भर्खरै :

“साहित्यले गरिब जनताको सेवा गर्नुपर्छ”

“साहित्यले गरिब जनताको सेवा गर्नुपर्छ”

भक्तपुर, १ कार्तिक । प्रगति पुस्तकालय र प्रगति सामुदायिक सिकाइ केन्द्रको संयुक्त आयोजनामा समाज परिवर्तनको लागि साहित्य भन्ने मूल उद्देश्यका साथ शनिबार वाकुपति नारायण परिसर सूर्यमढीमा भक्तपुर नगरव्यापी आधारभूत तहको कविता प्रतियोगिता सम्पन्न भयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाचित कवितामा जनताको सेवा गर्ने भावना समेटिएको विचार व्यक्त गर्नुभयो ।
साहित्यले गरिब जनताको सेवा गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले साहित्य समाजको बिम्ब हो भन्नुभयो ।
समाजवादी व्यवस्थामा जन्मेदेखि नमरुञ्जेलसम्मको व्यवस्था गर्ने स्पष्ट पार्दै नगर प्रमुख प्रजापतिले समाजवादी व्यवस्थामा हरेकलाई सेवा सुविधा हुन्छ† जीवनको सुनिश्चित हुन्छ, समान व्यवहार गरिएको हुन्छ, देश र जनताप्रति समर्पित हुन्छ भन्नुभयो ।
भक्तपुर नगरपालिकाले ज्येष्ठ नागरिकको व्यवस्थापन गर्न तालिम सञ्चालन भइरहेको उल्लेख गर्दै उहाँले राज्यले सबैको लागि शिक्षा र स्वास्थ्य सेवाको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. ९ का कार्यवाहक वडाध्यक्ष छोरीमैया सुजखूले साहित्यले समाजमा रहेका विकृति, विसङ्गति चिरेर जनतालाई जागरुक बनाउने काम गर्छ भन्नुभयो ।
भनपा वडा नं. ९ का नेमकिपा प्रतिनिधि काशीलाल प्रजापतिले प्रगति पुस्तकालयले बेला बखत रचनात्मक कार्य गरेर जनतालाई सचेत पारिरहेको बताउनुभयो ।
कविता प्रतियोगिताका निर्णायकमण्डलका सदस्य हरिहर तिमिल्सिनाले वाचित कवितामा देशभक्तिको भावना र मौलिकता रहेको विचार व्यक्त गर्दै बौद्धिक सम्पत्ति चोर्न नहुने बताउनुभयो ।
उहाँले कविताको समीक्षा गर्दै उत्कृष्ट कविताको नतिजा बताउनुभयो ।
निर्णायकमण्डलका अर्का सदस्य एवं शिक्षक ज्ञानसागर प्रजापतिले विभिन्न रचनात्मक कार्य गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै विदेशी चलखेलको कारण देश आत्मनिर्भर नभएको बताउनुभयो । उहाँले देश बनाउने देशभक्ति भावना आवश्यक छ भन्नुभयो ।
अर्का निर्णायकमण्डलका सदस्य एवं शिक्षिका रुपकेसरी उलकले साहित्यको महत्वबारे प्रकाश पार्दै दुई कविता वाचन गर्नुभयो ।
प्रगति पुस्तकालयका अध्यक्ष रवीन्द्रप्रसाद कुसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष विष्णुगोपाल कुसी, पूर्वअध्यक्षहरू विश्वराम प्रजापति, प्रेम प्रजापतिले पनि पुस्तकालयको गतिविधिबारे प्रकाश पार्दै प्रतियोगिताले नयाँ नयाँ साहित्यकारहरू जन्मने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा सवीन्द्र प्रजापति र प्रवेश प्रजापतिले पनि बोल्नुभएको सो कार्यक्रममा २२ जना छात्र छात्राले कविता वाचन गरेका थिए ।
कविता प्रतियोगितामा महेन्द्र विद्याश्रमका फिन्साङ लामा प्रथम, तारा माविका एन्जिला तामाङ द्वितीय, ख्वप्रिङ सेकेन्डरी स्कूलका राजश्री कुसी तृतीय र एभरेष्ट इङ्गलिस स्कूलका आरुषी गौतम सान्त्वना भएका थिए ।
विजयी साहित्यप्रेमीहरूलाई नगर प्रमुख सुनिल प्रजापतिले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
अतिथिहरूलाई आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *