ऐना
- असार २६, २०८३
बाओ निन्हद्वारा लिखित ‘युद्धको दुःख’ (The Sorrow of War) उपन्यासले अमेरिकी सैनिकहरूद्वारा भियतनामीहरूमाथि गरेको यातनालाई दर्साउँछ । बाओ निन्हको जन्म १८ अक्टोबर १९५२ मा भएको थियो । उनको वास्तविक नाम होआं उ फोंग हो । उनी भियतनामी उपन्यासकार, कथाकार र लघुकथाकार हुन् । लेखक भियतनाम युद्धमा सामेल भएका थिए र युद्धमा बाँचेका धेरै कम मान्छेमध्येमा उनी एक हुन् ।
युद्धको दुःख उपन्यास सन् १९९४ मा लेखिएको थियो । यसमा मुख्यगरी युद्धपछिको स्मृति, मूल्यको पुनर्मूल्याङ्कन र समाजको विषय उल्लेख गरिएको छ । यो उपन्यासले भियतनामीहरूको दुर्दशा र युद्धको कारण उत्पन्न भएको कठिनाइहरूको स्पष्ट विवरण दिएको छ । यो एक भियतनामी सैन्य अनुभवी दृष्टिकोण हो । यो उपन्यासमा भियतनामीहरूको अत्यधिक पीडा र हानिलाई अनुभव गर्ने सङ्घर्षको पक्ष देखाइएको छ ।
यो उपन्यासमा किएनको युद्ध अनुभवलाई देखाइएको छ । युद्धको अनुभवको बारेमा उसको बुझाई बाँकी भियतनामी समाजको धेरै निकट छ । किएनले सन् १९७५ को युद्धपछि बेपत्ता कारबाही अवशेष जम्मा गर्ने समूहको लागि लास जम्मा गर्दछ । ऊ अधिकांश समय युद्धमा भएको ठाउँमा फर्किएर आउँछ । उसले अलग–अलग धेरै दर्दनाक भिडन्तहरूको पनि नेतृत्व गरेको थियो र ती युद्ध कहिल्यै लडाइँमा भाग नलिएकाहरूका लागि धेरै अकल्पनीय थिए ।
किएनको युद्धका स्मरण धेरै ज्वलन्त हुन्छन् र तिनीहरूले ती स्थानमा लिएर जान्छन्, जसबाट पुनः युद्धको अनुभव हुन्छ । यिनीहरूले युद्धको क्रममा हुने दुःख र पीडालाई महसुस गराउँछन् । के मानिन्छ भने, यी स्मरणहरूले उसको हृदयको आघातलाई ठीक गर्नेछन्, तर यो एक युद्धको अनुस्मारक हो कि, ऊ जीवित रहुञ्जेलसम्म उसले युद्धको अनुभव गर्नेछ र स्मरण गर्नेछ ।
हत्या, बलात्कार र मृत्युका दृश्य भएको युद्धलाई कथामा स्पष्टरूपले चित्रण गरिएको छ । किएनको दृष्टिकोण भियतनाम युद्धको क्रममा एउटा सैनिकको दृष्टिकोण समान हुन्छ । भियतनाममा अपनाइएको रणनीति स्थितिको वास्तविकताअनुरूप थिएन । वास्तवमा संयुक्त राज्य अमेरिकासँग कुनै पनि देशको तुलनामा अत्यन्तै शक्तिशाली हतियार र युद्धसामग्री थिए । तर, यी सम्पूर्ण हतियार र युद्ध सामग्री परम्परागत रणनीति अपनाउने अनियमित सेनाको विरूद्ध निरर्थक थिए ।
भियतनाम युद्धको कारण आंशिकरूपमा भियतनाम सरकारमाथि हस्तक्षेप गर्ने संयुक्त राज्य अमेरिकाकाको नीति नै हो । सन् १९६७ र १९६८ मा भएको भियतनाम युद्धले देशलाई ध्रुवीकृत गरिदियो । सन् १९६६ र १९६७ को क्रममा भियतनाम दुवै पक्षको लागि युद्धको नरक बन्यो । सन् १९६८ सम्म भियतनाम युद्ध सबभन्दा लामो युद्ध बनेको थियो, जसमा अमेरिका सामेल थियो । हरेक मुख्य अमेरिकी विश्वविद्यलाय परिसरमा सक्रिय युद्धविरोधी प्रदर्शनकारीहरूले ड्राफ्ट कार्ड र अमेरिकी झन्डा जलाएका थिए ।
