् । कतिपयको मनमा गहिरो श्रद्धा हुन्छ, “यो दान पितृलाई पुग्छ, बाबु खुसी हुन्छन् ।” मनमा बाबुको सम्झना, अपूर्ण स्नेह, बाँचुन्जेल गर्न नपाएको सेवा र अन्तिम क्षणको सम्झनाको पीडाले आँखा रसाउँछन् । तर, माक्र्सवादी विचारधाराबाट प्रभावित व्यक्ति जब यस्तो संस्कारको लाइनमा उभिन्छ, उसलाई गहिरो आत्मग्लानि हुनुपर्छ । यस्ता दान–पुण्यका नाममा चलाइने प्रथाले समाजमा अन्यायलाई बल दिन्छ र श्रमको मूल्यलाई छायामा पार्ने कुरा ऊ भित्रभित्रै सोचिरहेको पनि हुनुपर्छ । उसलाई ज्ञात भएको यथार्थ के हो भने दान मृतकसम्म पुग्दैन । बरु ब्राह्मणको विशेषाधिकारलाई मात्र बल पुग्छ । तर पनि, परिवार र समाजको दबाबका कारण आफू अन्धविश्वासी भएकोमा उसको मन भारी हुनुपर्छ । यथार्थ बुझेर पनि रोक्न नसकेको कमजोरी स्वीकार गर्न बाध्य हुँदा आत्मग्लानिले उसलाई पोलेको हुनुपर्छ ।
समाजमा एउटा ठुलो विडम्बना के छ भने, हामी धेरैपटक अन्धविश्वासलाई परम्परा भनेर जोगाउन थाल्छौँ । हाम्रो सांस्कृतिक पहिचान, हाम्रो विगत, हाम्रो पुर्खाको स्मृति बोकेको हुँदा परम्परा भन्ने शब्द आफैँमा सम्मानजनक छ । तर, सबै कुरा परम्परा हुँदैन र परम्परा भन्दैमा सबै कुरा राम्रो पनि हुँदैन । उदाहरणको लागि लक्ष्मीपूजामा परिवारसँग मिलेर उमङ्गका साथ दीप प्रज्ज्वलन गर्नु परम्परा हो, तर लक्ष्मीलाई पुज्दा धन पाउने आस गर्नु अन्धविश्वास हो । कुसे औँशीमा बाबुलाई मिठाइ, कपडा अर्पण गरेर मुख हेर्ने परम्परा हो; तर बाबु बितिसकेपछि ब्राह्मणलाई दिएको दान स्वर्गमा पुग्छ भन्ने विश्वास अन्धविश्वास हो । यसरी परम्परा र अन्धविश्वासबिचको सीमारेखा प्रस्ट देखिन्छ – पहिलो सांस्कृतिक स्नेह हो, दोस्रो अवैज्ञानिक धारणा । परम्परा सांस्कृतिक एकताको अभिव्यक्ति हो, अन्धविश्वास चाहिँ अवैज्ञानिक अपेक्षाको जाल ।
हाम्रो समाजमा खासगरी तीन प्रकारका मानिसहरू अन्धविश्वासलाई परम्परा भन्दै अगाडि बढाउँछन् । पहिलो, निरक्षर वा अशिक्षित, जसलाई विज्ञानसम्मत् सोच्न सिकाइएको छैन । दोस्रो, पढेलेखेका तर समाजद्वारा गरिने आलोचना र निन्दा सहन नसक्ने वा जोखिम लिन नचाहनेहरू । तेस्रो, राजनीतिज्ञ, जसले जनतालाई अज्ञानतामा राखेर आफ्नो फाइदा खोज्छन् । यी तीनवटै वर्गले एउटै ढङ्गले अन्धविश्वासलाई निरन्तरता दिइरहेका छन् । तर, यिनमध्ये सबैभन्दा खतरनाक त तेस्रो समूह हो, जो आफ्नो राजनीतिक स्वार्थको