भर्खरै :

समाचारका शीर्षकहरू र देशको गन्तव्य

समाचारका शीर्षकहरू र देशको गन्तव्य

उषाले दिनको भविष्य बताउँछ भनेजस्तै समाचार शीर्षकहरूले देशको शासन व्यवस्थाको गन्तव्य बताउँछ । ‘नराम्रोको धेरै श्रृङ्गार’ भनेजस्तै शासक दलहरूको सैद्धान्तिक अधोगति र गन्तव्यविहीनताले जनता दिन दुगुना र रात चौगुना चिन्ताको अनुभव गर्छन् । एकपटक २० वर्षअगाडि भारतमा निर्वाचनको अगाडि र पछाडि नेताहरूलाई धार्नीका धार्नी सुनसँग तौलन्थे र पैसासँग तौलन्थे । बस, त्यस्तै नेपालमा पनि जतिजति देशको शासन व्यवस्था चौपट हुँदै गयो, त्यति त्यति जनताको निराशा र चिन्तालाई छल्न फकिर र बाबाहरूको तथाकथित चमत्कारका झ्यालीहरू पिट्न लगाए । परिणामतः भारत र दक्षिण एसियाको राजनीति झन्झन् दक्षिणपन्थी भासमा डुब्दै गयो । नेपाल त्यसबाट अछुतो छैन ।
१५ भदौ २०८२ को ‘राजधानी’ का शीर्षक र उपशीर्षकहरू यस्ता छन्, ‘गहकिला माला ः चाप्लुसीको होड’, ‘राजनेताको ढोग’, ‘प्रचण्ड र ओली पनि गहकिला मालामै’ र ‘१०१ किलो भिरेका पूर्वप्रदेश प्रमुख जेलमा’ आदि ।
१५ भदौ २०८२ कै ‘अन्नपूर्ण’ को एक शीर्षक हो, ‘पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको मालाले स्वागत ।’
भन्ने गरिन्छ – सामानको गुण घट्दै गएर व्यापार र लेनदेन कम भयो भने वस्तुको खोल र बट्टामा झिलिमिली थप्छन् र गन्धमा थपघट गर्छन् । सबै उपभोक्ताहरूलाई सामानको तौल र गुणबारे सोचिरहने फुर्सद कहाँ र जानकारी कहाँ ?
राम नवमी, कृष्णजन्माष्टमी र अन्य ‘भगवान्’ का दिवसहरूमा भक्तजनहरूको कमी हुँदै गएमा आयोजकहरू ढोल, नगरा, ठुल्ठुला लाउड स्पिकर (ढ्वाङ) मोटर र गाउँमा गाडामा श्रृङ्गार गरेर मानिसहरू जम्मा गर्थे । तर, स्वाभाविकरूपले गरिबी र शोषण बढ्दै गएपछि ठुल्ठुला सहरहरूका धार्मिक प्रचारमा वृद्धि हुने गथ्र्यो र झिलिमिली बढाएर जनतालाई मूर्ख बनाउँदै जान्थे ।
निर्वाचनमा शासक दलहरू आज पनि प्रचार र झिलिमिलीमा बढी खर्च र समय लगाउँछन् । जसले राजनीतिक छलफल घटाएर पुँजीवादी दलहरूको आपसी हिलो छ्यापाछ्यापलाई घटाउँछ र मजदुर, किसान र प्रगतिशील राजनीतिक दलहरूको आलोचना, आक्रमण र उदाङ्ग्याउने गतिविधिलाई कमभन्दा कम समय दिने जालसाजी गर्छन् ।
सामन्ती मालिकले पहाडी यात्रामा घोडा फेर्छन् !
आज अमेरिकी साम्राज्यवादले इजरायल र युक्रेनका शासकहरूमार्फत प्यालेस्टिनी र रुसी जनतालाई आक्रमण गरेर अरब देशहरू तथा युरोपेली देशका बाँकी जनतालाई तर्साउँदै छ । हिजोका अमेरिकी तानाशाहहरू प्रजातन्त्रको खोल ओढेर कूटनैतिक भाषामा युद्ध र हतियारको व्यापार गर्थे भने आज ट्रम्पजस्ता गाउँ र ससाना सहरका गुण्डाहरूले जस्तै हाकाहाकी धम्काएर तेल, ग्यास र सामानहरू बेच्न युरोप र अरब जनतालाई तर्साउँदै छन् । ट्रम्प व्यक्ति होइन बरु अमेरिकी साम्राज्यवादको एक मानिसको रूप मात्रै हो, काठमाडौँ उपत्यकाको गठेमङ्गल जात्रामा छ्वालीको गठेमङ्गलको पुतला र बारीको भूत (बुँख्याचा) जस्तो ।
वर्तमान नेपालका शासकहरू अमेरिकी साम्राज्यवादी मालिकहरूकै कोपभाजनबाट डराएर एकपछि अर्को ज्यू हजुरी गरी एमसीसीलाई ब्यँुत्याउने काममा सफल भए – यसको अर्को रूप हो नेपाल अमेरिकी साम्राज्यवादको ‘पिट्ठु हुनेमा दलहरू आपसमा प्रतिस्पर्धा’ गर्दै छन् ।
तर, बेलायती प्रजातन्त्रको नक्कल तथा वेस्ट मिनिस्टर व्यवस्थाको छवि पुरानो हुँदा अमेरिकी राष्ट्रपतीय बन्दोबस्तमा जाने तयारीमा संविधान हेरफेरको भित्री र बाहिरी अभ्यास गर्दै छन् । यसकारण, संसद्को सबभन्दा ठुला दल नेपाली काङ्ग्रेस सरकारको नेतृत्व नगरी ‘कम्युनिस्ट’ को नाममा ‘भ्यागुतो’ जस्तै फुलेका दलहरू बरोबर बनेका सरकारहरूले फालिएका स–साना टुक्रा रोटी टिप्दै छन् ।
हो, मालिकले काङ्ग्रेसलाई थाकेको घोडा सम्झेर कहिले ‘माओवादी’ र कहिले एमालेलाई सत्तामा ल्याउने गर्दै छ । नेपाली शासक नेपाली होला र घोडा चढ्ने मालिक सात समुद्र पारका छन् । नेपालका शासकहरूमा बुद्धिजीवी र सल्लाहकारहरू भने ‘दहीच्युरे’ छन् । पञ्चायतको बेला पञ्चायती, काङ्ग्रेस आए ‘जय नेपाल’, नयाँ आए ‘लाल सलाम’ र राप्रपा आए ‘राजा आउ देश बचाउ’ भन्नेहरू छन् । तर, नेपाली र नेपालको गन्तव्य भने अझै स्पष्ट छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *