भर्खरै :

सम्पदा पदयात्रा वैशाख ८ मा

काठमाडौँ, २९ चैत (रासस) ः अन्तर्राष्ट्रिय सम्पदा दिवशको सन्दर्भमा हनुमानढोकादेखि स्वयम्भूसम्म यही वैशाख ८ गते सम्पदा पदयात्रा हुने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा विश्व सम्पदा उत्सव मूलसमारोह समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले एक विश्व सम्पदास्थल हनुमानढोकादेखि अर्को विश्व सम्पदास्थल स्वयम्भूसम्मका ऐतिहासिक महत्व बोकेका धेरै सम्पदाबारे जानकारी गराई तीनका संरक्षण तथा प्रचारप्रसार गर्न पदयात्रा गरिन लागेको बताउनुभयो ।
काठमाडौँ क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले प्राचीन समयदेखि नै नेपाली कला निर्माणका शैली र बनौटका हिसाबले विश्वमा लोकप्रिय रहेको भए पनि संरक्षणका अभावमा पूराना सम्पदा जीर्ण बन्दै गएको अहिलेको अवस्थामा पदयात्राले त्यस क्षेत्रमा रहेका विभिन्न सम्पदाकाबारे जनचेतना अभिवृद्धि गर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा स्थानीय मरु गणेश, काष्ठमण्डप, मरु हिटी, सन्तानेश्वर महादेव, मरु बही, बन्जा हिटी, दमाई टोल, नरदेवी, लोकेश्वर मूर्ति, भूइँखेल हुँदै स्वयम्भूसम्मको पदयात्राको मार्ग व्यवस्थापन गरिएको छ ।
आगामी वैशाख ५ गते परेको अन्तर्राष्ट्रिय सम्पदा दिवशका अवसरमा उक्त समितिले वैशाख २ गतेदेखि सरसफाइ, खेलकुद, चित्रकला प्रदर्शनीलगायतका सप्ताहव्यापी कार्यक्रम गर्ने जनाएको छ । स्थानीय बाजागाजा, झाँकी, सेना, प्रहरी, विद्यार्थी, खेलाडीलगायतको सहभागिता रहने उक्त यात्राको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकामा उद्घाटन गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम्भू भूइँखेल मैदानमा समापन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *