आन्दोलनको उपलब्धि विकृतिको निरन्तरता ?
- आश्विन २३, २०८२
भक्तपुर, २५ असोज । “विद्यालय, परिवार, समाज र परिवेशले हरेक मानिसको व्यक्तित्वमा प्रभाव पार्छ । विद्यालय र विश्वविद्यालयका विद्यार्थीमा शिक्षकले धेरै प्रभाव पर्छ । शिक्षक सफल, योग्य, असल, दूरदर्शी, अनुशासित, देशभक्त, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयका जानकार भए विद्यार्थीहरू पनि त्यसरी नै सिक्छन् र अघि बढ्छन् । शिक्षकले पाठ्यपुस्तकबाहेक राष्ट्रिय अन्तर्राष्ट्रिय विषयबारे विद्यार्थीलाई सुसूचित पारे देशको सेवा गर्न उनीहरू अझ उत्प्रेरित भएर अघि बढ्नेछन् ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले जेन्युइन स्कूलको ३० औँ वार्षिकोत्सवको अवसरमा ‘बुद्ध शिक्षा र दर्शन’ का विविध विषयमा शनिबार आयोजित समारोहमा व्यक्त गर्नुभएको हो ।
विद्यालयको मूल समारोह समितिद्वारा आयोजित उक्त समुद्घाटन कार्यक्रममा पार्टी अध्यक्ष बिजुक्छेँले विद्यार्थीहरूलाई जगैदेखि राम्रो, सबल, सक्षम र विविध विषयमा जानकार बनाई योग्य बनाउन शिक्षकहरू नै सक्रिय र योग्य हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विदेशको कुरा सुनेर देशका जुत्ता कारखानालगायत उद्योग, कारखाना बिक्री गरेर देशलाई सरकारले परनिर्भर बनाएकोमा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “उद्योग बन्द हुँदा निर्यात घट्यो र आयात बढ्यो । यसले आयस्रोत बढाउनुको सट्टा देशको सम्पत्ति बिदेसिएर अर्थतन्त्रमा असर प¥यो ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “देशमा २०१७ सालपछि अमेरिकाले भियतनाममाथि गरेको आक्रमणको विरोधमा भक्तपुरमा पहिलोपटक जुलुस तथा विरोध प्रदर्शन भयो ।”
“पार्टी विचारको सङ्गठन हो; बुद्धिजीवीहरूको सङ्गठन हो, गुण्डाहरूको होइन । शासकहरूको गलत राजनीति र क्रियाकलापले गर्दा देशमा जनताले दुःख पाएका हुन् ।” उहाँले भन्नुभयो ।
जनताले दलको घोषणापत्रको आधारमा निर्वाचनमा मतदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “जनता कसैको लोभलालचमा फस्नुहुँदैन । जनताले जात, क्षेत्र, भाषा, लिङ्ग हेरेर मतदान गर्ने होइन ।”
उहाँले भन्नुभयो, “धर्म भनेको दर्शन पनि हो, जीवनपद्धति हो ।”
“शिक्षकहरू कल्पनाशील हुनुपर्छ; विद्यार्थीको भविष्य उज्ज्वल बनाउन शिक्षकले धेरै अध्ययन गरेर ज्ञान बाँड्नुपर्छ । ज्ञान बाँड्दा पुराना पुस्ताले नदेखेको नयाँ पुस्ताले थाहा पाउनेछ । शिक्षक विद्यार्थीको भविष्य जीवन सुनिश्चित गर्न हरपल तयार हुनुपर्छ । अतः देश विदेशका नयाँ नयाँ पुस्तक पढ्नुपर्छ; आफ्नो ज्ञान र अनुभव नयाँ पुस्तालाई बाँड्नुपर्छ ।” अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
पैसाको निम्ति जे पनि गर्ने कार्यको निन्दा गर्दै उहाँले भन्नुभयो, “देशको विकास गर्न र जनताको जीवन सुनिश्चित बनाउन सबैजना देश र जनताप्रति जिम्मेवार भएर लाग्नुपर्छ ।”
बौद्ध विद्वान, अनुसन्धानकर्ता एवं परियति सद्धम्म कोविदका त्रिरत्न मानन्धरले बुद्ध शिक्षा जीवन सिकाउने मार्गनिर्देशक रहेको उल्लेख गर्दै द्वन्द्व निवारणमा बुद्ध शिक्षाले उल्लेखनीय सहयोग गरेको विचार व्यक्त गर्नुभयो ।
