लोकतान्त्रिक देशमा अलोकप्रिय निर्णय असान्दर्भिक
- बैशाख ११, २०८३
शासक दलका नेताहरू कमाउधन्दामा लाग्नु, देश र जनताको स्वार्थ छोडेर दलगत र व्यक्तिगत स्वार्थमा अल्झिनुको कारण जनतामा असन्तोष बढ्नु र त्यसविरुद्ध विद्रोह गर्नु अस्वाभाविक होइन । सिद्धान्त, विचार र नैतिकता छोडेर आफूखुसी मनपरी गर्ने कुनै पनि काम प्रजातान्त्रिक र कम्युनिस्ट दललाई सुहाउँदैन । दलले घोषणापत्र र प्रतिबद्धताअनुसार काम नगरी राजनीतिलाई कमाउने आधार बनायो भने त्यसको जसले पनि विरोध गर्छ र गर्नुपर्छ । धेरै अन्याय, अत्याचार, शोषण, दमन भयो भने, दल, नागरिक समाज या देशभक्त जनताले विरोध गर्दा गर्दै, खबरदारी गर्दा गर्दै भ्रष्टाचार र अनियमितता भइरह्यो या कुनै सुनुवाइ भएन भने बातमात्र होइन लात खानुपर्छ भन्ने कुरा भर्खरका युवाहरूको आन्दोलनले देखाइसकेको छ; पाठ सिकाइसकेको छ । त्यसको अर्थ सार्वजनिक सम्पत्ति, सम्पदा, भवनमा तोडफोड र आगजनी गर्नु होइन । सरकारी भवन र सम्पदा देशकै सम्पत्ति हो; जनताकै करबाट बनाइएको हो । यसको संरक्षण र संवद्र्वन कुनै पनि दल या आन्दोलनकारीले गर्नुपर्छ ।
आन्दोलनको कारण देशको खरबौँ बराबरको सम्पत्ति क्षति भयो । ६ दर्जनभन्दा बढीको मृत्यु भयो । सयौँ घाइते भए । पीडित परिवारहरू दुःखको आँसु पिएर जीवन बिताउन बाध्य भए । तर, हाम्रा शासकहरूमा नैतिकता छैन । शासकहरूले अरु दल, नागरिक समाज र जनताको कुरा सुन्ने र समस्या सम्बोधन गर्नेतर्फ कहिल्यै पाइला चालेनन् । सत्तामा पुगेपछि उनीहरू आफ्नै दलको घोषणापत्र र प्रतिबद्धता भुल्छन् या अन्यत्र थन्काउँछन् । जतिसुकै सुझाव, सल्लाह र खबरदारी गरे पनि शासकहरू सही बाटोमा नआएपछि शासकहरूप्रति जनता असन्तोष र अविश्वास मात्र होइन आक्रोशित हुनु अस्वाभाविक होइन । उनीहरूले जनताको आवाजलाई नसुनेको मात्र होइन विश्वासघात गरे । धेरै भएपछि कपास पनि गह«ौँ हुन्छ भनेझैँ युवाहरू जागे । उनीहरूले आन्दोलन छेडे । अन्ततः देशकै सबभन्दा शक्तिशाली भनिएको सरकार पनि टेकेन या ढल्यो ।
यसबेला विगतका शासकहरूले आत्मसमीक्षा गर्नुपर्छ । आफ्नो शासनको पालामा केकस्ता कमजोरी भयो ? कुन कुन शासक दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरूले के कति अनियमितता र भ्रष्टाचार गरे भन्नेबारेको आफ्नै दलका नेताहरूले खोजीनीति गर्नुपर्दैन ? सरकारमा बसेर शासक दलका नेता, मन्त्री र सांसदहरू धेरै अभिमानी भए, सत्ता र शक्तिको नाउँमा अरूलाई धम्काउने, तर्साउने र अरुलाई उठ्नै नदिने भनी झूटको खेती गर्ने, भ्रम फैलाउने काम गरेको जनगुनासो पुरानो होइन । ठुलो दल र सरकार आफ्नो हातमा छ भनेर अरुलाई गन्दै