जनवरी १९६८ मा भियतनामको कम्युनिस्ट शक्तिले अमेरिकी बेसक्याम्प र दक्षिण भियतनामी सहर तथा गाउँहरूमा भयङ्कर आक्रमण गरेको थियो । किएनको वर्तमानमा उसका विगत दिनका स्मरण सामेल हुन्छन् । यी उसका जरा हुन् । परिस्थिति जतिसुकै कठिन भए पनि ऊ त्यहाँबाट मिलेका शिक्षा र त्यहाँ पाइने असल भावनाबाट आकर्षित हुन्छ ।
वर्तमानमा किएनको जीवनस्तरमा भविष्यका असल दिनको लागि चीजहरूलाई स्थापित गर्ने कुरा सामेल छ । त्यसबेला अमेरिकीहरूलाई युद्धको प्रकृतिको जानकारी थिएन र उनीहरू भियतमिन्हको विरूद्धमा लड्नको लागि कुनै रणनीतिक योजनाबाट लैस थिएनन् । मुख्य कुरा के थियो भने अमेरिकी सेनासँग धेरै वर्ष युद्ध लड्ने अनुभव नै थिएन । अमेरिकीहरूले सधैँ विगतका युद्धबाट जसरी विजय हासिल गरेका थिए, त्यसरी नै भियतनामीहरूलाई पनि जित्नेछन् भन्ने ठाने । तर, भियतनामको स्थिति आश्चर्यचकित बनाउने खालको थियो ।
उत्तर भियतनामलाई दबाउने कुरा अमेरिकी सैन्य अनुभवभन्दा परको कुरा थियो । भियतनाम युद्धमा अमेरिकाको सहभागिता सैन्य अनुभवको लामो अनुभवको परिणाम थियो । यसले उनीहरूलाई यो युद्ध अरू युद्ध जस्तो थिएन भन्ने कुरा मान्न विवश बनाइदिएको थियो । आफ्ना गल्तीहरूलाई स्वीकार गर्ने प्रयासबिना र उनीहरूको वर्षौँको साम्राज्यवादी प्रयासहरूको परिणाम थियो भन्ने कुराको पहिचान नगरीकन नै भियतनाम युद्ध सदैव कैयौँ अमेरिकीहरूको लागि एक रहस्यजस्तै बनेर रह्यो ।
किएनको लागि स्मृति, अतीत र शब्दहरूको सन्दर्भमा हरेक चीजलाई बुझ्ने कोशिश गर्ने कुरा उसको जीवनको अधिकांश समयको लागि मार्गदर्शक पुस्तक बनिरहन्छ । किएनको वर्तमान क्षण उसको अतीत र भविष्यको केन्द्रबिन्दु हो । यो घटित भएका सबै कुराको अभिव्यक्ति हो र त्यो स्थान हो, जहाँ कसैले ऊर्जा लगाउनु हुन्छ ताकि जे हुनेछ, त्यसलाई प्रभावित गर्न सकियोस् । हिजोका उसका कैयौँ स्मरणहरू भोलिका बारेमा थिए ।
किएनको लागि यसलाई स्मरण गर्ने र यसलाई अगाडि ल्याउने कुरा महत्वपूर्ण थियो किनभने यस सम्बन्धमा कसैले पनि प्रायः सजिलैसँग स्वयंलाई अतीतमा बन्द गर्न सक्छ । किएनको वर्तमान परिस्थितिलाई हेर्दा सङ्घर्षको विरूद्ध लोकप्रिय भावनामा असन्तोष बढिरहन्छ । जतिसुकै धूमिल भए पनि किएनका स्मरणले उसलाई अझ बढी सार्थक जीवन जिउनको लागि प्रेरित गर्दथे । उसले वर्तमान क्षणको महत्वलाई महसुस गर्दा सबभन्दा बढी जीवन्त हुन्छ । यद्यपि, के कुरा स्मरण गर्नु महत्वपूर्ण थियो भने जब ऊ हिजो र भोलिमा हराउँछ, तब यसको अन्ततः उसको आजमाथि असर पर्नेछ ।
