के मन्त्री भ्रष्टाचारको पर्याय हो ?
- चैत्र ३०, २०८२
प्रिय सम्पादक ज्यू,
मजदुर दैनिक, भक्तपुर ।
झन्डै तीन वर्षपहिले भक्तपुर नगरको ठाउँ–ठाउँमा सडक खन्दै अलपत्र पारिएको थियो । केही महिना र एक वर्षपछि केही तार बिछाएर छोडिएको थियो । कमलविनायकको सडकमा बायाँपट्टि छोपछाप पारिएको सडकको भागमा कहिले खाल्डाखुल्डी त कहिले हिलोको राज र अराजकता देखियो । कति मोटरको के–के पार्टपुर्जा भाँच्यो† कति यात्रुहरूले सास्ती भोगे । मानौँ, यो सहर कुनै अनकन्टार नयाँ बस्तीको बाटोजस्तो देखियो ।
हिजोआज पुनः खनजोत गर्दै विद्युत्का तारहरू रबरका पाइपहरूमार्फत घरघरमा जडान गर्ने सुरसारमा छन् । यो कति दिन र कति महिना लाग्ने हो पत्तो छैन ।
विदेशी सहयोगबाट हुने यस्तो कार्यमा सिंहदरबार वा सरकारले नगरपालिकालाई विस्तृत जानकारी दिनुपर्ने र नगरपालिकाले ती वडा र टोलका हरेक घरलाई पनि जानकारी दिएमा घरपति र घरमा बस्ने व्यक्तिहरू अलमलमा पर्ने थिएनन् ।
देश र जनताको हितमा हुने कुनै योजना सरकारले लागु गर्दा नगरपालिकामार्फत स्थानीय जनतालाई जानकारी हुनैपर्छ किनभने देश आज सङ्घीय गणतन्त्रमा प्रवेश भइसकेको छ । सोअनुसारको राजनीतिक सांस्कृतिक केन्द्रीय सरकार र प्रदेशले पनि सिक्नै पर्छ । सिंहदरबारका सामन्ती समाजमा हुर्केका माथिल्ला पदाधिकारीहरूलाई सङ्घीय गणतन्त्रको व्यवहार अभ्यस्त भइनसकेको होला ध्यान दिनु जरुरी छ ।
केही वर्षअगाडि सिंहदरबारको ठाडो आदेशले भक्तपुर लाय्कु (दरबार स्क्वायर) को पूर्वपट्टिको गल्ली र सडक अचानक खनेर अलपत्र पारेको थियो । थाहा भयो कि त्यो ठाउँमा जर्मन प्रोजेक्टभन्दा धेरै पहिले नै राम्रो प्राचीन ढलको बन्दोबस्त भएको थियो ।
तीन वर्षमा गल्ली र सडक हिलोको ताण्डवपछि यो निर्माणको ताण्डवबारे जनताले थाहा पाए । सबैले अनावश्यक दुःख पाए । यसकारण, निर्माण आकस्मिक नहोस् ।
धन्यवाद !
Leave a Reply