नगन्ने, पैसा बाँडेर, भोज खुवाएर, लोभलालच देखाएर जनता र कार्यकर्ता हातमा लिने काम कसरी सही हुन्छ ? त्यो जनतालाई कसरी पच्छ ? जनता यस्तो गलत राजनीति कसरी सहेर बस्न सक्छन् ? शासक दलका नेताहरू सरकारमा जान पाउनु या नेतृत्व गर्न पाउनु नै या ठुलो दल हुनु नै आफूलाई सही ठान्छन् । सरकारको नेतृत्व गर्ने दल मात्र ठीक अरू गलत सम्झने, अरुको कुरा नसुन्ने र दबाउने शासक दलका नेताहरूको बुद्धिले देशको स्थिति लथालिङ्ग भएको हो ।
शासक दलका हरेक नेताहरूमा नैतिकता हुनुपर्छ† नैतिक बल हुनुपर्छ । देशलाई नोक्सान हुने काममा शासक दलले कहिले पनि कुनै दलसँग सम्झौता गर्नु हुँदैन । शासकहरूले देशको सम्पत्तिमा रजाइँ मात्र होइन; सेवा सुविधा लिने प्रयत्न मात्र गरेको होइन एकपछि अर्को देशघाती सन्धि सम्झौँता गरे । शासक दलका नेता र मन्त्रीहरूले पदको दुरूपयोग गरे । सत्ता र ठुला दलको उन्मादमा चढेर धाक धम्की दिने, बुद्धि र विवेकभन्दा बल र पैसाको राजनीति गर्ने दलका नेताहरूमा कसरी नैतिक बल हुन्छ ? उनीहरू इज्जत र आस्थाको मतलब नै राख्दैनन् । उनीहरूमा दशभक्तिको भावना देखिँदैन । नेपाल र नेपालीलाई भन्दा विदेशी शक्ति राष्ट्रको स्वार्थमा लाग्ने, हिँड्ने दलका नेताहरूले देशलाई कसरी आत्मनिर्भर बनाउन सक्छन् ? देश झन्झन् परनिर्भर हुँदै छ । देशको अर्थतन्त्र कमजोर बन्दै छ । देश ऋणमा डुब्दै छ ।
नेमकिपाले संविधानसभाको निर्वाचनताका स्थानीय तहलाई मजबुत बनाएर विकेन्द्रीकरणको मान्यतालाई अघि बढाएको भए सङ्घीयता नै आवश्यक नभएको विचार व्यक्त गरेको थियो । नेमकिपाले एमसीसीको विरोधमा भक्तपुरदेखि काठमाडौँसम्म पैदल ¥याली गरेको थियो । विदेशीले पनि वंशजको आधारमा नेपाली नागरिकता पाउने नागरिकता विधेयकको विरोधमा सदन र सडकमा विरोध गरिएको थियो । देशघात र जनघात गर्ने दलको विरोध गरिएको थियो । नेमकिपाका सांसदहरू कहिले पनि सत्ता स्वार्थमा भुलेनन्; सत्तास्वार्थको निम्ति सत्ता गठबन्धनमा लागेनन् । नेमकिपाले गाडी सुविधाको विरोध ग¥यो । नेमकिपाका नेता कार्यकर्ताहरू लोभलालचमा भुलेनन् । यसकारण, नेमकिपाका नेता तथा कार्यकर्तामा नैतिक बल छ ।
हरेक लेखक, राजनीतिक विश्लेषक र आन्दोलनकारीहरूले देशका सबै दललाई एउटै दृष्टिले हेर्नु हुँदैन, हेर्नु उचित हुँदैन । प्रजातान्त्रिक देशमा दल आवश्यक छैन भन्ने होइन । आखिर दलले नै देशमा शासन गर्ने हो । शासक नेताहरूको गलत चिन्तन र खराबीको कारण दलप्रति जनताको विश्वास गुम्दै गएको हो । दल र दलका नेताहरूप्रति सही मूल्याङ्कन नहुनाले पनि सबैलाई एउटै दृष्टिले हेर्ने गर्छन्; यो गलत बुझाइ हो; यो दृष्टिदोष हो ।
Leave a Reply