‘द सरो अफ वार’ युद्धको पीडालाई व्यक्तिगत र समष्टिगतरूपमा उजागर गर्ने एक मौलिक कृति हो । यसले युद्धको नकारात्मकतामात्र नभई युद्धपछिको समाज र स्मृतिको जटिलतालाई पनि समेटेको छ । यसको शैली संवेदनशील र अत्यन्तै प्रभावकारी छ, जसले पाठकलाई युद्धको यथार्थताको नजिक पु¥याउँछ । यो उपन्यासले भियतनामी जनताको एउटा सांस्कृतिक आवाजको रूपमा पनि काम गर्छ, जसले युद्धका अनुचित पक्षहरूलाई विश्वसामु ल्याउँछ ।
उपन्यासको सम्पूर्ण कथा सङ्क्षिप्तमा
यो उपन्यास उत्तर भियतनामी सैनिक कियनका सन् १९६० र ७० को दशकको भियतनाम युद्धभन्दा पहिले, युद्धको क्रम र पछिका अनुभवहरूको कथा हो । यो पुस्तक भावनात्मकरूपले आहत मनको एक गहन, ज्वलन्त र सहानुभूतिपूर्ण चित्रण हो । यो पुस्तक चेतनाको एक धाराको शैलीमा लेखिएको छ । यसमा हालका घटनाहरू र सुदूर अतीत दुवैको वर्णनसँगै कथाकालमा बदलाव सामेल छ । पुस्तकको प्राथमिक विषयमा युद्धको कारण हुने पीडाको खोज र मानवीय सम्पर्कको सङ्क्षिप्त अनुभव सामेल छ, जसले त्यो पीडाबाट पार पाउने आशा दिन्छ । यसमा युद्धको दुःख, युद्धको समय र त्यसपछिका वर्षहरूमा एक युवक किएनका अनुभवहरूको विवरण उल्लेखित छ ।
उपन्यासको मुख्य पात्र किएन एक भियतनामी सैनिक हो । ऊ कम्युनिस्टको तर्फबाट भियतनामको गठबन्धनबाट लड्नको लागि युद्धमा प्रवेश गर्दछ । सम्पूर्ण उपन्यासमा किएनको उत्साह र आफ्नो देशको लागि लड्ने इच्छा, भविष्यको बारेमा उसको सपना, आफ्नो समाजको नाममा जित्ने उसको इच्छा र आकाङ्क्षालाई महसुस गर्न पाइन्छ । युद्धभन्दा पहिले किएनको जीवनमा सबै कुरा थियो, घरपरिवार, सबभन्दा बढी माया गर्ने प्रेमिका थिइन्, तर युद्धले उसको जीवनमा दुर्भाग्य लिएर आयो । युद्ध समाप्त भएपछि उसले स्वयंलाई सोध्यो, के मैले वास्तवमा युद्ध जितेँ त ? स्मृति किएनको निरन्तर साथी हुन्छ, किनभने सबै चीजमाथि नियन्त्रण प्राप्त गर्ने युद्धका घटनाहरू उसको दिमागमा छन् ।
उपन्यासले सुरुमा अतीतका घटनाहरूको बारेमा वर्णन गर्दछ र युद्धको समाप्तिपछिका महिनामा लास सङ्कलन समूहमा किएनका अनुभवहरूको वर्णन गर्दछ । जङ्गलको वायुमण्डलीय विवरण सुदूर अतीतका उसका स्मरणहरू, विशेषरूपले युद्धमा रक्तपात र बलिदानका उसका अनुभवहरूसँग जोडिएका हुन्छन् । यी अनुभव उसका बालककालका साथी र प्रेमिका फुओंगको आदर्श स्मरणहरूसँग पनि जोडिएका हुन्छन् ।
अन्ततः उपन्यासको कथाले युद्धपछिको वर्तमानमा पनि जोड दिएको छ । किएन हुर्किएको हनोई सहरमा आफ्नो जीवन र व्यक्तिगत पहिचानको पुनर्निर्माणको लागि सङ्घर्ष गरिरहेको हुन्छ । उपन्यासको कथा सुदूर अतीत, निकट अतीत र वर्तमानको बिचमा अगाडि–पछाडि भइरहन्छ, किनभने कियनलाई युद्धका अनुभव, फुओंगसँग उसको सम्बन्ध र आफ्नो अतीतलाई पछाडि छोडेर आफ्नो जीवनसँगै अगाडि बढ्ने प्रयाससँग जोडिएका स्मृति र भावनाहरूको अनुभव हुन्छ ।
