भर्खरै :

समाजवादी गणतन्त्रको निम्ति पूर्वाधार तयार गर्नु आवश्यक

समाजवादी गणतन्त्रको निम्ति पूर्वाधार तयार गर्नु आवश्यक

शासक दलका नेताहरू अब भए पनि सच्चिनुपर्छ । विगतमा भए गरिएका कमजोरीहरू सुधार्नुपर्छ । विगतमा झैँ शासक दलका नेताहरू आफ्नै सुर र तालमा लागेमा फेरि अर्काे दुर्घटना हुन बेर लाग्दैन । शासक दलका नेताहरूले विगतमा के–के गल्ती गरे समीक्षा गर्नु आवश्यक छ । दलभित्र दलको नेतृत्वको होडबाजिभन्दा पार्टीको उद्देश्यअनुसार राजनीति अघि बढाउनेतर्फ चासो राख्नुपर्छ । पार्टी कम्युनिस्ट भन्ने तर कम्युनिस्टको उद्देश्यअनुसार काम हुँदैन भने दलको नेतृत्वमात्र परिवर्तन गरेर केही हुनेवाला छैन । दलको नेतृत्व गर्ने नेताहरू इमानदार, निःस्वार्थी भएनन् भने, देश र जनताप्रति जिम्मेवार भएनन् भने विगत र आगतको नेतृत्वमा केही फरक हुने छैन ।
शासक दलका नेताहरूबिच पार्टीको उद्देश्य र सिद्धान्तअनुसारको राजनीति अघि बढेको छ कि छैन† दलका नेता, मन्त्री र सांसदहरूले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पालना गरेका छन् कि छैनन् भन्नेबारे दलभित्र गहन छलफल हुनुपथ्र्याे, सिंहावलोकन हुनुपथ्र्याे । आउने नेतृत्व पक्ष पनि लोभी, पापी, स्वार्थी, भ्रष्ट, घुस्याहा भयो भने, अवसरवादी राजनीतिमा हामफाल्यो भने राम्रो र नराम्रोको पहिचान कसरी गर्ने ? नेपालको कम्युनिस्ट आन्दोलन कसरी अघि बढाउने र कम्युनिस्ट पार्टी कसरी बलियो बनाउनेभन्दा पनि जसरी भए पनि दल ठुलो बनाएर सरकारको नेतृत्व गरेर फेरि रजाइँ गर्ने राजनीतिले देश बन्दैन, देश विकास हुँदैन; जनता सुखी र सुरक्षित हुने छैनन् । जहिलेसम्म दलभित्र शुद्धीकरणको अभियान चलाइँदैन, दलका नेता र कार्यकर्ताहरू इमानदार हुँदैनन् तबसम्म देशले सत्मार्ग पहिचान गर्न सक्दैन ।
शासक दलका नेताहरूले अब इमानदारीपूर्वक राजनीति गर्ने वाचा गर्नु आवश्यक छ । पदको दुरूपयोग गरी अकुत सम्पत्ति आयआर्जन गर्ने छैन भनी प्रतिबद्धता व्यक्त गर्नुपर्छ । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउनेमाथि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्छ । भ्रष्टाचारीहरूलाई काखी च्यापेर, प्रोत्साहन दिएर भ्रष्टाचार अन्त्य हुनेछैन । राजनीतिक दलका नेताहरूले इमानदारीपूर्वक राजनीति नगरेकै कारण दलप्रति युवा पुस्ताको विरोध बढेको हो । शासक दलका नेताहरूको लामो समयदेखिको अराजनीतिक कार्यविरुद्ध युवा पुस्ताले एकैपटक आक्रोश पोखेको हो । त्यो आक्रोश अहिले पनि सेलाएको छैन । तर, सरकार ढल्यो भनेर अब देशमा राजनीतिक दल आवश्यक छैन भनेर कुनै पुस्ता लाग्यो भने त्यो अर्काे गल्ती हुनेछ । देशमा सत्मार्ग कोर्ने हो भने अब निर्वाचित हुने कुनै पनि सांसद या जनप्रतिनिधिहरू इमानदार हुनुपर्छ; जनतामाझ भिजेको हुनुपर्छ; जनताको दुःख सुख बुझेको हुनुपर्छ; जनताको समस्या समाधानको निम्ति पहल गर्ने हुनुपर्छ । पैसाको खोलो बगाएर जित्ने ठेकेदार, कमिसनखोर, हत्या आरोपित व्यक्तिहरू छानेर न देश समृद्धितिर लाग्छ न त जनताको जीवन नै सुनिश्चित हुन्छ ।
ढिलो चाँडो देशमा निर्वाचित सरकार बन्छ; बन्नुपर्छ । जनताले निर्वाचित गरेको दलले नै शासन गर्ने हो । बरु, जनताले पैसा खाएर जोसुकैलाई जिताउनु हुँदैन । बहुमत जनता राजनीतिक, सैद्धान्तिक र वैचारिकरूपले सुझबुझ नभएसम्म पुँजीपति, सामन्त, षड्यन्त्रकारीहरूले जालझेल गरिरहने छन्; जनता–जनता जुधाएर फाइदा लिइरहने छन् । जनता पनि सचेत हुनुपर्छ । सांसद र जनप्रतिनिधि छान्ने जनता पैसाको लोभमा फसेमा, अन्य लोभलालचमा फसेमा तिनै सामन्त, पुँजीपति, प्रतिक्रियावादी र जालीझेलीले रजाइँ गरिरहने छन् । यसकारण, जनता जहिले पनि चनाखो भइरहनुपर्छ । जनताले देशमा रहेका राजनीतिक दलहरूमध्ये कुन दलले बहुमत जनताको पक्षमा इमानदारीपूर्वक राजनीति गरिरहेको छ, त्यो थाहा पाउनुपर्छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्राप्त भएको अधिकार प्रयोग गर्दै थप अधिकार पाउन जनता अझै सङ्घर्षरत हुनुपर्छ । प्रजातन्त्र, स्वतन्त्रता र थप अधिकारको नाउँमा राजतन्त्र फर्काउने या फर्काउनको निम्ति लागेमा त्यो प्रतिगमन नै हुनेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुनसक्दैन । राजाभन्दा राजावादीहरूले गरेको त्यो परिकल्पना पूरा हुनेछैन । युवा पुस्ताको आन्दोलनमा घुसपैठ भएझैँ यो बेला राजावादीहरू लुलवुलाउन सक्छन्; अब फेरि राजतन्त्र फर्कने भयो भनी शिर उठाउन सक्छन् । राजतन्त्र देश र जनताको हितमा नभएको कुरा विगतको ३० वर्षे निरङ्कुश शासनले देखाइसकेको छ । निरङ्कुश शासकहरू कहिल्यै प्रजातन्त्रवादी हुनसक्दैनन् । अबको विकल्प भनेको समाजवादी गणतन्त्र हो; समाजवादी गणतन्त्र प्राप्त गर्न पूर्वाधार तयार गर्दै जाने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *