ऐना
- असार २६, २०८३
काठमाडौँ, २६ चैत (रासस) ः जनआन्दोलन दिवसका अवसरमा राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णमा ३ नं प्रदेशस्तरीय बहुभाषिक कवि गोष्ठीसहितको नेपाल साहित्य महोत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विसं १९९७ मा युगकवि सिद्धिचरण श्रेष्ठले क्रान्ति शब्दको प्रयोग गरी ‘वर्षा’ शीर्षकको कविता लेख्दा १४ वर्षसम्म कारागार सजायँ सुनाइएको घटना सुनाउनुभयो । गोकर्णेश्वर ऐतिहासिकस्थल भएको उल्लेख गर्दै उहाँले इतिहासकारले आजसम्म पत्ता लगाउन नसकेको कैलाशकूट दरबार गोकर्णमै हुन सक्ने सम्भावना रहेको बताउनुभयो । जोशीले भन्नुभयो, “गोकर्णेश्वरको जमीनमुनि कैलाशकूटको भवन हुन सक्छ, यहाँको जमीनमुनि मुद्रामात्र पाए पनि यो स्थानको पुरातात्विक एवं ऐतिहासिक महत्व हुन्छ, उत्खनन्बाट प्राप्त हुने सानो प्रमाणले पनि खोज अनुसन्धानमा सहयोग गर्छ ।”
कार्यक्रममा प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले धादिङको सल्यानटारमा ३२ हजार, काभ्रेपलाञ्चोकको जनागालमा ११ हजार र सिन्धुलीको मरिनमा दुई हजार रोपनी खाली जग्गा फेला परेकाले प्रदेश सरकारले साहित्य केन्द्र, उद्योगधन्दा, कला प्रदर्शनी केन्द्र, विमानस्थललगायत संरचना निर्माणको तयारी गरेको जानकारी दिनुभयो ।
महोत्सवमा सांसद कृष्ण राई, प्रदेशसभा सदस्यद्वय छिरिङदोर्जे लामा र रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीलगायतले ३ नं प्रदेशमा प्रज्ञा–प्रतिष्ठान स्थापना गर्नुपर्ने माग गर्नुभयो ।
स्मारकका अध्यक्ष सुदर्शन सिग्देलले तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाहीको कानुनी व्यवस्था गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा रामकृष्ण दुवाल, प्रा डा ऋषिराम पोखरेल, डा शेषराज आचार्य, भाग्यशाली अधिकारी, दिव्यचन्द्र आचार्य, देवमणि घिमिरे, बाजुराम पौडेल, शारदा पराजुलीलगायतले आआफ्ना रचना पाठ गर्नुभयो । एकदिने महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, पुस्तक एवं पत्रपत्रिकाको प्रदर्शनी तथा डोरी तान्ने प्रतियोगितासमेत गरिएको थियो ।
Leave a Reply