लागि मौन रहने वा नाटक गरेर अन्धविश्वासलाई पछ्याउने । नेपालजस्तो गरिब देशमा जहाँ अझै धेरै मानिस निरक्षर छन्, अन्धविश्वासलाई सच्याउन वा प्रश्न उठाउन सजिलो छैन । तर, समस्या निरक्षरहरूमाझ मात्र होइन डाक्टर, इन्जिनियर, प्राध्यापक वा आफूलाई बौद्धिक मान्ने वर्गले पनि यस्ता परम्परा भन्दै अन्धविश्वासलाई मज्जैले अँगालेका हुन्छन् । यिनीहरूले बुझ्छन्, तर बोल्दैनन्, प्रश्न गर्न सक्छन् तर गर्दैनन् ।
शिक्षित मानिसले अन्धविश्वासलाई परम्परा भनेर बचाउनु सर्वाधिक हानिकारक किन हो भने अशिक्षितले त बुझ्दैनन्, उनीहरूसँग त ज्ञान नै छैन । तर, पढेलेखेका मानिसले विज्ञान पढिसकेका हुन्छन्, तार्किक सोच सिकेका हुन्छन्, अन्तर्राष्ट्रिय दृष्टिकोण देखेका हुन्छन् । उनीहरूलाई थाहा छ, ब्राह्मणलाई दान गरेर मृतकलाई सन्देश पठाउन सकिँदैन, ग्रहदशा मिलाएर भाग्य पल्टिँदैन, भूतप्रेतको डर मानवीय कल्पनाभन्दा बाहिर केही होइन । तर पनि उनीहरू ‘परम्परा’ भनेर त्यसमा सहभागी हुन्छन् । उनीहरू प्रस्टै भन्छन्, “नगरे समाजले के भन्ला ?” यिनैको डरले अन्धविश्वास जीवित रहन्छ, यिनैको मौनताले नयाँ पुस्ताले प्रश्न गर्न सक्दैन ।
नेताहरूको कुरा गर्दा त झन् कहालिलाग्दो छ । “माक्र्सवादको नाममा वर्षौँसम्म वर्गसङ्घर्षको नारा दिने कम्युनिस्ट नेताले भैँसी पूजा गरेर तर्कसङ्गतताको हैन, विरोधाभासको ढोका खोलिदिएका छन् । जब क्रान्तिकारी दाबी गर्ने नेता नै भैँसीको सिङ अगाडि झुक्छ, तब जनताले बुझ्ने कुरा के हो भने, यहाँ क्रान्ति पनि अनुष्ठान बनेको छ, माक्र्सवाद पनि केवल खोक्रो मन्त्र । त्यसैगरी, माक्र्सवादको विज्ञानलाई मार्गदर्शक भन्नेवाला प्रधानमन्त्री ओलीले, अकस्मात् रामको जन्मस्थलको कथा निकालेर मिथकलाई राजनीति बनाइदिए । वर्गसङ्घर्षको दर्शन बिर्सिएर जब नेता नै पुराणको व्याख्याकार बन्छन्, तब जनतालाई थाहा हुन्छ – माक्र्सवाद यहाँ विज्ञान नभई सुविधाअनुसारको जादूटुना बनेको छ । यस्ता नेताले जनतालाई आलोचनात्मक सोचमा लैजान खोज्दैनन् । बरु अन्धविश्वासलाई अझै प्रोत्साहन गर्छन् । किन ? किनकि अन्धविश्वासी जनता सजिलै वशमा पर्छन् । प्रश्न नगर्ने जनता सजिलै ठगिन्छन् । जसरी कार्ल माक्र्सले भनेका थिए, “धर्म अफिम हो ।” अफिमले मानिसलाई अस्थायी शान्ति दिन्छ तर सधैँ नशामा बाँध्छ । त्यस्तै, अन्धविश्वासी परम्पराले पनि समाजलाई असली समस्याबाट टाढा राख्छ । बरु यस्ताले जनतालाई धार्मिक पर्व, रीतिरिवाज, मूर्तिपूजा, ग्रहशान्ति आदिमा व्यस्त पार्छन् । यसरी जनतासँग जोडिएका गम्भीर प्रश्नहरू दबाइन्छन्, उल्टै जनतालाई अन्धविश्वासको नसा खुवाइन्छ ।
कम्युनिस्ट विचारधाराले बारम्बार भनेको छ, धर्म वा अन्धविश्वासले समाजलाई बाँड्छ, दबाउँछ, अज्ञानतामा राख्छ । माक्र्सले भनेको कुरा नेपाल र भारतजस्ता गरिब देशमा झन् प्रस्ट देखिन्छ । यहाँ धर्म र अन्धविश्वासले मात्र होइन, परम्परा भनेर लादिएका अनावश्यक बोझहरूले समेत मानिसलाई विवेकहीन बनाएको छ ।
अब प्रश्न उठ्छ – हामीले के गर्ने ? पहिलो, हामीले अन्धविश्वासलाई परम्परा भनेर ढाकछोप गर्न बन्द गर्नुपर्छ । दोस्रो, हामीले समाजको आलोचना वा निन्दाको डर त्याग्नुपर्छ । जसरी नयाँ पुस्ताले सजिलै मोबाइल, इन्टरनेट, विज्ञानलाई आत्मसात् गरेका छन्, त्यसरी नै तर्क र विवेकलाई पनि आत्मसात् गर्नुपर्छ । हामीले बच्चाहरूलाई भन्नैपर्छ, “पुर्खाको नाममा झूटो कर्मकाण्ड गरेर होइन, असल काम गरेर सम्मान गरिन्छ ।”
शिक्षित वर्ग अझै मौन बसे भने समाज कहिल्यै बदलिँदैन । बरु उल्टै नयाँ पुस्ताले सोध्नेछ, “तिमीहरूले पढेलेखेर पनि किन यस्ता मूर्ख परम्परा मान्यौ ?” त्यसैले अब समय आएको छ, अन्धविश्वासलाई परम्परा भनेर नमान्ने । असल परम्परालाई सम्मान गर्ने, तर गलतलाई साहसका साथ अस्वीकार गर्ने ।
हामीले भोलिको पुस्तालाई हस्तान्तरण गर्ने परम्परा तर्क र विवेकमा आधारित हुनुपर्छ । यदि हामीले आजै यो नाटक रोक्न सकेनौँ भने हाम्रो सन्तानले पनि नाटक गर्नेछ, आँसु झार्नेछ, ब्राह्मणलाई दान दिनेछ, समाजको डरले विवेक बेच्नेछ । त्यो दिन आउन नदिन हामीले भोलि होइन, आजै बोल्नुपर्छ, “अन्धविश्वास परम्परा होइन, यो केवल समाजलाई बाँध्ने झूटो जाल हो ।”
हामीले आफ्नो परम्पराको सार बचाउन जरुरी छ – अन्धविश्वासको निरन्तरता होइन । धार्मिक ग्रन्थकै कुरा गर्ने हो भने भागवद् गीताको सन्देश छ, “बिना ज्ञान, बिना विवेक गरिएको पूजा व्यर्थ हुन्छ” — यसले हाम्रो चेतनालाई झकझकाउँछ, रीतिरिवाजमा मात्र होइन, मनको शुद्धतामा पनि ध्यान दिनुपर्छ । आफ्नो अन्तरात्मासँग सोध्नुपर्छ, “यो कर्मले मलाई शान्ति दिँदै छ, कि डर ?” यदि डरले हामीलाई नियन्त्रण गर्छ भने, त्यो परम्परा होइन, अन्धविश्वास हो । परम्परालाई मनको कोमलतासँग जोडौँ, अन्धानुकरणको सिक्रीले होइन ।
Leave a Reply