जारशाही संसद्मा बोल्शेभिक सांसद – ८
- कार्तिक २६, २०८२

वडाध्यक्षको डायरीबाट
एक दिन साँझ पाँच बजे वडा कार्यालयबाट काम सकाएर घर गएँ । घरमा एक जना भाइ मलाई भेट्न कुरिरहेका थिए । उनी मेरो श्रीमतीसँग कुराकानी गर्दै थिए । म पुग्ने बित्तिकै मलाई नमस्कार गर्दै मलाई भेट्न कुरिरहेको भने । त्यस भाइलाई घरमै भेट्न आउनुको कारण सोधेँ । भाइले भने, “मेरो नाम कृष्ण पौडेल (परिवर्तित नाम) हो । मेरो घर चाँगुनारायण नगरपालिकाको नगरकोटमा पर्दछ । मेरो सानीमाकी छोरीको समस्या लिएर आएको हुँ । हुन त म आफैले पनि यो समस्या समाधान गर्न सक्छु । तर, भक्तपुर नगरपालिकाभित्र मैले यो काम गर्दा अलि अप्ठ्यारो होला कि भनी लागेर तपाईँसँग सहयोग माग्न आएको हुँ । मलाई विश्वास छ, तपाईँले मलाई सहयोग गर्नुहुनेछ ।”
ती पौडेल भाइको कुरा सुनेर मलाई अचम्म लाग्यो । आफ्नै हात र बुद्धिले समाधान गर्न सकिने समस्या समाधान गर्न किन मसँग सहयोग माग्न आएको होला भन्ने लाग्यो । मैले सोधेँ, “त्यस्तो के समस्या आयो ? तपाईँले समाधान गर्न सकिने भए पनि मकहाँ आउनुपर्ने बाध्यता प¥यो ? आफ्नो समस्या बताउनुस् । म सक्दो प्रयास गर्छु ।”
मैले समाधान गर्ने प्रयास गर्छु भनी प्रतिबद्धता जनाएपछि उनले आफ्नो समस्या सविस्तार बताउन थाले, “मेरी सानी आमा र बुबाले करिब नौ महिना पहिले घरमा पैसाको अभाव भएको हुँदा आफ्नो सुनको गहना एउटा सुन पसलमा धितो राख्नुभएको थियो । करिब तीन तोला सुन रहेछ । त्यही सुन धितोमा राखी करिब तीन लाख पैसा निकाल्नुभएको रहेछ । ब्याज दर चौविस प्रतिशत रहेछ । तीन महिनाको भाखा राखेर निकालेको पैसाको ब्याज समयमै मेरी सानी आमा र बुबाले निकाल्न सक्नुभएन । हिजो उक्त गहना निकाल्न भनी जाँदा तीन लाखको ६ लाख साँवा र ब्याज चाहिन्छ, नत्र सुन फिर्ता हुँदैन भनेर पठाएछ । म आफैँ सुन पसलमा गएर साहुजीसँग कुराकानी गर्दा मलाई पनि गाली र धम्की दिएर पठाए । ६ लाख तिरेर सुन लाने भए लानु, नत्र सुन गालेर बेचिदिनेछु भनी धम्की दिएर पठाएकोले तपाईँलाई म भेट्न आएको हुँ । सानी आमा र बुबाले तीन महिनामा ब्याज तिर्न नसकेर सुन निकाल्न नसक्दा त्यही कमजोरी समाएर चौबिस प्रतिशतको ब्याजलाई बढाएर सय प्रतिशत नै ब्याज लगाउने भनेको पनि न्यायोचित्त हो र भनेको ? त्यसैले तपाईँले सम्बन्धित वडाध्यक्ष वा निरीक्षक तथा कर्मचारी लगाएर भए पनि फिर्ता लिइदिनुप¥यो । तपाईँ एकपटक भोलि सुन पसलमा आएर सम्झाई दिनुप¥यो ।”
भोलिपल्ट दोस्रो प्रहरमा म सुन पसलमा पुगेँ । त्यहाँ सुवास भाइ, उनकी सानी आमाकी छोरी र अरू केही व्यक्तिहरू पनि त्यहाँ आइपुगेका थिए । मैले साहुजीलाई सुन बन्धकीको बारेमा सोधेँ । मेरो प्रश्नको उत्तर दिँदै उनले नरम भाषामा भने, “यहाँ तीन महिनाको लागि सुन बन्धकी राखेर तीन लाख रूपैयाँ लग्नुभएको थियो । यसको चौबिस प्रतिशत ब्याज हो । तपाईँहरूलाई दिएको कागजमा पनि यसबारे प्रस्ट लेखिएको छ । हामीसँग पनि पसलमा रेकर्ड छ । तर, तीन महिनापछि पनि सुन लिन आएन भने त्यो ब्याज दर छतीस प्रतिशतमा लिने हो । अब उहाँहरूले एघार महिनासम्म सुन पनि लिन आउनुभएन, ब्याज पनि तिर्न आउनुभएन अनि यहाँ हामीले मोबाइलमा सम्पर्क गर्दा सम्पर्कमै आउन चाहनुभएन । अहिले एक वर्ष भएपछि सुन लिन आएपछि त पसलको दर रेटमा सुन निखन्ने हो । नभए सुन छाडेर जाने हो । तपाईँहरू जहाँ जाने हो जानुस् । यो सबै सुन पसलको नियम हो । पैसा चाहिने बेला ब्याज तिर्छु भन्ने अनि अहिले ब्याज डब्बल ग¥यो भनेर भन्न पाइन्छ ? तपाईँलाई सुनको माया लाग्छ भन्ने डब्बल ब्याज तिरेर लाने हो । नभए यही छोडिदिनुस् ।”
सुन पसलको साहुले नरम भाषाले कडा धम्की दिनुभएको थियो । मैले पनि साहुजीलाई नरम भाषामा जवाफ फर्काउँदै भनेँ, “यो तपाईँको पसल हो । यहाँ तपाईँको नियम चल्छ । नगरपालिकाको पनि आफ्नै नियम कानुन छ । उसले पनि आफ्नो क्षेत्राधिकारभित्रका पसललाई नियमानुसार नगरेमा कारबाही गर्न सक्दछ । तपाईँ मिटरब्याजमा ब्याज हिसाब गर्न खोज्दै हुनुहुन्छ । तपाईँलाई वडा कार्यालय र नगरपालिकामा उजुरी हाल्ने हिसाबले आएका हौँ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पनि तपाईँ र तपाईँको पसलविरुद्ध उजुरी हाल्नको निम्ति तयारी अवस्थामा छौँ । कहीँ नभएको जात्रा हाडी गाउँमा भनेजस्तै कहीँ नचलेको ब्याज दर तपाईँ लिन मिल्दैन । सरकारी नियमले दस प्रतिशत ब्याज दर हो । यही नियमले हाम्रो सुन फिर्ता दिने भए सहजै दिनुस् नभए म वडाको वडाध्यक्षलाई बोलाउँदै छु । तपाईँको सुन पसललाई आजै ताल्चा लगाउनको लागि हामी सबै आएका छौँ ।”
मेरो जवाफ सुनेर सुन पसलको अर्को साहुजी रिसाए । उनी रिसाएर टेबुल ठटाउँदै भन्न थाले, “तिम्रो धम्कीले हामी डराउँदैनौँ । वडामा जाने भए पनि जानुस्, नगरपालिकामा जाने भए पनि जानुस्, जिल्ला प्रशासनमा जाने भए पनि जानुस् । यहाँ हाम्रो पसलकै नियम लागु हुन्छ । मिटरब्याजमै ब्याज लिने हाम्रो सुन पसलको चलन हो । जे गर्न सक्नुहुन्छ गर्नुस् ।”
उहाँको धम्कीपूर्ण कुरा सुनेपछि मलाई झनै रिस उठ्यो । त्यसकारण, मैले सम्बन्धित वडाको वडाध्यक्षलाई फोन गरेँ र सुन पसलको अनियमित कार्यको विषयमा जानकारी गराएँ र उहाँलाई तत्काल सुन पसलमा आउन अनुरोध गरेँ । त्यसपछि नगरपालिकाको अनुगमन विभागको संयोजक र प्रशासन प्रमुखलाई पनि कल गरेँ । अनुगमनको संयोजकलाई सुन पसलमा तत्काल अनुगमन गर्न, जाली तमसुक तथा कागजातहरू जफत गर्न अनुरोध गरेँ । मैले नगरपालिका र वडाध्यक्षलाई फोन गरेको कुरा उनीहरूले सुनिरहेका थिए । मैले फोन गरेको पाँच मिनेटमै वडाध्यक्षले वडा निरीक्षकलगायत एक टीम सुन पसलमा पठाउनुभयो । मैले त्यो टीमलाई पसलमा भएका कागजातहरू कानुनी प्रक्रियामा रहे नरहेको हेर्न, पसल दर्ता भए नभएको हेर्न र पसलमा भएका अनियमितता हेर्न आग्रह गरेँ ।
निरीक्षकले सुन पसलको साहुलाई आवश्यक कागजातहरू देखाउन आग्रह गर्नुभयो । उहाँले सरकारी दर रेटमा मात्र ब्याज लिएर सुन फिर्ता गर्न निर्देशन दिनुभयो । सुन पसलमा वडाको टोली नै आएपछि सुन पसलका साहुहरूको स्वर सानो भयो । साहुले नरम भाषामा भन्न थाले, “मैले मिटरब्याज लिने भनेको होइन । यसरी वडाकै टीम आएर भन्नुपर्ने विषय होइन । म ब्याज नै नलिइकन सुन फिर्ता दिन तयार छु । हामीलाई तीन लाखमात्र दिएर सुन फिर्ता लाँदा हामीलाई फरक पर्दैन । तपार्इँहरू सुन फिर्ता लिएर जानुस् । हाम्रो गल्तीप्रति क्षमा माग्न चाहन्छु । तपाईँ त्यत्तिकै सुन फिर्ता लिएर जानुस् ।”
प्रतिउत्तरमा मैले भनेँ, “मान्छे जोसुकै भए पनि मिटरब्याज लिनु गलत हो । आइन्दा कसैलाई मिटरब्याज लिने काम नगर्नुस् । तपाईँको पसलबाट सित्तैमा सुन फिर्ता लानु छैन । तपाईँसँग लिएको रकम र एघार महिनाको सरकारी रेटअनुसार ब्याज दिएर जान्छौँ । मान्छेअनुसार ब्याज दर फरक गर्नु भनेको पञ्चायतकालमा हो । अहिले देशमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था छ । एक्काइसौँ शताब्दीमा मिटरब्याज लिने भनेको पनि हुन्छ र ? त्यसैले समयमै विचार पु¥याउनुहोस् ।”
त्यसपछि पसलको साहुजीले दस प्रतिशत ब्याज दरमा सुन फिर्ता गरिदिए । त्यसपछि हामी सबै सुन पसलबाट फिर्ता भयौँ ।
Leave a Reply