महामानव र शान्तिकामी बुद्धको सन्देश जनतामा प्रवाह गर्ने उद्देश्यले ‘बुद्ध शिक्षा र दर्शन’ बारे गरिएको सेमिनार महत्वपूर्ण कदम रहेको विचार व्यक्त गर्दै उहाँले बुद्ध समुदायको गुरुमात्र होइन संसारकै साझा व्यक्तित्व र राष्ट्रिय विभूति हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले भन्नुभयो, “बुद्ध शिक्षा धर्म र सम्प्रदायको मात्र होइन जीवन पद्धतिकै रूपमा विकास भइरहेको छ ।”
विश्व शान्ति विहारका भिक्षु, अखिल नेपाल भिक्षु महासङ्घका महासचिव निग्रोधले अन्धकार, अज्ञानता हटाएर दुःखको मुक्ति गर्ने बाटो मध्यम मार्ग अपनाउन आग्रह गर्दै बुद्ध शिक्षालाई नैतिक, सामाजिक शिक्षा दिने, शान्ति, सद्भाव छर्ने मार्गनिर्देशको रूपमा लिनुपर्छ भन्नुभयो ।
नेपालमा जन्मेर भारतमा बुद्धत्व प्राप्त गरी संसारभर बुद्ध शिक्षा प्रचार गर्न बुद्ध सफल भएको औँल्याउँदै उहाँले बस्ती बस्तीमा बुद्ध शिक्षाका सूत्र र ज्ञान प्रदान गरेर रक्तपात, विध्वंस आक्रान्त विश्वलाई शान्त पार्न शान्तिको सन्देश छर्ने काम बुद्धले गरेको स्मरण गराउनुभयो ।
“साम्राज्यवादी विस्तारले संसारमा शान्त होइन आक्रान्त बनाउँछ । संसारमा युद्ध होइन शान्ति चाहिन्छ† रक्तपात बन्द गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
बौद्ध शिक्षा अध्येता सुदर्शना बज्राचार्यले शिक्षा नै बल हो; शिक्षाले दैनिक जीवनयापन गर्न मार्गनिर्देश गर्छ, बुद्ध शिक्षा जीवनोपयोगी शिक्षा हो भन्नुभयो । शरीर, मन र वचनले कुनै पनि अकुशल कार्य गर्न नहुने चर्चा गर्दै उहाँले अकुशल कार्यले राम्रो नराम्रो, नैतिक अनैतिक, सही गलत छुट्याउन नसक्ने बताउनुभयो ।
क्रोध, लोभ, राग र द्वेषले क्लेश निम्त्याउने र त्यसले दुःख हुने विचार व्यक्त गर्र्दै उहाँले भन्नुभयो, “संसारमा दुःख छ; दुःखको कारण छ† दुःख अन्त्य गर्ने उपाय पनि छ ।”
विद्यालयको वार्षिकोत्सव समारोह मूल समितिका संयोजक एवं कार्यक्रमका सभापति योगेन्द्रमान बिजुक्छेँले विद्यालयले पाठ्यपुस्तकको शिक्षाबाहेक विद्यार्थीहरूलाई सामाजिक ज्ञान, व्यवहारिक र बौद्ध शिक्षा ज्ञान पनि प्रदान गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बुद्ध शान्तिका दूत, महामानव मात्र होइन महान् शिक्षक पनि हुनुहुन्थ्यो ।”
समारोहका अतिथि बिजुक्छेँद्वारा बेलुन उडाएर उद्घाटन गरिएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजन धौभडेलले स्वागत गर्दै बुद्ध शिक्षाले सत्मार्ग देखाएको छ भन्नुभयो ।
कार्यक्रममा सहायक प्रधानाध्यापक सौगात गेलालले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभयो ।
वार्षिकोत्सवको उद्घाटनपछि ‘बुद्ध शिक्षा र दर्शन’ बारे सेमिनार भएको थियो । उक्त सेमिनारमा बुद्ध शिक्षा र सुशासन, बौद्धिक जगतका व्यक्तित्वहरू र बुद्ध शिक्षा र मानव अधिकारबारे आ–आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
सेमिनार आइतबार पनि सञ्चालन हुनेछ ।
Leave a Reply