सरकारले विदेशीको भरमा होइन, आफ्नै खुट्टामा उभिएर विकास अगाडि बढाउनुपर्ने
- आश्विन ११, २०८२
भक्तपुर, १२ असोज । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका चिकित्सक, कर्मचारी तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरूबिच शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ
(रोहित) ले भक्तपुर नगरपालिकाको हरेक गतिविधिमा जनताको साथ र सहयोग भएकै कारण यहाँका सबै नीति कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइरहेको बताउनुभयो ।
विदेशी पर्यटकहरूको पहिलो रोजाइ बन्न सफल देशकै सुन्दर र आकर्षक नगर भक्तपुरले आफ्नो सन्तुलित विकासमार्फत यहाँका जनतालाई सहुलियत दरमा सेवासुविधा पनि उपलब्ध गराउँदै आएको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले ख्वप अस्पतालले जनताको सेवालाई प्राथमिकतामा राखी आफ्नो सेवा विस्तार गर्दै जानुपर्ने बताउँदै उहाँले अस्पतालमा हुने ससाना गल्तीले ठुलो दुर्घटना हुनसक्ने हुँदा यहाँ कार्यरत चिकित्सक कर्मचारीहरूले संवेदनशीलता अपनाएर काम गर्नुपर्छ भन्नुभयो ।
उहाँले विद्यालयहरू स्तरीय भए त्यहाँबाट उत्पादन हुने विद्यार्थीहरू पनि योग्य हुने बताउँदै समाजको परिस्थितिअनुसार ऐन कानुनहरू संशोधन गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।
जेनजी आन्दोलनजस्ता अप्रत्यासित घटनाहरू संसारका विभिन्न देशहरूमा पनि हुँदै आएको बताउँदै यस्ता आन्दोलनहरूमा साम्राज्यवादी र विस्तारवादीहरूको स्वार्थ लुकेको हुन्छ भन्नुभयो ।
देशका युवाहरूलाई हातमा लिएर नेपालमा पनि विदेशी चलखेल सुरु भएको बताउँदै उहाँले साम्राज्यवादी र विस्तारवादी देशहरूबाट नेपाल समयमै सचेत र सजग हुनु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चाडपर्वको समयमा अस्पतालले थप व्यवस्थित र सतर्कता अपनाएर काम गर्नुपर्ने बताउँदै ख्वप अस्पतालले बढ्दो बिरामीको चापलाई ध्यान दिएर उपचार सेवालाई विस्तार गर्दै आएको बताउनुभयो ।
जेनजी आन्दोलनले नेका, एमाले र माओवादीजस्ता लामो समय शासन सत्तामा बसेर शासन गर्ने शासक दलहरूलाई सत्ताबाट हटाएर विदेशी चलखेल बढ्ने आशङ्का बढाएको बताउँदै उहाँले एनजीओ र आइएनजीओमार्फत साम्राज्यवादीहरूले आफ्नो अनुकूलका सरकार निर्माण गर्न आफूभन्दा कमजोर देशहरूमाथि आर्थिक सहयोगको नाउँमा राजनैतिक हस्तक्षेप सुरु गरेका उदाहरणहरू प्रस्तुत गर्नुभयो ।
नेपालका शासक पार्टीहरूको विदेशभक्ति, बुद्धिजीवीहरूमा रहेको विदेशी दलाल र देशलाई परनिर्भर बनाउने सोचले नेपाल राजनैतिक र आर्थिक रूपले कमजोर हुँदै गएको बताउँदै उहाँले विदेशीले लगानी गर्न दिएको पैसामा राजनैतिक स्वार्थ लुकेको हुने हुँदा भक्तपुर नगरपालिकाले विदेशी सहयोगलाई अस्वीकार गर्दै आत्मनिर्भर बनाउन खोजिरहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले नेपालले आत्मनिर्भर भएर आफ्नो विकास नगरेसम्म देशले समृद्धि हासिल नगर्ने बताउँदै अरुको सामु झुक्ने प्रवृत्तिले देशलाई उपनिवेश बनाउने खतरा बढिरहेको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले संस्थाको विकास र हितको लागि सबै कर्मचारीहरूले संयमित र एकीकृत भएर काम गर्नुपर्ने बताउँदै नयाँ पुस्तामा देश बनाउन समर्पणभावले मात्र देशको भलो हुने बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभयो ।
Leave a Reply