पद, पैसा र प्रमाण
- आश्विन ११, २०८२
भक्तपुर, ११ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३५ औँ स्थापना दिवसको अवसरमा शनिबार नेक्रायुसङ्घ भजिसद्वारा समसामयिक राजनीतिबारे छलफल गर्न सूर्यविनायकमा जिल्लास्तरीय युवा भेला आयोजना भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “सरकारले सामाजिक सञ्जाल सुरूमा दर्ता गराउनुपर्ने थियो, वर्षौँपछि बन्द गर्दा जनतामा असन्तुष्टि बढ्यो । भदौ २३ गते सरकारले काठमाडौँ र सुनसरीमा गोली हानेपछि स्थिति भड्कियो । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नयाँ पुस्ताको प्रदर्शनमा घुसपैठ गराएर विध्वंस मच्चाएको अनुमान गर्न सकिन्छ ।”
“आफूलाई दुईतिहाइ बहुमत प्राप्त भएको भनेर दम्भ देखाउने राजनीतिक दलका शासकहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद्, प्रहरी कार्यालयलगायतका सरकारी सम्पत्ति जल्दा कहाँ गए ? सरकारमा गएकाहरूले जनता सडकमा आउनै नपर्ने गरी समयमै समस्या समाधान गरेका भए यस्तो सङ्कट आउने थिएन ।” उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो, “अस्थिरता भए सरकार कमजोर हुन्छ र विदेशीको हस्तक्षेप बढ्छ । सरकारमा गएकाहरूमा देश र जनताको निःस्वार्थ रूपले सेवा गर्ने भावना हुनुपर्छ । प्रधानमन्त्री, मन्त्री फेरिँदैमा जनताको जीवनस्तरमा परिवर्तन आउँदैन । जनताको जीवनस्तर परिवर्तन हुन शिक्षा, स्वास्थ्य निःशुल्क, उत्पादनका साधनहरू राष्ट्रियकरण, स्वदेशमै रोजगारीको बन्दोबस्त हुनुपर्छ ।”
उहाँले भ्रष्टाचारको अन्त्य गर्न सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने, ठुला भ्रष्टाचारीलाई जेलमा थुन्नुका साथै मृत्युदण्डसमेतको सजाय हुने कानुनी व्यवस्था जरूरी रहेको विषय नेपाल मजदुर किसान पार्टीले उठाउँदै आएको बताउनुभयो ।
अतिथि सुुवालले भन्नुभयो, “नेपाली काङ्ग्रेस, एमाले, माओवादीलगायतका शासक दलहरूले भारतसँग देशघाती सन्धि गरे । महाकाली सन्धि गर्दा एमालेले ‘देश झिलिमिली हुन्छ, देशलाई खर्बौँ रुपैयाँको आम्दानी हुन्छ’ भनेको थियो । नेपालको नदीनाला भारतलाई दिएर देश कसरी विकास हुन्छ ?”
उहाँले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठले नेपाली काङ्ग्रेस पार्टी विदेशी पुँजीको सेवा गर्ने पार्टी भएको उल्लेख गर्दै नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको बताउनुभयो ।
“२००७ सालको क्रान्तिमा भारतीय शासकहरूले राजा, राणा र काङ्गे्रसलाई दिल्लीमा बोलाएर सम्झौता गराए । राणाकै नेतृत्वमा सरकार गठन गरेर बीपी, गणेशमान र सुवर्ण शमशेरलाई मन्त्री बनाइयो । मातृका कोइराला प्रम भएपछि उत्तरी सीमामा भारतीय चौकी राख्न दिइयो । अहिलेसम्म कालापानीमा भारतीय सेना छ । सरकारले विदेशीको भरमा होइन, आफ्नै खुट्टामा उभिएर नेपालको विकास अगाडि बढाउनु जरूरी छ । नयाँ पुस्ताले इतिहास र विश्व राजनीतिबारे अध्ययन गर्नु आवश्यक छ ।” सचिव सुवालले भन्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईले पार्टीका कार्यकर्ताहरूले पश्चिमाहरूको सञ्चारमाध्यममा व्यक्त भएका भनाइलाई आधार मानेर अवधारणा बनाउन नहुने विचार राख्दै युवा कार्यकर्ताहरूमा पार्टीको निर्देशन अक्षरशः पालना गर्ने अनुशासन हुनु जरूरी रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्तालिनको निधनपछि अमेरिका र पश्चिमाहरूले नियोजित रूपमा सोभियत रुसमा षड्यन्त्र गरेर रुसलाई टुक्रा टुक्रा पारेको इतिहासबाट युवा पुस्ता सजग हुनु जरूरी छ । साम्राज्यवादीहरूले एनजीओ आईएनजीओमार्फत अरू देशमा विध्वंसकारी गतिविधि गराउँछन् । नेपालमा पनि साम्राज्यवादी मुलुकहरूद्वारा सञ्चालित एनजीओ आईएनजीओहरूले समाज बिगार्न खोज्दै छन् । युवाहरू सचेत हुनुपर्छ ।”
नेपाल मजदुर किसान पार्टी सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले नेपाल मजदुर किसान पार्टीका अग्रजहरूले २०२५/२६ सालतिरै भ्रष्टाचारीलाई उल्टो टोपी लगाएर नगर परिक्रमा गराएको स्मरण गर्दै भ्रष्टाचार अन्त्यको निम्ति समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले दोस्रो विश्वयुद्धपछि सोभियत रुसमा समाजवादी व्यवस्थाको अस्थायी हारपश्चात् विश्वमा स्थापना भएको संरा अमेरिकाको प्रभुत्व धरमराउन थालेपछि पुनः आफ्नो एकधु्रवीय प्रभुत्व कायम राख्न रङ्गीन क्रान्तिका नाममा विभिन्न देशको सरकार परिवर्तन गराउने खेलमा संरा अमेरिका लागेको यथार्थ नयाँ पुस्ताले बुझ्नु जरूरी रहेको उल्लेख गर्नुभयो ।
आयोजक समितिका संयोजक जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेक्रायुसङ्घ भजिसका उपाध्यक्ष एचएस सुवालले भदौ २३, २४ को घटनाबारे प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा नेक्रायुसङ्घ भजिसका सरोज तामाङ र रोशन मचामसीले पनि बोल्नुभएको थियो ।
Leave a Reply