युद्धको आघात र फुओंगसँग आफ्नो सम्बन्धको समाप्ति दुवैसँग सङ्घर्ष गर्ने प्रयासमा किएनमा मदिरा र सिगरेटको नशा बस्दछ । यसको साथै ऊ एकप्रकारले संस्मरण लेख्नमा गहनरूपले व्यस्त हुन्छ । किएनलाई युद्धमा आफ्नो अनुभव अभिलेखीकरण गर्ने जोश पैदा हुन्छ । कहिलेकाहीँ ऊ आफ्ना स्मरण र भावनालाई एक पाण्डुलिपिमा लेख्नको लागि पूरै रात जागिरहन्छ ।
किएनले एपार्टमेन्टको माथिल्लो तलामा रहने एउटी लाटी केटीको पाण्डुलिपिका पन्ना पढ्यो, जहाँ कुनै बेला उसका चित्रकार पिता बस्थे । आफ्नो हिस्साको लागि लाटी केटी किएनप्रति अनुरक्त हुन्छिन्, त्यसपछि पाण्डुलिपिका प्रायः भुलिएका पन्नाहरूलाई सङ्कलन गर्छिन्, तिनीहरूलाई कुनै प्रकारले क्रममा राख्छिन् र स्वयंलाई भावनात्मक भेद्यता र यौन आवश्यकताको नशामा चुर भएको क्षणमा किएनलाई यौन रूपमा प्रयोग गर्ने अनुमति दिन्छिन् । अन्ततः किएन फुओंगबाट अलग हुन्छ, जुन उसको वेश्यावृत्ति –परिभाषित विगतलाई स्वीकार्नमा असमर्थता र उसको आदर्श र अपेक्षामा खरो उत्रिनमा असमर्थताको कारण सुरु भयो ।
यही बिचमा उपन्यासमा वर्तमानको आघात र पीडाको अतीतसँग जोडिएका किएनका युद्धका अनुभवहरूको विवरण दिइएको छ । यसमा अरुद्वारा गरिएको लगातार बलिदान सामेल छ, यसकारणले ऊ र अन्य साथीहरू जीवित रहेका हुन्छन् । यहाँ आफ्ना साथी सैनिक हिएन र साहसी मार्गदर्शक होआसहित अन्य महिलाहरूसँग मुठभेड तथा एउटा साथी केनले सेना छोडेको र आफ्नी आमासँग खेतमा शान्त जीवनमा फर्किने दुर्भाग्यपूर्ण निर्णय सामेल छ । यहाँ उत्कृष्ट आशा र मानवताका झलकहरू पनि छन्, विशेषगरी किएन र केही उत्तरी भियतनामी कमरेडहरू र एक दक्षिण भियतनामी परिवारको बिचमा मुठभेडमा उनीहरूबिच दुश्मनी हुनुपर्नेमा यसको सट्टा उनीहरू दयालु पाहुना साबित हुन्छन् ।
उपन्यास चरमोत्कर्षमा पुग्दै जाँदा यसको समानान्तर अतीत र वर्तमान कथारेखाहरू एक हुन्छन् । अतीतमा किएन फुओंगमाथि बलात्कार भइरहेको देख्दछ, जो पुनः वास्तवमा उसको आँखाको सामु यस्ती महिलामा बदलिन्छिन्, जसको कामुकता ऊ जीवित रहने साधन हुन्छ । यसको साथै ऊ युद्धमा आफ्नो पहिलो व्यक्तिगत हत्या गर्दछ । वर्तमानमा किएनका स्मरण र पश्चाताप उसको पाण्डुलिपि लेख्ने उपचार प्रक्रियाबाट पनि अगाडि जान्छ र त्यो बेपत्ता हुन्छ । उपन्यासको अन्तिम पृष्ठमा कथावाचकको बारेमा थाहा हुन्छ । कथाको दृष्टिकोण किएनको छिमेकीको हुन्छ, जसले लाटी केटीबाट प्राप्त पाण्डुलिपिलाई अरुको लागि सुलभ ढङ्गले उपलब्ध गराउन सुसङ्गतरूपमा राख्ने प्रयास गरेको हुन्छ ।
Leave a Reply